जोमसोम ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले जैविक तथा अजैविक फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसका लागि घरपझोङले ऐन र कार्यविधि बनाएर गाउँपालिकालाई फोहोरमुक्त गाउँपालिका बनाउने अभियान चलाएको हो ।
सदरमुकामसमेत रहेको घरपझोङ पर्यटन, कृषि, मानव स्वास्थ्य र पर्यावरण रक्षा गर्दै गाउँपालिकालाई स्वच्छ, सुन्दर र सफा गाउँपालिका बनाउने परिकल्पना अनुसार फोहोरमैला व्यवस्थापन अभियानमा जुटेको हो । अभियान अन्तर्गत गाउँपालिकाले जथाभावी फोहोर गर्ने व्यक्तिलाई दण्ड, सजायसमेत हुने गरी यसअघि नै कार्यविधि र ऐन निर्माण गरिसकेको हो ।
फोहोर मैला व्यवस्थापनका लागि गाउँपालिकाले लिएको नीति, नियम र कार्यविधि स्थानीय गाउँपालिकाका भित्रका नागरिकलाई सचेतना नदिईक एकैसाथ कार्यान्वयनमा लैजादा व्यवहारिक नहुने भएकाले गाउँपालिकाले फोहोर मैला व्यवस्थापनका लागि स्थानीयलाई सचेत बनाउन लागेका हो ।
फोहोर मैला व्यवस्थापन अभियान अन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँपालिकाले ५ वटै वडामा जैविक तथा अजैविक फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा नागरिक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गरिएको छ ।
जेठ २४ गतेदेखि १० दिनसम्म गाउँपालिकाका प्रतिनिधि र सहजकर्ता फिल्डमै पुगेर फोहोर व्यवस्थापन तालिम दिएका हुन् । पालिका अध्यक्ष मोहनसिंह लालचनले गाउँपालिकालाई प्रदूषणमुक्त बनाएर पर्यावरण रक्षा, मानव स्वास्थ्य, कृषि र पर्यावरणमा हुने हानी नोक्सानी घटाउन कार्यक्रम गरिएको बताउ । उनले त्यहाँ उत्पन्न हुने जैविक फोहोरलाई कसरी व्यवस्थापन गर्ने र अजैविक फोहोरलाई कसरी व्यवस्थापन गरी त्यसबाट कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको नजाए ।
जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने ऐन र कार्यविधि बनाएको घरपझोङले कार्यान्वयनअघि सचेतना अभियान चलाएको छ
स्थानीयलाई गाउँपालिकाले १० दिने फोहोर व्यवस्थापनको तालिम दिएको हो । अध्यक्ष लालचनले घरपझोङ गाउँपालिकाले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । ‘हामीले फोहोर मेला व्यवस्थापनसम्बन्धी कार्यविधि र ऐन बनाइसकेका छौं, यसमा जथाभावी फोहोर मिल्काउनेलाई दण्ड, सजायको व्यवस्था छ,’ अध्यक्ष लालचनले भने, ‘जबसम्म नागरिकमा चेतना विकास हुदैन, फोहोर मैला व्यवस्थापनमा समेत चुनौती हुन्छ ।’
नागरिक सुसूचिात नभएसम्म कानुन कार्यान्वयन गर्न सहज नहुने अध्यक्ष लालचनको भनाइ छ । घरपझोङ गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा फोहोर मैला व्यवस्थापन कार्यविधि निर्माण गरेको थियो । कार्यविधिमा गाउँपालिकाभित्र सिसाजन्य बियर ल्याउन प्रतिबन्ध लगाएको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि बियरका बोतल मात्र नभई अन्य सिसाजन्य पदार्थमा प्याकेजिङ गरिएका मदिराका बोतललाई समेत निरुत्साहित गर्दै लैजाने जनाएको छ ।
गाउँपालिकाले फोहोर मुक्त पालिका अभियानलाई मूर्त रुपमा दिन कपडाको झोला वितरणसमेत गरिरहेको छ । फोहोर व्यवस्थापन गर्दै कसरी लाभ लिने सकिन्छ र रासायनिक मलको विकल्पमा कसरी जैविक मल बनाएर प्रयोगमा ल्याउन सकिन्छ भन्ने बिषयमा ५ वटै वडामा तालिम दिइएको छ ।
तालिमका सहजकर्ता शेखरनाथ पन्थीले फोहोर वर्गीकरण गर्ने, पुनः प्रयोगमा ल्याउने र त्यसो नहुनेलाई व्यवस्थापन गर्ने तरिकाबारे प्रयोगात्मक रुपमा सिकाइएको सुनाए । उनले फोहोर उत्पादन नै साह्रै कम गर्न अपनाउन सकिने माध्यमका बिषयमा स्थानीयलाई प्रकाश पारेका थिए ।
पन्थीले एक प्लाष्टिक जलाउँदा ८ जनाको दैनिक चाहिने अक्सिजन नष्ट हुने भएकाले यस्ता अजैविक फोहोरको समुचित व्यवस्थापन र प्रयोग गर्न आग्रह गरे । उनले केही फोहोरलाई विवेकपूर्ण प्रयोग गरे मोहरमा परिणत हुनेसमेत औंल्याए ।
सहजकर्ता पन्थीले आफैं गलेर जाने जैजिक फोहरलाई कम्पोष्ट मल बनाउने तरिकासमेत वडा वडामा पुगेर सिकाएका थिए । जैविक फोहोरबाट कम्पोस्ट मल तयार गरी खेतीपातीमा प्रयोग गर्न सके मात्रै उत्पादन बृद्धिसमेत हुने उनले जनाए । उनले जैविक फोहोर र अजैविक फोहोर व्यवस्थापनका लागि गाउँपालिका, वडा र आमा समूहहरुले अनुगमन र व्यवस्थापन गर्दै जानुपर्ने विचार राखे ।
फोहार व्यवस्थापन तालिममा एक सय ५० जनाले सैद्धान्तिक तथा व्यवहारिक सीप सिकेका छन् । घरपझोङका ५ वटामध्ये मार्फा, स्याङ, जोमसोम र पुथाङ एअरपोर्टमा फोहोर व्यवस्थापन चुनौती बनेको छ । यहाँका होटलमा उत्पन्न हुने जैविक र अजैविक फोहोर व्यवस्थापनमा समस्या रहेको गाउँपालिकाले उल्लेख गरेको छ ।
मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले जथाभावी फोहोर मिल्काउने गर्दा पनि प्रदूषण बढेको छ । गाउँपालिकाले पर्यटकीय चहलपहल हुने स्थानमा फोहोर व्यवस्थापनबारे जानकारी दिने सूचना बोर्डसमेत राख्ने तयारी गरेको छ ।
घरपझोङ गाउँपालिकाले गाउँपालिका केन्द्र नजिकै फोहोर संकलन स्थल बनाइसकेको छ । आगामी आर्थिक वर्षदेखि वडा वडाका अजैविक फोहोर पहिचान गरी गाउँपालिकाले संकलन गर्ने र त्यसको व्यवस्थापन तथा ढुवानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिम्मा लिने तयारी छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया