औपचारिक शिक्षामा नैतिक शिक्षाको खाँचो

डा. कैलाश तिमिल्सिना २०८१ जेठ ३१ गते १२:२४

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ । श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ । जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित २० जना पक्राउ ।

Advertisement

यो लेख तयार गर्ने सन्दर्भमा नेपाल प्रहरी आधिकारिक वेबपोर्टलमा भेटिएका २०८० चैत २० गते दिनको १ बजेसम्मका विषय हुन् यी । जसले विद्यमान नेपाली समाजको चित्रण गर्छ । सम्भवतः तपाईंलाई अलि अमिल्दो जस्तो पनि लाग्यो होला सन्दर्भविहीन उदाहरण देखेर । तर नैतिकता र सदाचारको विषयमा कलम चलाउनुपूर्व तत् सम्बन्धी विषयमा केही उदाहरण प्रस्तुत गर्नु अपरिहार्य छ ।


विगत एक दशकमा गरिएका सर्वेक्षणहरूले नेपाली युवाहरुमा नैतिकस्तरमा निरन्तर गिरावट आएको संकेत गर्छ, जसमा बेइमानी वा अनैतिक व्यवहारमा संलग्न भएको स्वीकार गरिएको छ । भ्रष्टाचार, नातावाद र नैतिक दुव्र्यवहारका घटनाहरू बढ्दै गएका छन्, जसले नेपाली समाजमा नैतिक मूल्यमान्यताको व्यापक पतनलाई झल्काउँछ ।

Advertisement

विभिन्न संस्थाहरूद्वारा सञ्चालित जनमत सर्वेक्षणले पनि नेपाली विद्यालयहरूमा नैतिक शिक्षाको पक्षमा व्यापक समर्थन प्राप्त गरेको छ । उत्तरदाताहरू विद्यार्थीहरूको चरित्र र कल्याणमा महत्वपूर्ण भूमिका खेल्छ, र तिनीहरूको मूल पाठ्यक्रममा नैतिक शिक्षाको पुनःस्थापनाको वकालत गर्छन् ।


हिन्दु वैदिक सनातनि परम्परामा आधारित प्राचीन शैक्षिक प्रणालीमा नैतिक शिक्षालाई महत्वपूर्ण हिस्साको रुपमा स्वीकार गरिएको थियो । सानालाई माया ठूलोलाई सम्मान, सामूहिकतामा आधारित चाडपर्व र बाँडेर खाने संस्कारले बाधिएको थियो समाज । एकको समस्यामा सामूहिक समाधानको बाटो अवलम्वन गरिन्थ्यो, जसका कारण मानिसले सहज समस्या समाधान गर्न सक्थ्यो । नैतिकतासहितको समाजमा अभाव थियो, तर पीडा थिएन, समस्या थियो, कुण्ठा थिएन, डिप्रेसन भन्ने विषय तथ्यसहित कुनै शास्त्रमा भेटिएन ।

Advertisement

अज्ञानरूपी अन्धकारबाट ज्योति वा प्रकाश तत्वतिर, असत्यदेखि सत्यतातिर र बन्धनदेखि मुक्तितिर लैजानु नै सच्चा ज्ञान हो


हाम्रा पालामा विद्यालय तहमा नैतिक शिक्षाको पढाइ हुन्थ्यो । २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा ऐच्छिक । करिब ४ दशकसम्म यसले निरन्तरता पायो । हिरण्यकस्प र प्रल्हादको कथा पढेर कहिल्यै गल्ती नगर्ने, आफूभन्दा ठूलोको सम्मान गर्ने, शिक्षक शिक्षिका र बा–आमाका आदेशलाई कहिल्यै अवज्ञा नगर्ने भनेर कसम खान्थ्याैं । सानै उमेरमा मातापिता वा गुरुहरूप्रतिको आदर बोध हुन्थ्यो, समाजप्रतिको दायित्व बुझिन्थ्यो, राष्ट्रप्रति जिम्मेवारी पनि । १०–१२ वर्षको उमेरमा नै घरायसी काम र व्यवहार गर्न सिकियो । अध्ययनका लागि कसैले करकाप गर्नुपरेन, काम गरेर बँचेको समयको अध्ययन नै कक्षामा साथीहरुका बीच अब्बल नतिजा निकाल्न पर्याप्त रह्यो ।


