जोमसोम ।
शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको रैथाने बाली उवा थन्क्याउन यतिखेर मुस्ताङीलाई भ्याइ नभ्याइ छ । उवा र जौ खेती यहाँको धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडिएको छ ।
यतिखेर यहाँका खेतबारी उवा पाकेर पहेलै छन् । जिल्लाको तल्लो क्षेत्रका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका किसान उवा थन्क्याउन व्यस्त छन् । उवा थन्क्याउनुअघि काटेर २ दिनसम्म घाँममा सुकाएपछि बालाबाट केस्रा छुट्याएर उवा भित्र्याइन्छ ।
गहुँ प्रजातिको उवालाई स्थानीय भाषमा करुने र अंग्रेजीमा केक्ड भनिन्छ । समुन्द्री सतहको १ हजार ९ सय मिटरदेखि ३ हजार ९ सय सय मिटरसम्म उवा खेती गरिन्छ । मुस्ताङीले उवा सदियौंदेखि फलाउँदै आएका छन् ।
उपल्लो मुस्ताङमा एकमात्र बाली हुने भएकाले उवा चैत, वैशाख महिनामा खेतबारीमा छरेर भदौ, असोज महिनामा थन्क्याउने गरिन्छ । तल्लो मुस्ताङमा मंसिर महिनामा छरेर असारको पहिलो हप्तामात्र फसल भित्र्याइन्छ ।
तल्लो मुस्ताङमा जौ थन्क्याएपछि उवा थन्क्याउने सिजन सुरु हुने घरपझोङ ३ का किसान विनोद थकालीले बताए । पछिल्लो समय आलु र तरकारी बालीमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि उवा र जौ खेतीतर्फ किसान ढल्किएका छन् । उनले सडक यतायात सहज भएसँगै उवा र जौको माग हुने गरेकाले किसानले यसको मूल्य राम्रो पाउन थालेको किसान थकालीको भनाइ छ ।
नगदे बालीको तुलनामा केही झन्झटिलो उवा र जौ खेती परम्परा जोगाउनकै लागि धानिएको छ । भरपर्दाे प्रोत्साहन नभए हराउँदै जाने देखिन्छ ।
मौसम परिवर्तनसँगै वर्षा हुन थालेपछि मुस्ताङमा फौजी कीराको प्रकोपले उवा र जौ बालीमा समेत असर पार्न थालेको किसान थकालीको बुझाइ छ । पछिल्लो समय मुस्ताङमा उवा र जौ खेती कम हुँदै गएको छ ।छ । यद्यपि यहाँका किसानले व्यावसायिक प्रयोजन भन्दा पनि घरायसी प्रयोजनकै लागि यो खेतीलाई निरन्तरता दिएका छन् ।
बुद्ध धर्मावलम्बीको बाहुल्य रहेको मुस्ताङमा धार्मिक अनुष्ठान, काजकिरिया र विभिन्न चाडपर्वमा उवा र जौको प्रयोग हुन्छ । मुस्ताङीले उवा र जौलाई भुटेर सातु बनाउँछन् भने कतिपयले छ्याङ र रक्सी तयार गर्छन् । उचाइमा उत्पादन हुने उवा र जौका परिकार स्वास्थ्यवद्र्धक, पोषिलो र स्वादिष्ट मानिन्छन् ।
पछिल्लो समय मुस्ताङमा पहिलेभन्दा थोरै उवा र जौ खेती खेती हुने गरेको घरपझोङकी किसान शान्ता थकालीले बताइन् । अरु खेतीभन्दा उवा र जौ लगाउन केही दुख र झन्झट बढी हुने भएकाले यो खेतीलाई किसानले कम प्राथमिकता दिएको उनले सुनाइन् । मुस्ताङमा रैथाने बाली संरक्षणका लागि स्थानीय तहले पहल गरेका छन् । किसानलाई रैथाने बालीको महत्व बुझाउनेदेखि तालिम, उपकरण, बिउ र औषधीमा पालिकाहरुले अनुदान दिन थालेका छन् ।
फलफूल तथा तरकारी खेतीमा मनग्ये आम्दानी हुने र उवा र जौ खेती बढी झन्झटिलो भएकै कारण यो खेतीलाई स्थानीयले कम प्राथमिकता राखेको देखिन्छ । रैथाने बाली संंरक्षण, संम्वद्धन र उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न अनुदान दिने भएकाले यो खेती पछिल्लो समय प्रविधिमैत्री बन्न थालेको छ । पहिले जमिन गोरु, झोपाले जोत्ने गरेकोमा अहिले मिनी ट्रेलरले जोत्ने गरिएको छ । उवा र जौको उपकरणकै सहायताले केस्रा छुट्याउन थालिएको छ ।
यहाँ उत्पादन हुने उवा र जौ प्रशोधन, ब्रान्डिङ प्योकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने सुविधा भएमा यो खेती बढ्ने सरोकारवालाहरु बताउँछन् । यहाँका स्थानीय तहले रैथाने बाली सरक्षणमा विभिन्न कार्यक्रम ल्याए पनि रैथाने बाली प्रर्वद्धन तथा बजारीकणमा समुचित ध्यान दिन सेकेका छैनन् । मुस्ताङमा उवाको घरेलु मदिरा धैरै अघिदेखि लोकप्रिय छ ।
पछिल्लो समय गाउँका युवा वैदेशिक रोजगारका लागि गएपछि स्याउ उत्पादनको क्षेत्र घट्दै गएको घरपझोङका अर्का किसान महेन्द्र थकालीले उल्लेख गरे । ‘पहिला पहिला मुरीका मुरी खेती हुन्थ्यो । उवा र जौ थन्क्याउन पनि महिनौ लाग्थ्यो,’ थकालीले भने, ‘अहिले उवा र जौको काममा काम गर्ने जनशक्ति पाउनै मुस्किल पर्छ । उवा र जौ व्यव्स्थापनमा सबै खर्च कटाउदा अन्तिममा केही फाइदा हुँदैन ।’
उनले सबैजसो किसान नगदे बालीतर्फ ढल्किएकाले उवा र जौ खेती हराउन सक्ने चिन्ता गरे । मुस्ताङमा उवा र जौ खेती स्याउ बगैचाभित्र अन्तरबालीको रुपमा पनि लगाउने गरिएको छ । स्याउ वगैंचामा अन्तरबालीको रुपमा उवा र जौ खेती गरी किसानले दोहोर आम्दानी लिन्छन् ।
पर्याप्त प्रविधिको पहुँच नहुँदा र जनशक्ति अभावका कारण उवा र जौ खेती संरक्षण र सम्वद्धनमा चुनौती देखिएको छ । यद्यपि घरायसी प्रयोजनका लागि अहिलेसम्म यो खेती जोगिएको हो । पछिल्लो समय ठिनी थकाली सामुदायिक होमस्टेले यहाँको रैथाने उवा र जौका विभिन्न परिकार प्रशोधन गरी बिक्री गर्दै आएको छ ।
गत वर्ष मुस्ताङमा १ सय ३० हेक्टरमा लगाएको उवा खेतीबाट २ सय ८६ टन उत्पादन भएको थियो । ४४ हेक्टर क्षेत्रफलमा लगाइएको जौ खेतीबाट ८२ टन जौ फलेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया