‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण

समाधान संवाददाता २०८१ असार २ गते १४:०६

पोखरा ।
‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement


‘सबैका लागि, संधैका लागि टेनिस’ भन्ने मुख्य ध्येयका साथ सम्पन्न उक्त प्रशिक्षणमा सहभागी बालबालिकालाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतमले सबै उमेर समूहमा खेलकुद अघि बढाउन ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रभावकारी रहेको बताए ।


लामो अध्ययन र निष्कर्षका साथ अघि बढाइएको यो कार्यक्रमले गण्डकी प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन र युवा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने जनाउँदै टेनिसको प्रशिक्षण कार्यक्रमले गण्डकीको टेनिसको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement


गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले परिषदले टेनिस विकासका लागि गरेको सहयोगका लागि अभार व्यक्त गर्दै प्रशिक्षणमा सहभागीमध्येबाट नै भावी राष्ट्रिय खेलाडी उत्पादन हुने बताए । उनले भने, ‘परिषदले महत्वपूर्ण कार्यक्रमका लागि सहयोग गरेको छ । हामी खेलाडी उत्पादनमा गरेको प्रयासका लागि गरेको सहयोग प्रति धन्यवाद दिन चाहन्छु ।’


समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य केशव पाठक, कास्की टेनिसका सचिव नवीन श्रेष्ठ, प्रदेश टेनिस संघका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ, विष्णु केसीलगायतको सहभागिता थियो । ६५ दिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया