नदीमा ढुंगा, बालुवा उत्खनन बन्द हुने

समाधान संवाददाता २०८१ जेठ ३० गते १५:५२

पोखरा ।
ढुंगा, गिटी, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको अनुगमन समिति कास्कीले ती वस्तुको उत्खनन् बन्द गर्ने निर्णय गरेको छ । समितिको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement


बैठकले कास्कीमा ३ महिना नदीजन्य र खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको हो । ढुंगा, गिटी, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको सञ्चालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार सो निर्णय गरिएको समितिले जनाएको छ ।

असार, साउन र भदौमा नदी तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बताए ।

Advertisement


पौडेलले विकास निर्माणका काममा बाधा नपुग्ने गरी विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेको बताए । दर्ता नगरी अवैधरूपले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्यधिक बढेका कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले निर्देशन गरेका छन् ।


बैठकमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह–संयोजक भरतमणि पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष लीलाधर बराल लगायतले धारणा राखेका थिए ।

Advertisement

अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

तपाईको प्रतिक्रिया