नयाँ पाठ्यक्रम लागु गर्ने नाममा रैथाने र परम्परागत शिक्षालाई पश्चिमा शिक्षाको नक्कल गरी निमिट्यान्न पारियो । नैतिक शिक्षालाई पूर्ण रुपमा बेवास्ता गरिँदा, शिक्षाले आमनागरिकलाई निष्ठा र सदाचारयुक्त मानव बनाउन सकेन भन्ने गरिन्छ, जसमा सत्यता पनि छ । अज्ञानरूपी अन्धकारबाट ज्योति वा प्रकाश तत्वतिर, असत्यदेखि सत्यतातिर र बन्धनदेखि मुक्तितिर लैजानु नै सच्चा ज्ञान हो ।

शिक्षा एक जरा हो जसमा जीवन फलदार वृक्ष बन्छ । शिक्षाको पूर्णता नैतिक शिक्षाविना सम्भव छैन । त्यसैले आजको आवश्यकता र समयको माग हो, नैतिक शिक्षा । जसले राजनीतिक, प्रशासनिक, वित्तीय, कानुनी र आर्थिक क्षेत्रमा नैतिकताको क्षितिज फराकिलो बनाउँछ । सकारात्मक गति र मतिको विकास गरी समुन्नत र सिर्जनशील समाजको निर्माणमा सही दिशा दिन सक्छ ।


शिक्षा ऐन २०२८ लाई खारेज गर्ने गरी २०८० मा आएको विद्यालय शिक्षा विधेयक, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा नैतिक शिक्षालाई विद्यालय तहमा छुट्टै विषयका रुपमा राखनुपर्ने माग उठेको थियो । उक्त विधेयक माथिको (२०८०–१२–०९ शुक्रबार भएको) दफावार छलफलमा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, नेकपा एमालेकी सांसद मेनकाकुमारी पोखरेल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विद्यालय तहको पाठ्यक्रममा पुनः नैतिक शिक्षा राख्ने राय राखेका थिए । जसले पनि नैतिक शिक्षाको अपरिहार्यतालाई नीतिगत तहमा नै महत्व दिएको देखिन्छ ।


सत्य, अहिंसा, प्रेम र त्यागको अभाव सेवाको ह्रास तथा समाज सुधारको बाधक बनेको छ । उच्च मनोबल, आत्मविश्वास तथा आत्मिक आरोग्यको महत्वपूर्ण आधार नैतिक ज्ञान आत्मिक शान्ति र शारिरिक स्वास्थ्यका लागि अनवार्य छ । नैतिक ज्ञानको व्यवहारिक प्रयोगबाट मात्र जीवनलाई उद्देश्यमूलक र नतिजान्मुख दिशानिर्देश गर्न सम्भव छ ।


आजका सबै धर्म र अध्यात्मको आधार नै नैतिक शिक्षा हो । बुद्धको अष्टांगिक मार्ग पनि नैतिक शिक्षाका उपज हो । जसले सत्वचन, सत्कर्म, सत्दृष्टि, सत्संकल्प, सत्विचार, सत्जीवन र सत्प्रयासको पैरवी गर्दछ, सत्य शान्ति र अहिंसाको सम्वर्धन गर्छ । जुन समाजमा नैतिक मूल्यहरूको उच्च सम्मान हुन्छ । नैतिकता र सदाचारले धर्म एवं दर्शनको उद्देश्यलाई अनुरुप सुखमय जीवनका लागि मार्ग प्रशस्त गर्छ । साथै लोभ, मोह, स्वार्थ, भ्रम जस्ता कमजोरीहरूको परास्त गरी आत्मसन्तुष्टि पनि प्राप्त गर्न सकिन्छ । नैतिकता सफल जीवनको सुन्दर एवं अतुलनीय वरदान हो, सभ्यताको आधार पनि ।


बालमस्तिष्कमा सद्व्यवहार, शिष्टाचार, इमानदारी र सत्यताको जागरणका लागि नैतिक शिक्षा दिइनुपर्छ । दुखको कुरा, आजका बालबालिका, विद्यालय, शिक्षक, अभिभावक, कर्मचारी, प्रहरी तथा सेनामा समेत नैतिक मूल्यको ह्रास आएको छ । सबै शिक्षालयले मूल्य तथा सुसंस्कार दिन सकेका छैनन् । भ्रष्टाचार मौलएको छ । मुलुकको अर्थतन्त्र खोक्रिएको छ । नैतिकता र मूल्यहरूको अनुपस्थितिलाई व्यवस्थापन गर्न हरेक व्यक्तिको जीवनमा नैतिक शिक्षा मार्फत स्वस्थ, स्वच्छ र भ्रष्टाचारमुक्त समाज आजको आवश्यकता हो । जुन विषय नैतिक ज्ञान र सदाचारयुधक्त नागरिक विना परिकल्पना गर्न सकिँदैन ।


