स्वयंसेवकलाई विपद् व्यवस्थापन तालिम
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा १ बगरले स्वयंसेवकका लागि विपद् व्यवस्थापन, पूर्व तयारी तथा प्रतिकार्य तालिम दिएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ बगर सहकार्य तथा पोखरा महानगरपालिका वडा नम्बर १ को सहयोगमा भएको २ दिने तालिममा ४४ जनाको सहभागिता छ ।
तालिममा नेपाल रेडक्रस सोसाइटी कास्की विपद् व्यवस्थापन शाखाका प्रमुख नवराज भण्डारी र प्रशिक्षक सुनीता पौडेलले विपद्को चक्र र पूर्वतयारी, विपद्सम्बन्धी राज्यको नीतिगत व्यवस्था, बाढी पहिरो लगायत विषयमा सहजीकरण गरे । पोखरा महानगरपालिका वडा नं. १ का अध्यक्ष सहारा प्रधानले मनसुनी वर्षातसँगै प्राकृतिक प्रकोपको डर हुने भएकाले पूर्व सतर्कता अपाउन तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल रेडक्रस सोसाइटी पोखरा १ उपशाखा सभापति जीवन अधिकारी, उपसचिव कल्पना आचार्य, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सल्लाहकार रामभूषण पराजुली, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटा, भीमकाली मार्ग साझेदारी टोल विकास संस्थाका अध्यक्ष उमा शाही, शान्ति टोल विकास संस्थाका अध्यक्ष विजय शाही लगायतले विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने पूर्वतयारीका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया