वडाका योजना छान्ने जिम्मा महिलालाई
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ ले २०८१/०८२ का योजना छनोट गर्ने जिम्मा महिलालाई दिएको छ । वडाभित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक वर्षको योजना छनोट गर्ने जिम्मा दिइएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता महिलामा बढी हुने भएकाले योजना छनोटको जिम्मा दिइएको थापाको भनाइ छ । उनीहरुलाई १ करोडको बजेट सिलिङभित्र सबैलाई समेट्ने गरी योजना ल्याउन भनिएको छ ।
बजेट निर्माणमा पुरुषले हस्तक्षेप नगर्ने व्यस्था मिलाई जनप्रतिनिधिहरु लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहको तर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिइएको बताए ।
योजना छनोटका लागि वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघ, संस्थाका प्रतिनिधि र राजनीतिक दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु वर्षमा गरेका कामहरुको प्रगति देखाउन वडा भ्रमण गराएको थियो ।
पूर्वन्यायाशीध वासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमूना काम गरेको बताए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय हरिप्रसाद अधिकारी, महिलाको तर्फबाट अम्रिता बराल, युवाको तर्फबाट आदर्शमोहन भट्टराई लगायतले पोखरा २६ को योजना छनोट विधि महानगरमै नमूना भएको दाबी गरे ।
तपाईको प्रतिक्रिया