नेपाल, धेरै विकासोन्मुख राष्ट्रहरू जस्तै, सामाजिक दरार र असमानतासँग संघर्ष गर्दैछ । नैतिक शिक्षा, यी विभाजनहरूको रेखालाइ धमिल्याउँदै, समावेशिता, समानुभूति र सहिष्णुतामा आधारित समाज निर्माणको जग बन्न सक्छ । जस अन्तर्गत विविध पृष्ठभूमिका विद्यार्थीहरूले विविधता र समझदारीलाई महत्व दिँदै, सहकार्य गर्न, सञ्चार गर्न र शान्तिपूर्ण रूपमा सहअस्तित्व स्वीकार गर्न सिक्छन् । सामाजिक एकताको यो खेतीले पारस्परिक सम्मान र सहयोगका सिद्धान्तहरूमा आधारित थप एकताबद्ध र लचिलो समाजका लागि आधार बनाउँछ ।


नागरिक जागरण तथा सशक्तीकरणमार्फत राष्ट्र समर्पित नागरिक तयार गर्नु तथा उनीहरुको जीवनलाई सुखमय तथा औचित्यपूर्ण बनाउनु मूल्यनिष्ठ नैतिक शिक्षाको कार्य हो । मूल्य मान्यतामा आधारित समाज स्वार्थहीन, सदाचारयुक्त, जवाफदेही, वस्तुपरक, पारदर्शी, इमान्दार र उदाहरणीय हुन सक्छ । जसले सबै वर्ग क्षेत्र र समुदायका वास्तविक समस्याको समयमै पहिचान गरी विवेकसम्मत् समाधान गर्छ, नागरिक सम्मानको वातावरण बनाउँछ । त्यसैले नैतिक शिक्षा नागरिक सम्मानको आधार पनि हो ।


सार्वभौम, मानवीय एवं नैतिक मूल्यको संरक्षण सम्वर्धन र विकास भएको समाजमा, राज्यका सबै तह र तप्कामा, क्षमता र योग्यताका कदर हुन्छ । योग्यतामा आधारित स्वस्थ्य प्रतिपर्धाको सम्वद्र्धन हुन्छ । जसले गर्दा आफूभित्रको प्रतिस्पर्धी क्षमता उजागर गरी मुलुकको सर्वोच्च पदमा पुग्न नागरिक प्रयत्नरत रहन्छ । स्वाभाविक न्याय एवं इमानदारीपूर्वक राज्य सञ्चालन गर्ने सूक्ष्म शक्तिलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्छ । जसका कारण राज्य मेरो, मेरा लागि सम्भावनाका ढोका सधै खुला छन् भन्ने सोचको विकास हुन्छ । नागरिक आफूलाई प्रतिस्पर्धी वनाउन नयाँ ज्ञानको खोजिमा तल्लिन रहन्छ जसले नया आविश्कार र विकासको गतिमा मुलुकलाई डो¥याउँछ । त्यसैले खोजमूलक र सिर्जनशील समाज निर्माणमा नैतिक शिक्षा महत्वपूर्ण छ ।


विश्व नै खुला शिक्षालय हो । जीवन जगत र प्रकृति शिक्षाका साधन हुन । यही प्रकृतिरूपी शिक्षालयमा मानिस नैतिकवान भएर जन्मिन्छ, तर जब ऊ बढ्दै जान्छ, थप ज्ञान प्राप्तिका सन्दर्भमा अनेकौं विषय सिक्छ । सिकाइ नैतिकतामा आधारित नहुँदा समाज सत्य र निष्ठाको बाटो बिराउँदै वास्तविकता भन्दा काल्पनिकतामा रमाउँदै पतनको यात्रा तय गर्छ ।


