बिजुली नियमित नहुँदा माझठानाको लिफ्टिङ खानेपानीमा समस्या

समाधान संवाददाता २०८१ जेठ ३२ गते १४:४७

ऋषिराम रानाभाट
लेखनाथ ।

Advertisement


माझठाना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष लालमोहन तिवारीको नेतृत्वमा विद्युत प्राधिकरण कार्यालयमा पुगेको टोलीले विद्युत प्राधिकरणका प्रमुख राजकुमार रमणलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।


पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानामा विगत लामो समयदेखि विद्युत प्रसारण लाइन जीर्ण अवस्थामा रहेको, विद्युतका पोल मापदण्ड अनुकुल नभएको, वर्षा समयमा विद्युत प्रसारण नहुँदा माझठानाबासी अँध्यारोमा बस्न बाध्य भएको कुरा विगतमा पनि प्राधिकरण कार्यालयमा अवगत गराउँदा पनि समस्या समाधान नभएको ज्ञापनपत्रमा भनिएको छ ।

Advertisement


विद्युत प्रसारण अपडाउनका कारण माझठाना खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा सञ्चालित खाल्टे लिफ्टिङको ट्रास्फर्म, मिटर बक्स, एमसी बक्समा क्षति भएकाले जनताले दैनिक रुपमा पिउने पानी वितरणमा समस्याका बारेमा कार्यालयमा पटकपटक लिखित र मौखिक रुपमा अवगत गराउँदा समेत कुनै सुनुवाइ नभएको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


समितिले ज्ञापनपत्रमा ५ बुँदे मागसमेत उल्लेख गरेको छ । जस अनुसार नांगो तारलाई कबरसहित तार परिवर्तन गर्ने, मादण्डभन्दा बढी दुरीमा रहेका पोलहरुमा थप पोल थप्नुपर्ने, प्रसारण लाइन वरपर रहेका बाँसघारी तथा बोटबिरुवा यथाशीघ्र कटान गर्ने, छिन छिनमा विद्युत आउने र जाने समस्या पत्ता लगाई समाधान गर्ने, विद्युत लाइनको जीर्ण भएका प्रसारण लाइनलाई परिवर्तन गर्ने लगायत माग गरिएको छ ।

Advertisement

समितिका अध्यक्ष तिवारीले ज्ञापनपत्र प्राधिकरणका प्रमुख राजकुमार रमणलाई हस्तान्तरण गर्दै भने जनताको सुरक्षा तथा दैनिक रुपमा आइपर्ने समस्या समाधान गर्न कुनै पहल नभएमा सम्पूर्ण माझठानावासी कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने बताए । प्राधिकरण्का प्रमुख रमणले ज्ञापनपत्र ग्रहण गर्दै छिटोभन्दा छिटो प्राविधिक र इन्जिनियर उपलब्ध गराएर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया