प्रदेश स्तरीय हक्की प्रतियोगिताको तयारी पूरा

समाधान संवाददाता २०८१ असार ६ गते १२:५२

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पूरा भएको छ ।

Advertisement


भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले जानकारी दिए ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।

Advertisement

प्रतियोगिताको विजेताले २० हजार, उप विजेताले १५ हजार र सह विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिएका छन् ।


आवश्यक न्यूनतम भौतिक पूर्वाधार विना नै परिषदले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान सुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए । पहिलो संस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए ।

तपाईको प्रतिक्रिया