पोखरा उडान गर्न बंगलादेशी एयरवेजको प्रस्ताव
पर्यटन शुल्क, भ्याट लगायतको छुटमा अर्थमन्त्रालयले निर्णय गरेर आए नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने प्रक्रिया थाल्ने
पोखरा ।
अन्तर्राष्ट्रिय विमानस्थल पोखरासम्म उडान गर्न बंगलादेशको वायुसेवा कम्पनी एयर अस्ट्राले नेपालसँग प्रस्ताव गरेको छ । सँगसँगै उसले नेपालसँग विभिन्न सुविधा पनि मागेको छ ।
बंगलादेशबाट सीधा उडानको प्रस्ताव गर्ने कम्पनी एयर अस्ट्रा हो । यो कम्पनी बंगलादेशमा तीन वर्षअघि सञ्चालनमा आएको थियो । उडान संख्या बढाउन आक्रामक रुपमा प्रस्तुत भएको एयर अस्ट्रा एयरवेजले ३ वटा जहाजबाट ४ गन्तव्यमा उडान गरिरहेको छ । अस्ट्राले बंगलादेशी राजधानी ढाकाबाट सिलेट, सैदपुर, चटगाउँ, कक्समा उडान गर्छ । अब उसको लक्ष्य पोखरा पनि छ ।
एयर अस्ट्राले कूटनीतिक नियोगमार्फत नेपालमा उडानका लागि प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले समाधानसित बताए । उसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उडान अनुमतिका लागि आवेदन दिएको हो । सर्त उडानका लागि सुविधाहरुचाहिँ सर्तका रुपमा उसले अघि सारेको छ । नेपालले ४१ वटा देशसँग हवाई सम्झौता गरेको छ । त्यसमध्ये एउटा बंगलादेश पनि हो ।
एयर अस्ट्रासँग एटीआर ७२–६०० नामक जहाज छ । ७८ सिट क्षमताको ती जहाजबाट पोखरा सीधा उडान गर्ने उसको प्रस्ताव हो । अनुमति पाए सातामा ४ वटा उडान नियमति गर्ने उसको प्रस्ताव छ ।
एयर अस्ट्राले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, इन्धन, ग्राउन्ड ह्यान्डलिङसहित भ्याट छुट चाहेको छ । अर्थमन्त्रालय लगायतले मात्रै ती छुटको प्रबन्ध मिलाउन सक्छन् । उक्त एयरवेजले आफ्नो प्रस्ताव सम्बन्धित मन्त्रालयहरुमा पनि पेस गरेको छ । नागरिक उड्डयन प्राधिकरणले भने पोखरा विमानस्थलमा हवाई उडानमा छुट दिने व्यवस्था यसअघि नै गरिसकेको छ । अस्ट्राले मागेका अरु छुट र सुविधा भने प्राधिकरणको कार्यक्षेत्रभित्र पर्दैनन् ।
३ जहाज भएको ३ वर्ष पुरानो कम्पनी ४ उडान गर्न इच्छुक
पोखराबाट अहिलेसम्म नियमति अन्तर्राष्ट्रिय उडान भएको छैन । २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग स्थानीय पर्यटन व्यवसायीले पनि गर्दै आएका छन् । अहिलेसम्म कुनै वायुसेवा कम्पनी पोखरा नआएको हुँदा प्राधिकरणले उडान र अवतरण शुल्कमा छुटको आकर्षण भने दिएको छ । तर पनि कुनै कम्पनी आएका छैनन् ।
ग्राउन्ड हेन्डलिङको शुल्क पोखरा विमानस्थलमा छुट छ । ‘आफ्नो बजारीकरण नभइन्जेलसम्मका लागि भनेर पर्यटन शुल्क, भ्याट लगायतमा उहाँहरुले छुट माग्नुभएको छ,’ भुलले समाधानसित भने, ‘त्यो छुटको सुविधा अर्थमन्त्रालयबाट निर्णय भएर आयो, पर्यटन मन्त्रालयबाट पनि निर्णय भएर आयो भने अनुमतिको प्रक्रिया सुरु हुन्छ ।’
एयर अस्ट्राले अहिले पठाएको प्रस्ताव नागरिक उड्डयन मन्त्रालयलाई हो । प्राधिकरणमा उक्त प्रस्ताव आइसकेको छैन । उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयर अस्ट्राको प्रस्ताव मन्त्रालयमा अनुमतिकै चरणमा रहेको जानकारी दिए । उनका अनुसार नेपालमा उडान अनुमतिका लागि एयर अस्ट्राले सोसाइटी इन्टरनेसनलाई प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौंबाट हप्ताको १ दिने हिमालय एयरलाइन्सले बंगलादेशको ढाका उडान गर्दै आएको छ । एयर अस्ट्रा पोखरा आए ऊ नै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा हुने छ । त्यसो त अहिलेसम्म उसले पनि आफ्नै देशबाहेक विदेश उडान गरिसकेको छैन । उसको पनि पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान पोखरा नै हुनेछ ।
पोखरा विमानस्थलको उदघाटन २०७९ सालको पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । त्यसअघि केही अन्तर्राष्ट्रिय उडान भने पोखराबाट भएका छन् । तर ती नियमित उडान थिएनन् । हिमालयन एअरलायन्सले काठमाडौंबाट विमानस्थल उदघाटनको दिन पहिलो उडान गरेको थियो ।
विमानस्थल सञ्चालन भएको करिब ६ महिना पुग्दा २०८० असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो । सिचुवान एअरलाइन्सको न्यारोबडी जहाज चीनको छेङ्दुबाट आएको थियो । त्यसमा फेवातालमा भएको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन ७२ जना खेलाडी, अफिसियल सहित ८४ जना पोखरा आएका थिए ।
भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ २३ गते आएको ‘ड्रुक एअर’को उडान विदेशबाट आएको दोस्रो चार्टर्ड उडान हो । पोखरा भ्रमणमा आएका विदेशी पर्यटकलाई लिन आएको विमानमा चालक दलका ७ र ३ पर्यटक थिए । फर्किँदा ४२ यात्रु लिएर गएको थियो ।
जाजरकोट र रुकुममा गएको भूकम्पका प्रभावितलाई राहत सामग्री लिएर २०८० कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई वटा कार्गो विमान चीनको छेङ्दुबाट पोखरा आएका थिए । चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले २०८० मंसिर ७ गते गरेको उडान अहिलेसम्मको अन्तिम चार्टर्ड उडान हो ।
तपाईको प्रतिक्रिया