मेलोरी र इर्भाइन सगरमाथा चुली पुगे/पुगेनन् ?

समाधान संवाददाता २०८१ असार ६ गते ११:०१
सन् १९२४ मा खिचिएको मेलोरी र इर्भाइनसहित आरोहण दलका सदस्यको तस्बिर । स्रोतः रोयल जोग्राफिक सोसाइटी

पोखरा ।
पृथ्वीको सर्वाेच्च ठाउँ सगरमाथा चुलीमा मानव पाइला मे २९, १९५३ मा पुगेको रेकर्ड छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे चुलीमा पुग्नुभन्दा ३ दशकअघि नै सगरमाथा आरोहण अभियान थालिएको थियो । सन् १९२१, २२ र २४ मा भएका पहिला तीन वटै अभियानमा संलग्न थिए जर्ज मेलोरी ।

Advertisement


मेलोरीकै पदचाप पछ्याउँदै शिखर पुगेर फर्केपछि हिलारीले लेखेका छ, ‘मैले बेलायती दुई आरोहीलाई सम्झेँ र झिनो आशाका साथ उनीहरु चुलीमा पुगेको केही संकेत छ कि भनेर वरिपरि हेरेँ तर केही देखिनँ ।’ दर्जनभन्दा बढी असफल अभियानकै जगमा सगरमाथा आरोहणको मार्गचित्र कोरिएको थियो । २०२४ को अभियानमा ८ हजार ६ सय मिटरसम्म पुगेका मेलोरी र इर्भाइन जुन ८ बाट बेपत्ता थिए ।


त्यही अभियानका तस्बिरहरु ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् । सगरमाथा नामकरण गर्ने जर्ज एभरेष्टदेखि २०२४ को आरोहणका तस्बिरहरु आगन्तुकले बडो उत्सुकताका साथ हेरिहेका छन् । मेलोरी र इर्बाइनले उत्तरी मोहडाबाट जुन ६ मा आरोहण थालेका थिए । जुन ८ को बिहान अन्तिम पटक सहयात्री ओडेलले उनीहरुलाई शिखर नजिकै ८ हजार ६ सय मिटरतिर देखेका थिए । उनीहरु शिखरमा पुगेर फर्किने क्रममा मृत्यु भयो कि नपुग्दै ज्यान गयो अझै यकीन भएको छैन ।

Advertisement


सन् १९९९ मा सगरमाथा अमेरिकी आरोही कनरड एन्करले म्यालरीको कंकाल ८ हजार १ सय ५० मिटरमा भेट्टाए । तर उनहिरुले सगरमाथा आरोहण गरेको प्रमाणित हुने केही त्यहाँ पाइएन । मेलोरीकी श्रीमती क्रिस्टिना रुथ टर्नरको तस्बिरसमेत भेटिएन । जुन तस्बिर मेलोरीले सगरमाथा चुलीमा राख्ने प्रतिवद्धतासहित साथमा लिएर गएका थिए । सन् १९३३ मा इर्भाइनको आइस एक्स पत्ता लागेको थियो ।

चुलीमा श्रीमतीको तस्बिर राख्ने वाचा गरेका मेलोरी र उनका साथी इर्भाइन टाकुरामा पुगे कि बाटैमा मृत्यु भयो, अझै रहस्य नै छ

Advertisement


पहिला दुई आरोहण अभियानको लक्ष्य चुली पुग्ने बाटो पत्ता लगाउनु थियो । १९२४ को अभियानचाहिँ शिखर चुम्ने आकांक्षासहितको थियो । चुलीको नजिकै, सम्भवतः चुलीमै पुगेर हराएका आरोहीको कथा सुन्दै हुर्किएका जोन पिटर आफैं पनि पर्वतारोही बने । उनले सन् १९८० मा सगरमाथा आरोहण गरे ।


१९२४ को चर्चित आरोहण प्रयासलाई उनले तस्बिरहरु र वृत्तचित्रमा अभिलेखीकरण गरेका छन् । ‘एभरेस्ट रिभिजिटेड १९२४’ वृत्तचित्र मेलोरी र इर्भाइनको आरोहण र पर्वतारोहीका अनुभव समेटेर तयार गरिएको हो । फोटो प्रदर्शनीकै क्रममा देखाइएको यो वृत्तचित्र १ वर्षपछि सङ्ग्रहालयलाई सधैका लागि हस्तान्तरण गर्ने पिटरको वाचा छ ।


‘त्यो हिम्मत, त्यो कथालाई बिर्सनुहुँदैन भन्ने लागेर फोटो र वृत्तचित्रमा राख्ने प्रयास गरेका हौं,’ पोर्टरले भने । सगरमाथा आरोहणका क्रममा धेरैले ज्यान गुमाएका छन् । यस वर्षमात्र ९ जनाले ज्यान गुमाए । यही जेठमा पोखराकै सगरमाथा आरोही विनोदबाबु बस्ताकोटीलाई गुमाएका पोखरेलीले गहिरो चाख र विस्मयका साथ अभियानका तस्बिर र वृत्तचित्र हेरेका छन् ।


सगरमाथा आरोहणको चर्चित अभियानका तस्बिर र वृत्तचित्रले आफू पनि निकै भावुक बनाएको संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने सुनाइन् । ‘संग्रहालयमा सगरमाथा आरोहणको पृष्ठभूमि बुझाउने बहुमूल्य चिज थपिएका छन्, आगन्तुकले निकै उत्सुकताकासाथ अवलोकन गरिरहेका छन्,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया