नेपालमै बनेको हुन्डाई भेन्यु कार ४ लाख सस्तो

समाधान संवाददाता २०८१ असार २ गते ११:४४

पोखरा ।
नेपाली उद्यमीले कोरियाली कार उत्पादक कम्पनी हुन्डाईसँगको साझेदारीमा नवलपरासीमा कार उत्पादन उद्योग सुरु गरेपछि धेरैको जिज्ञासा थियो—कारको मूल्य कति घट्ला ? हुन्डाईका नेपालमा बनेका कारको मूल्य भारतमा बनेका कारको भन्दा सस्तो भएर आएको छ ।

Advertisement


पोखराका उद्यमीको संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कार उत्पादन थालेको हो । उसले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गर्न थालेपछि ग्राहकलाई भारतबाट आयातीत कारभन्दा निकै सस्तो पर्ने भएको छ ।


कम्पनीले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार भेन्युको मूल्य ४ लाख रूपैयाँ सस्तो भएको छ । अहिले बजार मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको भेन्यु एस १.२ को मूल्य ४४ हजार ९६ लाख रूपैयाँ कायम भएको छ ।

Advertisement

यसअघि ५७ लाख ९६ हजार रूपैयाँ मूल्य रहेको उन्नत भेरियन्टको एसएक्सको मूल्य ५३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ । दुवै कारको इन्जिन क्षमता ११९८ सीसीको छ ।

नेपालमा बनेका कारको गुणस्तर कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह


नेपालमा बनेका कारको बनावट, गुणस्तर, पर्फमेन्स लगायत गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह रहेको दाबी कम्पनीले गरेको छ ।


लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन सुरु गरेको हो ।


पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।


स्वदेशमै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युत खपत, कुल गाह्रस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वैशाख २८ गते नवलपरासीको रामग्राम–६ मा ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए ।

तपाईको प्रतिक्रिया