‘मनोरञ्जन क्षेत्रमा युनियन आवश्यक’
पोखरा ।
ट्रेड युनियनकर्मीहरुले समग्र मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकको समस्या समाधान गर्न युनियन गठन गर्न माग गरेका छन् । युनियन गठन नहुँदासम्मको अवधिमा समेत श्रम ऐन र योगदानमा आधारित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न उनीहरुको प्रस्ताव छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले मनोरञ्जन क्षेत्र श्रमिकलाई संगठित गर्ने सवालमा कमजोर भएको बताए । शक्ति समूह काठमाडौं, महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको सामाजिक, आर्थिक र तथा श्रम ऐन कार्यान्वयनका लागि ट्रेड युनियन र रोजगारदातासँग मंगलबार गरेको अन्तक्र्रियामा अध्यक्ष खत्रीले मनोरञ्जन क्षेत्र व्यापक भएकाले श्रमको समस्या समाधान गर्न युनियन आवश्यक भएको जानकारी दिए । उनले मनोरञ्जन क्षेत्रको श्रम समस्यालाई समाधान गर्न सहकार्य गर्ने बताए ।
‘मनोरञ्जन क्षेत्र राणा शासन जस्तो कडा छ । श्रमिकको पक्षमा काम गर्ने युनियन छैन,’ उनले भने, ‘युनियन बन्न नसकेको अहिलेको अवस्थामा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गरे पुग्छ ।’ उनले धेरै पटक प्रयास गर्दासमेत मनोरञ्जन क्षेत्रमा युनियन गठन गर्न नसकेको उल्लेख गरे । अध्यक्ष खत्रीले ट्रेड युनियनसँगको समन्वयमा मनोरञ्जन क्षेत्रको अनुगमन गर्न माग गरे ।
डान्सबार, दोहोरीसाँझ, मसाज र स्पा, क्याबिन रेस्टुरेन्ट र खाजाघर लगायत मनोरञ्जन क्षेत्रमा श्रम ऐनको कार्यान्वयन कमजोर
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले सयुक्त ट्रेड युनियन समन्वय केन्द्रको समन्वयमा मात्र श्रम क्षेत्रको समस्या हल गर्न सकिने बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको सामाजिक, आर्थिक र श्रम ऐन कार्यान्वयनको अवस्थालाई केन्द्रीत सर्वेक्षणले सो क्षेत्रको वास्तविक समस्या पहिचान भएको जानकारी दिँदै उनले अब सबै मिलेर समाधानका उपाय खोज्न प्रस्ताव गरे । आन्दोलन, हडताल र दबाव विना श्रम क्षेत्रको समस्या हल नभएको उदाहरण पेश गर्दै अध्यक्ष गौतमले सयुक्त रुपमा प्रयत्न गर्न आग्रह गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका महासचिव घनश्याम रेग्मीले श्रम ऐनमा व्यवस्था भएको श्रम ऐनलाई व्यवस्थित गर्न नसकेको जानकारी दिए । उनले मनोरञ्जन क्षेत्रमा भई रहेको नीति नियमलाई प्रभावकारी रुममा कार्यान्वयन गर्न माग गरे । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटाले ट्रेड युनियनहरुको आन्दोलनले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको बताए । उनले मनोरञ्जन क्षेत्रमा श्रम ऐन कार्यान्वयन गर्न ट्रेड युनियनकर्मीको भूमिका हुने उल्लेख गरे ।
शक्ति समूह काठमाडौंका प्रशासकीय प्रमुख सुशीला खकुरेलले डान्सबार, दोहोरीसाँझ, मसाज र स्पा, क्याबिन रेष्टुरेन्ट र खाजाघर लगायत मनोरञ्जन क्षेत्रमा श्रम ऐनको कार्यान्वयन अवस्था कमजोर रहेको जानकारी दिइन् । मनोरञ्जन क्षेत्रमा ६ प्रतिशत कामदारले लिखित सम्झौता गरेर काम गरेका छन् । श्रम क्षेत्रका ४५ प्रतिशत कामदारले अज्ञानताको कारण लिखित सम्झौता गरेको उनले उल्लेख गरिन् ।
३० प्रतिशतले रोजगारदाताको अनिच्छाको कारण लिखित सम्झौता गर्न नपाएको जानकारी दिदै उनले २ प्रतिशतको नागरिकता प्रमाणपत्र नभएको कारण रोजगारीको लागि लिखित सम्झौता हुन नसकेको बताइन् । उनले औपचारिक रुपमा श्रम सम्झौता गर्न रोजगारदातालाई आग्रह गरिन् । न्यूनतम पारिश्रमिक र लाभको सुनिश्चिता गर्न माग गर्दै उनले युनियनसँग श्रमिकलाई जोड्नको लागि पहल गर्न अनुरोध गरिन् ।
शक्ति समूह काठमाडौका संस्थापक सदस्य चरिमाया तामाङले मनोरञ्जन क्षेत्रमा श्रम ऐन कार्यान्वयनका लागि नागरिक स्तरको दबाव आवश्यक भएको बताइन् । महिलाका निम्ति महिला मञ्च नेपालका कार्यक्रम अधिकृत वर्षा लुइँटेल, शक्ति समूह गण्डकी प्रदेश संयोजक सरिता पौडेलले लगायतले मनोरञ्जन क्षेत्रका श्रमिकका समस्या समाधान गर्न युनियनको भूमिका हुने बताए ।
तपाईको प्रतिक्रिया