सेती जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

समाधान संवाददाता २०८१ असार ४ गते १५:५२

पोखरा ।
पोखरा बजारको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । सेती नदी संरक्षण अभियानका पदाधिकारीले आइतबार प्रधानमन्त्री दाहालसँग भेट गरी मानवीय दोहनले कुरुप बनेको नदीको दीर्घकालीन संरक्षणका लागि माग गरेका हुन् ।

Advertisement


अभियानका अध्यक्ष हेम पौड्यालले सेती नदीको वर्तमान दूरावस्थाबारे जानकारी गराउँदै सेती नदीको सीमांकन, नदी संरक्षण तथा व्यवस्थापनका लागि गुरुयोजनाको निर्माण, नदीमा ८ देखि १० स्थानमा चेक ड्याम निर्माण गर्न माग गरिएको जानकारी दिए । भने, ‘पवित्र सेती नदी अहिले मानवीय कारणले अत्यन्त कुरुप बन्दै गएको छ ।

सेतीमा वर्षौंदेखि हुँदै आएको नदीजन्य पदार्थको उत्खनन र किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरि तरिकाले दोहन बढेपछि नदीको सीमाङ्कन गरेका हौँ ।’


नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेको कारण बर्सातमा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको अभियन्ता पौडेलले जनाए ।

कोत्रेदेखि नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साइकलमार्ग बनाउन र नदीको दुवै किनारामा वृक्षरोपण तथा चौतारा निर्माण, नदीमा बिसर्जन भइरहेको फोहर अविलम्ब रोक लगाउनुपर्ने माग समितिको छ ।

Advertisement


सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीका बारेमा चासो राख्दै संरक्षणका लागि पहल गर्ने विश्वास दिलाए । प्रधानमन्त्रीले नदी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यवाद दिनुहुँदै सरकारले यो विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएको समितिका सदस्य भुवनेश्वर पोखरेलले सुनाए ।


अभियानको टोलीले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललाई समेत भेट गरी नदीको सीमांकन, गुरुयोजना लगायतका विषयमा छलफल गरेको छ ।

तपाईको प्रतिक्रिया