भूम्यालाई राष्ट्रिय पर्वको मान्यता माग

समाधान संवाददाता २०८१ असार ३ गते १०:३८

पोखरा ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन् । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रममा उपसभामुख थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा दिनुपर्ने धारणा राखेकी हुन् ।

Advertisement


रोल्पा–पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाज पोखराले संयुक्त रुपमा आयोजना गरेको मेलामा उनले भूम्या पर्वलाई मगर जातिमा मात्र सीमित राख्न नहुने उल्लेख गरिन् । उनले यस पर्वलाई व्यापकता दिन आवश्यक रहेको बताउँदै भूम्या पर्व मौलिक र वैज्ञानिक पर्व रहेको धारणा राखिन् ।


उपसभामुख थापाले लोपोन्मुख संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भूम्या पर्व आदिवासी मगर जातिको मौलिक पहिचान भएको जनाइन् ।

Advertisement

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, नेपाल मगर संघका उपमहासचिव खेम पुन, नेकपा (माओवादी केन्द्र)का नेता आशमान रोका, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ आस्था सि, माओवादी केन्द्रका नेता सुवर्ण, राप्ती सल्यान–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष वीरसिंह बुढा लगायतले बोलेका थिए ।


कार्यक्रममा भूम्या नाचसमेत प्रस्तुत गरिएको थियो । रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रसाद बुढा र रमेश बुढा, रुकुमेली एकता सम्पर्क समाज पोखराका संस्थापक अध्यक्ष फत्तेजंग गुरुङले पनि बोलेका थिए ।

Advertisement

यसअघि, भूम्या नाचसहितको झाँकी र्‍याली लखनचोकबाट सुरु भई नयाँबजार हुँदै मेलास्थल पोखरा प्रदर्शनी केन्द्रमा पुगी कार्यक्रममा परिणत भएको थियो । भूमि देवताको पूजा गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । भूम्या पर्व रोल्पा, रुकुम, दाङ लगायतका जिल्लामा विशेष रुपमा मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया