डाइमण्ड एफसीलाई एसइई फुटसल उपाधि
लेखनाथ ।
पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविको आयोजनामा डायमण्ड एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ । एसइई परीक्षा २०८०मा सहभागी विद्यार्थीहरुलाई परीक्षा र नतिजाबीचको समयमा सहभागी बनाउने उद्देश्यले डायमण्ड एसइई फुटसल प्रथमपटक आयोजना गरिएको हो ।
ताल्चोकस्थित काइट्स स्पोर्ट्समा जेठको २८ सोमबारदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी ३२ टिममध्ये डायमण्ड एफसी विजेता बन्न सफल भएको छ । प्रतियोगिता अन्तिम चरणमा पुग्न सफल एफसीलाई डायमण्ड एफसीले ०–४ गोलले हराउँदै विजेता बन्न पुगेको हो ।
विजेता टिमले २५ हजार नगद, प्रमाणपत्र, मेडल र ट्रफी, र उप बिजेता लामगाउँ एफसीले १५ हजार नगद, प्रमाणपत्र, मेडल र ट्रफी, त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि डायमण्ड एफसीका एरोन थापा तथा टुर्नामेन्टका उत्कृष्ट खेलाडी लामगाउँ एफसीका सुशील तामाङले प्राप्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले विद्यालयले आयोजना गरेको फुटसल कार्यक्रमको प्रशंसा गरे । उनले सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा विद्यालय स्तरमा मात्र नभई प्रदेश तथा राष्ट्रिय स्तरमा पुग्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरे ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले एसइई परीक्षा दिएका विद्यार्थीहरूको समयको सदुपयोग र विद्यालयको योजना अनुसार खेल व्यक्ति, समाज, राष्ट्रको रूपान्तरणको साधन भएको विचार व्यक्त गरे ।
समापन कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राखे । कार्यक्रम सञ्चालन शिक्षक नारायणप्रसाद वाग्लेले गरेका थिए ।
तपाईको प्रतिक्रिया