लेखनाथ ।
गण्डकी प्रदेश सरकारले कास्कीको लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर बिर्सजन मेसिन जडान गरेको छ । गण्डकी प्रदेशमा पहिलो पटक १ करोड ३७ लाख खर्चेर सेडर स्टेलाइजिङ मेसिन ल्याइएको हो ।
हस्पिटलबाट निस्कने सबै खालको फोहोरलाई मेसिनमा राखेर रोगका किटाणु पूर्ण रुपमा निर्मलीकरण गरी कम तौल र सानो साइजमा यो मेसिनले निकाल्नेछ । यो मेसिनको सेवा मंगलबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सुरुआत गरे । उनले स्वास्थ्यको पहुँच सबै जनतासम्म पुग्नुपर्छ भन्ने मान्यताले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट चाहिने जनाए ।
संघीय सरकारदेखि प्रदेश सरकारमा आफूले यो कुरा जोडदारसँग राखेको उनले उल्लेख गरे । आर्थिक अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मान्यताले यस हस्पिटलबाट स्वास्थ्य बिमाको सुविधा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा फुल फेजमा हस्पिटल सञ्चालन गर्ने सोच गण्डकी प्रदेशको रहेको उनले सुनाए ।
अस्पतालमा कार्यरत सबै करारका कर्मचारीको साउ पहिलो हप्तामा नै म्याद थप गरिने भएकाले निर्धक्क भई काम गर्न उनले आग्रह गरे । स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु थापाले स्वास्थ्य क्षेत्रमा राज्यको ठूलो लगानी रहेकाले यसको उचित उपयोग गर्नुपर्नेमा जोड दिए । संक्रामक अस्पताललाई नमुना बनाउन सबैको साथ, सहयोग चाहिने उनले जनाए ।
स्पतालका कार्यकारी निर्देशक विकास गौचनले दाताहरुको सहयोगबाट निर्माण भएको अस्पतालले छोटो समयमा ५० बेडमा सेवा विस्तार गरी २४ सौ घण्टा सेवा दिँदै आएको जनाए । अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले आर्थिक रुपमा सबल बनाउने उपाय खोजी भइरहेको जनाए ।
भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।
तपाईको प्रतिक्रिया