पोखरामा पर्यटनविदका रूपमा चिनिन्छन् झलक थापा । ८२ वर्षका थापा डाँडाघरे वाइन बनाएर आफ्नै छुट्टै पहिचान बनाउन सफल पनि छन् । वस्तुतः उनी प्रकृतिप्रेमीका रूपमा त्यत्तिकै चिनिन्छन् । चराप्रेमी थापाले विभिन्न देशबाट चरा, अण्डा मगाएर स–सानो चिडियाघर (जु) जस्तै बनाएका थिए एअरपोर्टमा ।
उनले थुपै्र घोडा पालेर पर्यटकलाई अन्नपूर्ण क्षेत्रमा मात्र नभएर जोमसोम, मुक्तिनाथ घुमाउन लग्थे । ०२२ सालबाट माउन्टेन ट्राभल्स खोलेर पर्यटनलाई पोखरा भित्रयाउन सुरु गरेकाले यस अर्थमा उनी पोखरामा पर्यटन व्यवसायका अगुवाका रूपमा चिनिन्छन् । वस्तुतः उनी पोखराका एक शुभचिन्तक हुन्, जो सधैँ पोखराको गुणगान गर्न पछि पर्दैनन् ।
अझै अर्को शब्दमा भन्नुपर्दा उनलाई लोभ्याएको कुमारी माछापुच्छ्रे हिमालले हो । उनी माछापुच्छ्रे हिमाललाई एउटा हिउँको ढिस्कोमात्र मान्दैनन्, साक्षात् परमात्माको दिव्य स्वरूप मान्छन् । उनको दृष्टिकोणमा माछापुच्छ्रे ईश्वरको एक अर्को साक्षात् स्वरूप हो । उनले सुरुमा जब माछापुच्छ्रेलाई देखे, तब उनलाई लाग्यो यसको सौन्दर्यलाई नष्ट गर्ने अधिकार कसैलाई छैन । तसर्थ माछापुच्छे« हिमाल आरोहण गर्ने अधिकार कसैलाई पनि हुनु हुँदैन भने ।
उनले माछापुच्छ्रेको अगाडि कुमारी शब्द थपिदिए । अहिले सबै माछापुच्छ्रे हिमाललाई कुमारी माछापुच्छ्रे भन्न नै रुचाउँछन् । उनको दृष्टिकोणमा यदि भगवान् कतै छन् भने त्यो पवित्र, कुमारी माछापुच्छ्रेमा नै हो । पर्यटनविद थापा भन्छन्–पोखरालाई कसैले केही बनाउन नै पर्दैन, पोखरालाई अन्तस्करणबाट नै माया गरे पुग्छ । माछापुच्छ्रेलाई कसैले सिंगारपटार गरिरहन पर्दैन ।
पोखरालाई कसैले केही बनाउन नै पर्दैन, पोखरालाई अन्तस्करणबाट नै माया गरे पुग्छ । माछापुच्छ्रेलाई कसैले सिंगारपटार गरिरहन पर्दैन ।
काठमाडौंको भाटभटेनीमा १९९९ साल भदौ २० मा जन्मिएका झलकलाई कर्णेल रवर्टस्ले पोखरामा पर्यटन प्रवद्र्धनका लागि पोखरा ल्याएका थिए २०२२ सालमा । थापाले जब पोखरा टेके तब पोखराको सौन्दर्यले थापाको मनै हर्यो । उनी पोखरा अझ विशेष गरी माछापुच्छ्रे हिमालको सौन्दर्यले नराम्ररी लठ्ठिए ।
उनले काठमाडौंलाई बिर्सेर पोखरालाई नै आफ्नो कर्मथलो बनाए । केही वर्ष बेलायतमा गएर चराचुरुङ्गीका विषयमा अध्ययन गरे । पछि पोखरामा पर्यटन व्यवसायको विकास र विस्तार गरे । उनको यस कार्यबाट पोखरा र नेपालको निकै प्रचार हुन थाल्यो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको यश फैलियो । उनको योगदानको कदर स्वरूप वि.सं. २०५७ सालमा उनलाई पोखरेली नवरत्नका रूपमा सम्मान गरियो ।
पर्यटनविद जहाँ गए पनि जो भेटे पनि माछापुच्छे« हिमाल र पोखराको बखान गर्न पछि पर्दैनन् । उनले थपे–मैले अर्को जुनी लिन पाएँ भने यही पोखरालाई नै रोज्छु । उनलाई भेट्न देश, विदेशबाट शुभचिन्तकहरु आउँछन् । कतिले मान, पदवी, सम्मान व्यक्त गर्ने प्रसंग चलाउँदा उनी भन्दछन्–मेरो सम्मान भनेको पोखराको सौन्दर्य हो, सबैले यसलाई माया गरिदिए पुग्छ ।
अहिले जताततै मोटरबाटो पुगेकोले ट्राभलिङ एजेन्सीको कार्य खुम्चिएको छ । उनले २०।२५ वटा घोडा पाल्ने तबेलामा अहिले उनी डाँडाघरे वाहन उत्पादन गर्छन् । उनी यसलाई नेपालको ब्यान्डिङको रूपमा चिनाउन खोज्दै छन् ।
थापाकी छोरी यशोधरा सिनियर क्याप्टेन इन्जिनियर छिन् । उनी पाइलटहरुलाई पढाउने गर्छिन् । ८२ वर्षीय पर्यटनविद् थापा उत्साहित नै छन् । सबै पोखरेलीले आफूप्रति देखाउको सद्भावप्रति नतमस्तक पनि । शारीरिक रूपमा केही कमजोर जस्तै देखिए पनि आफूलाई निरोगी र खुसी साबित गर्न चाहन्छन् । कसैसँग वादविवाद, झगडा गर्ने स्वभाव छैन् । ‘म आफैंमा सन्तुष्ट छु, कसैसँग कुनै गुनासो छैन । माछापुच्छ्रेसँग मेरो गहिरो अन्तर्सम्बन्ध छ । लाग्छ– जीवनका अन्तिम क्षणसम्म पनि माछापुच्छे«का काखमा यसैगरी रमाउन सकूँ, मेरो जीवनको ध्येय यही नै बनिरहोस्,’ उनी भन्छन्
रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )
तपाईको प्रतिक्रिया