लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम
लेखनाथ ।
नेवारी समुदायका महिलाको संस्था नेवाः मिस पुच लेखनाथ एकाई समितिले उद्घोषण तालिम आयोजना गरेको छ । लेखनाथभित्रका ९ वटा एकाईको प्रतिनिधित्व हुने गरी महिलाहरुका लागि सभा सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा बोल्ने कलाको विकास गराउने उद्देश्यले राखिएको ३ दिने तालिममा ३६ जनाको सहभागिता थियो ।
वुधबा सुरु तालिम शुक्रवार समापन गरिएको थियो । त्यस अवसरमा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्वा गुरुङले महिलाहरुले आफ्ना कुरा स्पष्टसँग राख्न नसकिएकै कारण पछि परेकाले अब तालिमबाट सिकेका विषय वस्तुलाई व्यवहारमा उतारेर महिला अधिकारलाई स्थापित गर्ने गरी आवाज उठाउन आग्रह गरेकी थिइन् ।
सोही अवसरमा कास्की मिसःपुचका अध्यक्ष संगीता वज्राचार्यले तालिम तालिमका लागि मात्र नभई जीवन उपयोगी बनाएर नेतृत्व लिने ठाउँमा पुग्न अनुरोध गरेकी थिइन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ की वडासदस्य दुर्गा केसीले तालिम पछिको अभ्यास जरुरी रहेको बताएकी थिइन् ।
नेवाः मिस पुच लेखनाथकी अध्यक्ष मीनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, मिस पुच कास्कीकी निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ, नेवाःखल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ, संस्थापक अध्यक्ष प्रेम लिगल, गणेश नेवाः खल गगनगौंडाका अध्यक्ष जयराम श्रेष्ठ लगायतले भाषा र संस्कृतिको रक्षाका लागि पनि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रम सञ्चालन नेवाः मिस पुच लेखनाथकी सचिव संगीता श्रेष्ठले गरेकी थिइन् । स्वागत मन्तव्य सदस्य शर्मीला श्रेष्ठले राखेकी थिइन् ।
तपाईको प्रतिक्रिया