पोखरा युनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता
फुटबल प्रतियोगितामा स्टेप बाई स्टेपको जित

पोखरा ।
पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीको आयोजनामा पोखरामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्र तर्फको फुटबल खेलमा स्टेप बाई स्टेप बोर्डिङ स्कुलले जित हासिल गरेको छ ।
मंगलबार भएको फाइनल खेलमा स्टेप बाई स्टेपले पोखराकै रतुवा फुटवल क्लबलाई टाईब्रेकरमा ५—४ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । विजेता टिम स्टेप वाई स्टेपले नगद ११ हजार र उपविजेता रतुवाले भने १० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
अन्तर बिद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा अमरसिंह नमुना मावि प्रथम भएको छ । अम्मरसिंहले २ सय ४० अंक ल्याउँदै प्रथम हुँदा १ सय ५५ अंक सहित न्यू मोडल स्कुल भने दोस्रो बन्न सफल भयो । प्रतियोगितामा विजेताले ४ हजार र उपविजेताले भने २ हजार नगद पुरस्कार प्राप्त गरे । अमरसिंहको टिममा सृजन शर्मा, दिप्लभ रेग्मी र सौगात सुवेदी रहनु भएको थियो भने न्यू मोडल स्कुलको टिममा अरिज पोख्रेल, अन्दिज बस्ताकोटी र हितमान गुरुङ थिए ।
विजेता प्रतियोगीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, फुलकन्ट्याक कराँते महासंघ गण्डकीका अध्यक्ष लक्ष्मण कँुवर, विद्यालयका अध्यक्ष शिवबहादुर भण्डारी लगायतले पुरस्कार वितरण गरे ।
सोमबार भएको फाइनल खेलबाट छात्रतर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समूह प्रथम भएको थियो । सोमबार भएको छात्रा तर्फको बास्केटवल प्रतियोगितामा मर्दी ए को समूहले उपाधि जितेको हो । छात्रतर्फको बास्केटवल प्रतियोगितामा मनकामना बोर्डिङ स्कुलले उपाधि जितेको विद्यालयका शिक्षक फणीन्द्रराज पौडेलले बताए ।
विद्यार्थीहरुको शिक्षासँगै खेलकुदको विकास गराउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारीले बताए । शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिता ४ दिनसम्म सञ्चालन भएको बिद्यालयका प्रिन्सिपल बयानबहादुर गोदारले सुनाए ।
तपाईको प्रतिक्रिया