थाइल्यान्डमा पोखरा प्रवर्धन प्रयास

युवराज गुरुङ ‘युनिश’ २०८१ असार २ गते ११:२६

बैंकक ।
पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेको पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको दूतावासमा अन्तक्र्रिया गरेको छ । पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय सरकार लगायतले निर्वाह गर्नुपर्ने भूमिकाबारे अन्तरक्रिया भएको छ ।

Advertisement


नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्ना प्राकृतिक सम्पदाका जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् त्यसैले प्रकृतिलाई जोगाउँदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ ।


उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको टिप्पणी गरे । थाइल्यान्डका पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने सुझाव दिए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनको भनाइ छ ।

Advertisement


थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्यान्डमा पर्यटन प्राथमिकता भए जस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । उनले पोखरा घुम्नका लागि प्रबद्र्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउँदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए ।


गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष रवीन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको औंल्याउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे ।

Advertisement

थाइल्यान्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले सरसफाइमा समेत थप ध्यान दिनुपर्ने सुझाव दिए । उनले सार्वजनिक शौचालयहरुको पर्याप्त व्यवस्था, सरसफाइ पर्यटकका लागि अति नै आवश्यक रहेको जनाए ।


टेवान अध्यक्ष कमला गिरीले पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिकमात्र नभएर आतिथ्यता र आत्मीयताको सहर पनि रहेको बताइन् । पोखराको प्रबद्र्धनका लागि थाइल्यान्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न पनि अध्यक्ष गिरीले आग्रह गरिन् ।


टेवान सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटन जस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने विचार राखिन् । टेवान टोलीले पोखराको प्रबद्र्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री दूतावासलाई प्रदान गरेको थियो । १० दिने भ्रमणमा रहेको टोलीले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखरा प्रबद्र्धन कार्यक्रम र भेटघाट गर्ने सचिव पौडेलले जनाइन् ।

तपाईको प्रतिक्रिया