नैतिक शिक्षाको माध्यमबाट माता पिता वा गुरुहरुको अनुसरण र सम्मान हुन्छ । साथै, नैतिक व्यवहारको उत्थान एवं चारित्रिक विकास सम्भव रह्न्छ । संस्कृतिक, मानवीय एवं शाश्वत मूल्यहरूको विकासका लागि दिइने नैतिक शिक्षाले सर्वार्गीण मानविय विकास हुन्छ । अपेक्षित नतिजा हासिल हुन्छ । बहुआयमिक विकासका लागि थप द्वारहरु खुल्दै जान्छन् । जसले चुनौतीलाई अवसरमा बदल्न सक्ने शक्ति प्राप्त हुन्छ । त्यसैले नैतिक शिक्षा अवसर सिर्जनाको मुल पनि हो ।


विद्यमान बहुक्षेत्रीय समस्याहरू समाधानका लागि नयाँ दृष्टिकोणहरूको अवलम्बन गर्न, नैतिक एवं सिर्जनात्मक शिक्षाका बिच समन्वय गर्नु आवश्यक छ । स्वयंमा नैतिक, आध्यात्मिक एवं सदाचारयुक्त आचरण प्रस्तुत गर्ने, सामाजिक सहअस्तित्वमा आधारित समाज निर्माण पनि नैतिक शिक्षावाट सम्भव छ । नैतिक आचरणको विकासमार्फत् आम नागरिकहरूलाई लागुऔषधको दुव्र्यसनीबाट जोगाउन सकिन्छ, सामाजिक अपराधमुक्त समाज बनाउन सकिन्छ । सामाजिक शुद्धीकरणका लागि पनि नैतिक शिक्षाको अपरिहार्यता देखिन्छ ।


नेपालजस्ता विकासोन्मुख देशहरूमा विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्नु शैक्षिक विकल्प मात्र होइन राष्ट्रको भविष्यमा रणनीतिक लगानी हो । नैतिक मूल्यहरूको आन्तरिकीकरण मार्फत सामाजिक एकतालाई बढावा दिँदै सामाजिक विकृतिहरूको निराकरणका लागि महत्वपूर्ण आधार पनि हो । नागरिकलाई सशक्तीकरण गर्दै, नैतिक शिक्षाले विद्यार्थीहरूलाई आधुनिक संसारको जटिलताहरू नेभिगेट गर्न सक्षम बनाउँछ । नेपालले न्यायपूर्ण, समावेशी र समृद्ध समाजको आफ्नो परिकल्पनालाई साकार पार्ने प्रयास गर्दा, दिगो विकास र सामूहिक कल्याणको जग बसाल्न पनि विद्यालय तहमा नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।


नैतिकता एक मूल्य हो, कला हो, जीवन हो, विज्ञान हो, शान्ति हो, सुख हो, समृद्धि हो, अवसर हो, सदाचार हो, सन्तुष्टि हो, खोज हो, मनोबल हो, वचन हो, कर्म हो, जीवन हो, प्रयास हो, मुक्ति हो, दिशानिर्देश हो, साथै सामाजिक, राजनीतिक, आर्थिक एवं धार्मिक अधिकारहरूका लागि पैरवी पनि हो र सबथोक हो । कुनै पनि सफलताको कारक नैतिकता भएको प्रायजसो अनुसन्धानकर्ताहरुको निष्कर्षमा पाइएको छ ।

विश्वका सबै समस्याहरू व्यक्तिगत समस्याहरूको समष्टिगत रूप भएकाले मानिसले व्यक्तिगत स्तरमा नैतिक शिक्षामार्फत आफूलाई सुधार्ने प्रयास गरेको खण्डमा विश्वका सबै मावनता विरोधी समस्याहरू समाप्त भएर जानेछन् । अतः प्रारभिक बाल शिक्षादेखि माध्यामिक तहसम्म नैतिक शिक्षाको अनिवार्यता तथा उच्च शिक्षामा पनि नैतिक शिक्षालाई पाठ्यक्रमको महत्वपूर्ण हिस्साको रुपमा स्वीकार गर्न सकिए सदाचारयुक्त नागरिक शक्तिले समाजलाई सकारात्मक दिशामा डोर्‍याउनेछ । आर्थिक सामाजिक रुपान्तरण सम्भव हुनेछ । र, समृद्ध नेपालका सुखि नेपाली बन्ने हाम्रो उत्कट चाहनाले साकार रुप लिने छ ।


तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।

तपाईको प्रतिक्रिया