कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

समाधान संवाददाता २०८१ जेठ ३० गते १५:४७

पोखरा ।
पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।


तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा बुधबार स्थानीयवासी एवम् सरोकारवाला निकायको प्रतिनिधि सहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।

Advertisement


कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहे पनि राजमार्ग निर्माण भइरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए ।

विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यस मार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले सुनाए । सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भइरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिनभित्रमा हटाउन सूचना समेत जारी गरिने भएको पौडेलले जानकारी गराए ।

Advertisement

अन्यत्र ६ लेन भए पनि कोत्रे–भत्केको चौकी खण्डमा मात्रै ४ लेन हुनुको कारण के ?

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले पृथ्वीराजमार्गको निर्माणाधीन सडक अन्यत्र ६ लेनको भए पनि कोत्रे–भत्केको चौकी खण्डमा मात्रै ४ लेन हुनुको कारणबारे प्रश्न गरे । तल्लो गगनगौंडा क्षेत्रमा बाटाको स्वरुप परिवर्तन भएर उचाई बढेको उल्लेख गर्दै उनले यसतर्फ स्थानीयले केही जानकारी पाउन नसकेको बताए ।


सडक निर्माण भइरहँदा शाखा बाटोतर्फ ध्यान नपुगेको र यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका ३ हजार ५ सय विद्यार्थीका साथै सर्वसाधारण बाटो काट्न पनि समस्यामा परिरहेको उनको भनाइ छ । जिल्ला भलिबल संघ कास्कीका उपाध्यक्ष शरणकुमार प्रधानले तल्लो गगनगौंडा लगायत क्षेत्रमा निर्माणाधीन सडककको उचाइ धेरै बढ्दा राजमार्ग आसपासका स्थानीयवासी समस्यामा परेको बताए । राजमार्गसँग जोडिएका शाखा बाटो निर्माणतर्फ ध्यान नपुग्नुका साथै हाल भइरहेको नालाले वर्षातको पानीलाई थेग्न समस्या हुने उनले सुनाए ।


नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियारले बाटाको स्वरुप परिवर्तनसँगै शाखा बाटो नहुँदा आवतजावतमा परिरहेको समस्याप्रति सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने औंल्याए ।


पोखरा–मुग्लिन सडक निर्माण आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर नारायणप्रसाद पौडेलले कोत्रे–भत्केको चौकी सडक खण्डमा योजनामा डिपिआरमा शाखा बाटोको व्यवस्था नरहेको जानकारी गराउँदै यसका लागि स्थानीयवासीको पहल भएमा आफ्ना तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।


पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवं संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।

तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलको अध्यक्षतामा एवं नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गरेको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिवबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिश्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया