सम्पादकीय—विदेश उडान भर्न पहल आवश्यक

समाधान संवाददाता २०८१ असार ५ गते १५:१७

नेपाल सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक हिसाबले सञ्चालन गर्‍यो । विमानस्थल सञ्चालन भएको डेड वर्ष पुरा हुँदा समेत नियमित उडान हुन नसकेको अवस्थामा बंगलादेशको वायु सेवा कम्पनी एयर अष्ट्राले पोखरासम्म उडान गर्न नेपाल समक्ष प्रस्ताव गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीलाई उडान र अवतरण शुल्कमा छुटको आकर्षण दिने योजना सार्वजनिक गरेको छ । यस्तो अवस्थामा सो कम्पनीले पर्यटन शुल्क, भ्याट लगायतको विभिन्न सुविधामा छुट मागेको छ ।

Advertisement


नेपालको निजी हवाई कम्पनी बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै भारतको बनारससम्म उडान गर्ने योजना ल्यायो । जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न चासो देखाए । नेपाल सरकारले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि कुटनीतिक रुपमा पहल नगर्दा सबै प्रक्रिया रोकिएको छ ।


आन्तरिक उडानमा सिमित विमानस्थलबाट केही अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । नेपालले छिमिकी देशसँग समन्वय गर्न नसक्दा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनका लागि अगाडि बढाइएको कार्ययोजना पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अड्किदा समेत समस्या भएको छ ।

Advertisement


विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि नेपाल सरकारबाट हवाई कम्पनीहरूले अनुमति पाउनु पर्छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न नेपालले कूटनीतिक पहल थाल्नु पर्छ । पोखराबाट भारत र चीनको शहरसँग हवाई सम्पर्क कायम गर्नको लागि रुट अनुमति लिनु पर्छ । अझैपनि सरकारबाट त्यस्तो काम हुन नसक्दा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


भारतबाट हवाइ सम्पर्क कायम गर्न रुट अनुमति लिने सवालमा नेपालको तर्फबाट कुटनीतिक पहल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालका चीन भ्रमणको क्रममा भएको नेपाल– चीनबीचको १३ बुँदे संयुक्त वक्तव्यको ७ नम्बर बुँदामा दुबैपक्षबाट पोखरा एयरपोर्टसहितबाट उडान र थप हवाइ रुट बिस्तारमा सहमति जनाइएको छ । पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तक्र्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने सहमतिलाई सकारात्मक रुपमा लिन सकिन्छ ।


विमान व्यवसायिक हिसाबले सञ्चालन भएको लामो समय अवधिसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा राज्यका निकायमा दबाबमा छन् । तर अन्तर्राष्टिय उडानको लागि गर्नु पर्ने कामलाई अगाडी बढाएका छैनन् । चीनको चासो तथा सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सबै प्रक्रियालाई पुरा गर्न ढिलाई गर्नु हुन्न । अन्तर्राष्ट्रिय उडानको लागि छिमेकी देशसँग कुटनीतिक पहल थाल्नु पर्छ । नेपालले हवाई कम्पनीलाई अनुमति दिनुका साथै कुटनीतिक पहल गरे पोखराबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सक्छ ।

तपाईको प्रतिक्रिया