पोखरा १७ को हाजिरीजवाफमा समृद्धि प्रथम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा समृद्धि महिला समूह सीतापाइला प्रथम भएको छ ।महिलाको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि भएको हाजिरीजवाफमा वडाभरीका ३२ समूह सहभागी थिए ।
समृद्धिका मीना पौडेल, विद्या बराल र सुमित्रा तिवारीले प्रथम हुँदै नगद १० हजार र प्रमाणपत्र पाएका छन् । महानगरको वार्षिक कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा दोस्रो शेरा जागृति आमा समूह दोस्रो र तेस्रो संकल्प आमा समूह भएका छन् । नमुनाशील आमा समूह र घारीकुलो आमा समूह सान्त्वना बने ।
दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ८ हजार, ६ हजार र ३ हजारका साथमा प्रमाणपत्र पाएका छन् । विजयी समूहहरुलाई वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्यहरु विष्णुमाया भुजेल, बिक्रम गुरुङ र तारा सेवाले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
वडाध्यक्ष शाहीले गृहणी महिलालाई सशक्तीकरण गर्दै समृद्धिको यात्रामा लैजान यस खालका कार्यक्रम सहयोगी हुने बताइन् । उनले वडा कार्यालयले वडाका भौतिक निर्माण सँगसँगै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिएको जनाइन् ।
कार्यक्रममा वडा सदस्यद्वय बिक्रम गुरुङ र विष्णुमाया भुजेल र वडा सचिव प्रमिला सुवेदीले वडाका विभिन्न गतिविधि र भावी योजनाबारे बोलेका थिए । प्रतियोगिता गर्न वडा कार्यालयका कर्मचारीहरु सर्मिला सुवेदी र तीर्सना बरालले सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया