सम्पादकीय—सुस्त कामले सकसपूर्ण यात्रा

समाधान संवाददाता २०८१ असार ६ गते ११:४२

संघदेखि स्थानीय तहसम्मको खर्च गर्ने क्षमता कमजोर छ । अहिले संघ र प्रदेशका बजेट आइसकेका छन्, स्थानीय तहरु बजेट बनाउँदै छन् । चालु आर्थिक वर्षको अन्तिम महिनाका तीन सातामात्र बाँकी रहँदा सबै सरकारको खर्च गर्ने क्षमता कमजोर देखिएको छ । यो मानेमा प्रदेश सरकारहरु अझ कमजोर देखिएका छन् । संस्थागत संयन्त्र बनाएर कार्य प्रणाली र योजना कार्यान्वयन नसुधार्ने हो भने प्रदेश प्रतिको आक्रोश अझ बढ्ने निश्चित छ ।

Advertisement

अहिले मुलुकका मुख्य राजमार्गको अवस्था हेर्ने हो कहालीलाग्दो छ । चाहे त्यो पूर्व–पश्चिम राजमार्ग होस्, चाहे पृथ्वी राजमार्ग होस् । सबै राष्ट्रिय राजमार्गको हालत दयनीय छ । नेपालमा तोकिएको समयमा सडक निर्माण नहुने महारोग जस्तै बनेको छ । सत्ता र शक्तिको आडमा ठेक्का लिने र दिने परिपाटीले समयमा नै सडक निर्माण नहुने भएकाले लाखौं यात्रु मारमा पर्ने गरेका छन् । यात्रीमात्र होइन, सवारीसाधन समेत खराब सडकका कारण बिग्रिने जोखिम छ ।


यसका कारण राज्यले हरेक वर्ष अर्बौं रुपियाँ छिमेकी मुलुकलाई विभिन्न बहानामा बुझाउनेपर्ने बाध्यता छ । सडक निर्माण तथा पुनर्निर्माणका कारण मुलुकको राष्ट्रिय आयमासमेत प्रभाव परेको छ । खराब सडकका कारण मानव स्वास्थ्यमा समेत त्यसले नराम्रो प्रभाव पारेको छ । तर यसतर्फ न राज्यको ध्यान जान सकेको छ, न सरोकारवाला निकायको नै ध्यान जान सकेको छ । देशैभरका मुख्य तथा सहायक राजमार्ग निर्माणको लागि ठेक्का लागेको भए पनि कतिपय ठाउँमा मुआब्जा विवादका कारण सडक निर्माण हुन सकेको छैन भने कतिपय सडक ठेकेदारका लापरबाहीको कारण गति धिमा छ । यसको मार यात्रु र उपभोक्ताले व्यहोर्नुपरेको छ ।

Advertisement


पछिल्लो समय नेपालले ठूला सडक निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गर्ने गरेको छ । त्यस्ता टेन्डरमा दुई छिमेकी मुलुकका ठेकेदारहरुले प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ । यी दुवै मुलुकका ठेकेदारले नेपालमा ठूला आयोजना ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति बढ्दो छ । भारत र चीनका ठेकेदार कम्पनीले नेपालमा सडक निर्माणदेखि ठूला आयोजनामा ठेक्का हाल्ने तर काम नगर्ने प्रवृत्तिका कारण उनीहरु बदनाम भइसकेका छन् । राज्यले त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याउन नसक्दा उनीहरुमा अराजकता बढ्दै गएको छ । राज्य कमजोर भएको फाइदा त्यस्ता ठेकेदार कम्पनीले उठाउने गरेको पाइन्छ ।

पोखरा आउने पृथ्वीराजमार्ग स्तरोन्नति नै कछुवा गतिमा छ । महानगरमै तालचोकदेखि बेगनासम्मको सडक स्तरोन्नतिका काम अहिले अलपत्र जस्तै छ । आधासम्म रकम घटेर ठेक्का लिने र पछि काम नगर्ने प्रवृत्ति जताततै देखिन्छ । सँगसँगै योजना कार्यान्वयन हुने चरणमा जाँदा पनि सडकको मापदण्डमा अनेक विवाद र झमेला नसकिनुले पनि काम ढिलो बनाएको छ । समस्या र बाहाना जेसुकै हुन सक्छन्, तर साह्रै सुस्त हुने सडकका कामले यात्रु र स्थानीयलाई निकै सकस दिन्छ । वर्षा याममा यो सकसको पारो अझ उच्च हुन्छ ।

तपाईको प्रतिक्रिया