पर्यटन राजधानीका सम्भावना र चुनौती खोजी
पोखरा ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको ४ वर्षको प्रयासपछि गत ४ चैतमा पोखरालाई पर्यटन राजधानी घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती छ ।
पोखरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई आर्थिक मिडिया प्रालिले मंगलबार ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एन्ड ब्रान्डिङ’ विषयमा छलफल गरेको छ । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय राजधानी घोषणालाई सार्थक पार्न साहसिक खेलसँगै प्रकृति र संस्कृतिमा जोड दिइनुपर्ने बताए ।
‘पोखरा र सेरोफेरो हेर्दा साहसिक क्षेत्र भनेर चिनाउन सक्नुपर्छ । पर्वत, बागलुङमा बञ्जी छ,’ उनले भने, ‘हामीसँग भएको चिज संसारमा कहीँ छैन ।’ पोखरा फोहोर भएको भन्ने गुनासो विदेशी र काठमाडौँ बस्नेहरूबाट आएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनले सुनाए । पर्यटकलाई सुरक्षित अनुभूत गराउन सिसिटिभी र सडक लाइट जोड्न आवश्यक रहेको भट्टराईले औंल्याए ।
प्रदेश नीति तथा योजना आयोग गण्डकी उपाध्यक्ष डा कृष्ण देवकोटाले घोषणा कार्यान्वयनमा सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाले ध्यान दिनुपर्ने सुझाए । ‘कति संरचना भए पर्यटकीय राजधानी घोषणा गर्न मिल्छ यो प्रश्न थियो । होटल बन्नुमात्र सबथोक होइन,’ उनले भने, ‘यो घोषणा अझ नै पहिला हुनुपथ्र्यो । कार्यान्वयन गर्न प्रदेश सरकार, महानगर, निजी क्षेत्रले बहस गरौँ ।’
नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले पर्यटकीय राजधानी घोषणापछि पूर्वाधार, सुरक्षा, खाना डिजिटल मार्केटिङ र सेवा दिएपछि प्रतिक्रिया लिने जस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उत्पादित जनशक्तिले उचित सेवा, सुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनले जिकिर गरे ।
‘नेपालमै काम गर्दा १५/२० हजार पाउँछन् । २/३ महिना इन्टर्न गर्नुपर्छ । त्यो भएपछि यहाँ पढेकाहरू विदेश जान्छन्,’ उनले सुनाए । छलफललाई दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए ।
नयाँ संरचना थप्नुपर्छ
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले पोखरामा प्राकृतिक संरचना रहेको तर मानवनिर्मित संरचना थप गर्न आवश्यक रहेको बताए । कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले कोरोना संक्रमणपछि घटेको पर्यटकको आवागमन गत अंग्रजी वर्षमा १० लाख पुगेको र यो सकारात्मक भएको बताए ।
सापकोटाले पोखरामा पर्यटक बढाउन र बसाइँ लम्ब्याउन चिडियाखाना, पार्क, वाटर स्पोर्टस् जस्ता संरचना थप्न आवश्यक रहेको सुनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र पर्यटकलाई गुणस्तरीय सवारीको व्यवस्था आवश्यक रहेको उनले औंल्याए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्न सकेमा धेरै खर्च गर्ने र ठूला कार्यक्रम पोखरामा ल्याउन सकिने उनको भनाइ छ ।
पर्यटनलाई जोड दिनु अब बाध्यताः मेयर आचार्य
संघ, प्रदेश र स्थानीय सरकार पोखरालाई पर्यटन केन्द्रित योजना र बजेट बनाउन बाध्य भएको र यसको प्रभाव दीर्घकालमा देखिने मेयर धनराज आचार्यको भनाइ छ । ‘पर्यटनको राजधानी घोषणाले केन्द्र सरकार पर्यटनका लागि काम गर्न नीतिगत हिसाबले बाध्य भएका छौँ,’ उनले भने, ‘ब्रान्डिङ भनेको आजको आजै हुने होइन ।’
पोखराको पर्यटन भनेको लेकसाइडमात्र हो भन्ने भाष्य बनाइएकोमा उनले आपत्ति जनाए । ‘पर्यटन भनेको लेकसाइडमात्र हो भन्ने छ । त्यसो होइन । एक जना पर्यटक आउँदा त्यसले धेरै क्षेत्रलाई मलजल गर्छ,’ उनले भने ।
पोखराको पर्यटन क्षेत्रसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिने २८ अर्बका प्रोजेक्ट कार्यान्वयनमा रहेको मेयर आचार्यले जानकारी दिए । बेगनास तालमा एक अर्ब रूपैयाँ बराबरको वाटर स्पोर्टस् खेल सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको उनले बताए ।
काठमाडौँ उद्योग वाणिज्य संघका सदस्य उज्जवलजंग शाह, पोखरा उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, गो बञ्जी नेपालकी प्रबन्धक मीना लामा बरालले लगायतले पोखराको पर्यटन क्षेत्रलाई विकास गर्न पूर्वाधार र प्रविधि विकास, सरोकारवालाबिच सहकार्य आवश्यक रहेको जनाए ।
आर्थिक मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र पौडेलले सञ्चार क्षेत्रले पनि सरकारको घोषणालाई सफल पार्न सहयोग पार्नुपर्छ भनी कार्यक्रम गरिएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया