सम्पादकीय—यथास्थितिवादी बजेट

समाधान संवाददाता २०८१ असार ३ गते ११:३९

गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट असार १ गते ल्याए । चालु वर्षको भन्दा यो बजेट आफैमा आकारमा सानो छ । प्रदेशको राजस्व आम्दानीमा वृद्धि नहुनु, संघीय सरकारले अनुदान कटौती गर्नु लगायत कारण गुरुङले बजेटको आकार वृद्धि गर्न सकेनन् । देशमै आर्थिक मन्दी छ, संघीय सरकारले पनि चालु आवमै राजस्व लक्ष्य अनुसार संकलन गर्न नसक्ने पक्का भइसक्यो । १४ खर्ब राजस्व संकलन गर्ने भनेकोमा जेठ मसान्तसम्म केवल ९ अर्ब रुपैयाँ संकलन गरेको छ ।

Advertisement

असारमा मात्रै बाँकी ५ खर्ब उठ्दैन भन्ने पक्का छ । तर पनि संघमा अर्थमन्त्री वर्षमान पुनले चालु वर्षको भन्दा वृद्धि गरेरै १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याए । आकारमा ठूलो भए पनि त्यसको ठूलो आधार भनेको ऋण छ । ऋण लिएर बजेटको आकार वृद्धि गर्न हुँदैनथ्यो । तर उनले त्यसो गरे । प्रदेशहरुले पनि त्यसरी ऋण लिन सक्ने अवस्था छैन । मात्रै संघले दिने अनुदान नै प्रदेशको आधार हो । त्यसैले बजेटको आकार घटेको छ ।


आकार जत्रोसुकै भए पनि डा टकराज गुरुङले आफूलाई पृथक अर्थमन्त्री सावित गर्न भने चुके । अर्थसँग सम्बन्धित विषयमा उनी विद्यावारिधि हुन् भन्ने तथ्य स्थापित गर्न पनि उनी असफल देखिन्छन् । उनको बजेट पूरै यथास्थितिवादी छ । राजस्वका नयाँ स्रोत पहिल्याएर बजेटको आकार वृद्धि गर्ने जाँगर उनले चलाएनन् । पहिला जे जे र जस्तोजस्तो हुन्थ्यो उही पाराको बजेट ल्याएर उनले पनि केवल कर्मकाण्ड नै पूरा गरेका छन् । नयाँपन दिन सकेका छैनन् । पुरानै योजनाहरुमा बजेट खन्याएर अरुले खनेकै बाटोमा उनी हिँडेका छन् । नयाँ गन्तव्य पहिल्याउने सामथ्र्य र क्षमता उनी रहेनछ नै ।


नेपालमा बजेटको मुख्य चुनौती नै कार्यान्वयनमा देखिन्छ । नयाँ कार्यक्रम र योजना ल्याउने भन्नेमात्रै ठूलो कुरा हुँदैनथ्यो । नयाँ पनि र कार्यान्वयन पनि हुने हुनु नै पथ्र्याे । उद्यमशीलताको विकास भने पनि त्यो कसरी गर्ने हुन् भन्नेचाहिँ समयकै गर्भमा छ । इन्भेस्ट गण्डकीको नारा त अर्थमन्त्री गुरुङले समावेश गरेका छन्, त्यो पनि कति लगानी उनले जुटाउने छन्, त्यसैबाट यसको सार्थकता प्रष्ट हुने छ । परम्परावादी र वितरणमुखी प्रकृतिबाट मुक्त हुन नसकेको बजेट निरन्तरताको निरन्तरतामात्रै भएको छ । तसर्थ यो यथास्थितिवादी बजेट हो । अर्थतन्त्र चलायमान बनाउन, अर्थतन्त्रको आकार वृद्धि गर्न तथा उद्यमशीलता वृद्धि गर्न यसबाट योगदान पुग्ने शुचेम्छा प्रकट गर्न सकिए पनि भरोसाचाहिँ गर्न सकिन्न ।

Advertisement

तपाईको प्रतिक्रिया