अबको विचारधाराः राअलवाद

डा सञ्जय कोइराला २०८१ असार ६ गते १२:१५

‘कसैलाई समाजमा आफ्नो स्थान थाहा नहोस्, आफ्नो वर्ग थाहा नहोस, आफ्नो सामाजिक हैसियत थाहा नहोस्, प्राकृतिक सम्पत्ति, कला, गुण या सामथ्र्य सरहको वितरणमा आफ्नो भाग्य थाहा नहोस्, म अझै चाहन्छु कि कुनै पनि पार्टीलाई आफ्नो हित या प्रवृत्ति पनि थाहा नहोस् । न्यायका सिद्दान्तहरु अज्ञानताको पर्दा पछाडि रहेर प्रतिपादन गरियोस !’

Advertisement


जोन राअल (सन् १९२१–२००२) को न्यायका सिद्धान्त नामक पुस्तकका यी हरफ हुन् । समकालीन राजनीतिक विचारधारामध्ये राजनीतिमा एक उच्च आदर्शको सुरुवात गर्न सामथ्र्य राख्ने एउटा वाद थियो । भौतिकवाद चरमोत्कर्षमा रहेको तत्कालीन समाज माक्र्सको साम्यवाद या स्मिथको पुँजीवादको द्वन्द्वमा यसरी अल्झियो कि अन्य विचारधारा पूर्णतया ओझेलमै रहन पुगे ।


शीतयुद्धकालीन विश्व २ ध्रुवमा विभाजित थियो र दुबैको ध्येय आ–आफ्नो वर्चस्व कायम गर्नु थियो । जुन नितान्त भौतिक विकासमा केन्द्रित थियो । अमेरिकी पुँजीवादको छत्रछाँयामा विश्वले विकास पनि तीव्र गतिमा नै गरिरहेको सन्दर्भमा अन्य वादको औचित्य पुष्टि गर्न उति बेला सम्भव पनि थिएन । प्रकृतिलाई आफ्नो बिर्ता सम्झिएको मानव समाज सम्भव भएसम्म नै प्रकृतिको दोहन गरी आफ्नो मात्रै प्रजातिको प्रगतिमा पूर्ण रुपले मनमगन थियो । उसलाई आफ्नै भावी पुस्ताको पनि कुनै ख्याल थिएन ।

Advertisement


यस्तोमा कसैले सामाजिक न्यायका लागि न्याय गर्ने ओहदामा पुगेकाहरुले आफूलाई अज्ञानताको पर्दामा राखेर एउटा यस्तो समाजको कल्पना गर्न लगाउँछ कि उसलाई कुनै पनि शक्ति, पद या खुबी बिनाको समाजमा ऊ आफैं उभिएको भए के गर्दा न्याय हुन्थ्यो, त्यही गर्नु पर्छ भन्ने कल्पना गर्ने मुस्किल विचारधारा लिएर आउँछ ।

यो सोचाइमै त बिल्कुलै असहज विचारधारालाई तत्कालीन ध्रुविकृत मानसिकताले सहजै लिने कुरा पनि थिएन । माक्र्सवाद या साम्यवादी आँखाहरुले यसलाई आ–आफ्नै चस्माले हेरेर क्षणभरमै नजरअन्दाज गरिदिए । फलतः रावलवाद राजनैतिक दर्शनहरुको थुप्रोमा कहिँ हराउन पुग्यो । सायदै कसैले यसमा गहिरिएर विचार गरेका होलान् !

मानिसको जीवन सिनेमाको पर्दासरह हुँदै गएको छ–देखावटी । यस्तोमा राअलवादी चिन्तन भौतिक र आध्यात्मिक दर्शनको मध्यबिन्दु हुन सक्छ ।


अध्यात्म र राजनीतिको अन्योन्याश्रित सम्बन्ध भईकन पनि वर्तमानमा यी दुई बिचको खाडल गहिरिंदै गइरहेको छ । पुँजीवाद या साम्यवाद दुवै विचारधारा नितान्त भौतिकतामै सीमित छन् । राज्यको विकासका लागि आर्थिक विकासको जग बसाल्न साम्यवादको तुलनामा पुँजीवाद बढी सफल देखिएको हुँदा साम्यवादकै जननी राष्ट्र रुस लगायत चीनले पनि अहिले कुनै न कुनै रुपमा पुँजीवादलाई नै अपनाएका छन् ।


साम्यवादको संरक्षक मानिएको चीनले पनि साम्यवादी माओवादको भुमरीबाट आफूलाई निकालेर देन जओपिङको नेतृत्वमा खुला अर्थनीति अपनाएको जगजाहेर छ । सन् १९९० मा सोभियत संघको विघतनसँगै पुँजीवाद र साम्यवादको युद्धमा पुँजीवादको विजयसँगै बिश्व पुँजीवादको छत्र छायाँमा भौतिक विकासको चरमोत्कर्षमा छ । अहिले मानिसले गर्न नसक्ने काम संसारमै दुर्लभ छ भन्ने भाष्य मानव जगतमा व्याप्त छ ।


भौतिक विकासमा रमाईरहेको मानिस अहिले आएर भने केही रनभुल्लमा छ । विकासको अन्तिम ध्येय के हो त ? सहज, परिश्रममुक्त भौतिक सुख सयल या शारीरिक परिश्रमसँगै मानसिक र आत्मिक सन्तुष्टि ? यस्तो अवस्थामा भौतिक विकासको समुचित उपयोगका लागि आध्यात्मिक चिन्तनको चरम आवश्यकता रहने मेरो बुझाई छ । २१ औं शताब्दीको मानवीय समाजले भौतिक रुपमा चरम विकास गरे पनि आध्यात्मिक रुपमा मानिस विक्षिप्त छ । मानिसको जीवन सिनेमाको पर्दासरह हुँदै गएको छ–देखावटी ।


यस्तोमा राअलवादी चिन्तन भौतिक र आध्यात्मिक दर्शनको मध्यबिन्दु हुन सक्ने मैले देखेको छु । राअलवादी चिन्तनले मानिसलाई यस्तो अवस्थमा आफूलाई उभ्याउन कोसिस गर्दछ, जहाँबाट मानिसले भौतिक संसारमा आफूलाई आध्यात्मिक ऊर्जाले अघि बढाउन कोशिस गर्ने छ । यो यस्तो डुंगा बन्नेछ जसले मानिसलाई भौतिकवादी समुद्रबाट किनारामा पुर्‍याउने छ ।


सम्झौतावादी चिन्तनको एउटा रुपको वर्गमा ब्याख्या गर्न खोजिएको यस अज्ञानताको पर्दा बिषयक राअलवादी चिन्तनको मूल स्थिति सम्झौतावादी चिन्तनको प्राकृतिक अवस्था भन्दा पृथक रहेको छ । राअलवादी मुल स्थितिमा मानिसको प्राकृतिक अवस्थालाई कुनै पनि गुणको आधारमा वर्गीकरण गरिएको छैन । उक्त अवस्थामा मानिसको कस्तो चरित्र हुन्छ भन्ने कुनै जिकिर राअलवादमा छैन र आवश्यक पनि हँुदैन । उक्त स्थितिमा आफू या आफ्नो पार्टी रहेको अवस्थामा के गर्दा आफूलाई न्याय हुन्छ, त्यही गर्न सुझाएका राअलले सामाजिक असमानताका लागि पनि उपयुक्त कारण खुलाएका छन् ।


राज्यका हरेक पक्षमा आफ्नो वर्ग, लिंग, जात धर्म या आर्थिक, राजनैतिक झुकाव बिना सबैको पहुँच हुनुपर्छ तर समान अवसर पाउँदा पाउँदै पनि विभिन्न कारणवश हुने असमानताको दूरी मेटाउन राज्यलाइ विभेदकारी नियमहरु लगाउन छुट दिएका राअलले अज्ञानताको पर्दालाइ नै बढी केन्द्रमा राखेका छन् । मूल स्थिति भनेर उनले राखेको ही अवस्थामा पुग्न सक्ने चिन्तकहरु आजको आवश्यकता हो । यो अवस्थामा पुग्न राजनीतिक चेतनासँगै आध्यात्मिक चिन्तनको पनि आवश्यकता छ ।


जो कोहीले सहजै बुझ्न मुस्किल रहेको यो विचारधारलाई बुझेर आत्मसात गरी आफैंले आफैंलाई अज्ञानताको पर्दामा राखेर सोच्न सक्ने आध्यात्मिक दार्शनिकले मात्रै अबको विश्वलाई सही दिशामा अघि बढाउन सक्नेछन् । धार्मिक ध्रविकरणको जोखिम बढिरहेको वर्तमान राजनैतिक परिवेशमा मानिसलाई सही किनारामा पुर्‍याउन एउटा नाउको आवश्यकता छ, जुन राअलवाद बन्न सक्छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया