बालश्रमविरुद्ध सचेतना

समाधान संवाददाता २०८१ जेठ ३१ गते १६:१९

पोखरा ।
विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरियो । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ ।

Advertisement


‘बालश्रम अन्त्यका लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।


सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकाय लक्षित थियो । पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कारखाना निरीक्षक इन्जिनियर बलराम कुसवाहा र राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले श्रम कार्यालयबाट गरिने काम तथा श्रम ऐनका विषय र बालश्रम, कानुनी प्रावधान तथा व्यावहारिक पक्षबारे जानकारी गराएका थिए ।

Advertisement


कार्यक्रमको खुला सत्रमा पोखरामा बालबालिकाको अबस्था, व्यावहारिक पक्ष तथा कानुनी पक्षमा मेल नखाने तर्क सहभागीले दिएका थिए ।


पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोर्कण कार्कीको स्वागत रहेको सो कार्यक्रममा शान्तिका लागि नागरिक समाजका अध्यक्ष बिना सिलवाल, श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाललगायतले बालश्रम अन्त्यका लागि सरोकारवाला सक्रिय रहनुपर्ने मन्तव्य राखेका थिए ।

Advertisement


यसैबीच बालअधिकारका लागि नागरिक समाजले बुधबार नै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा र श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाललाई बालश्रम अन्त्यका लागि ध्यानाकर्षण पत्र बुझाएका छन ।

सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रमार्फत् पोखरा १७ मा रहेको पार्दी माध्यमिक विद्यालय र पोखरा ८ मा रहेको राम आधारभूत विद्यालय सिमलचौरमा अध्ययन गर्ने ३ सयजना बालबालिकाहरुलाई बालश्रमका विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया