विश्व संगीत दिवसमा लोक गायन

पोखरा ।
विद्यालय स्तरमा लोकगीतका गतिविधिलाई पुर्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले शुक्रबार विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता गरेको छ ।
विश्व संगीत दिवसको सन्दर्भमा शान्ति निकेतन स्कुल पोखरा ५ पस्र्याङको व्यवस्थापनमा भएको प्रतियोगितामा कास्कीका १७ विद्यालयका १९ विद्यार्थीले भाग लिएको प्रतिष्ठानका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन् । प्रतियोगितामा अमरसिंह मावि रामघाटका केशव उपाध्याय प्रथम र राष्ट्रिय मावि टुंडिखेलका विजय विक द्वितीय भए ।
प्रतियोगितामा शान्ति निकेतन स्कुलका कृष्टिना खड्का तृतीय भएकी छन् । बालमन्दिर मावि नदिपुरकी राजकुमारी गहतराजले सान्त्वना पुरस्कार पाइन् ।
प्रतियोगितातर्फ उत्कृष्ट स्वर प्रस्तुतिमा विन्ध्यवासिनी माविका विपिन गायक, जनजागृति माविका मनिषा परियार, धौलागिरी माविका प्रतिक गायक र सरस्वति आदर्श विद्याश्रम लामाचौरका लक्ष्मण छन्त्यालले पुरस्कार पाएका छन् ।
प्रतिष्ठानका अध्यक्ष क्षत्रीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र प्रोत्साहन पुरस्कार क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार र १/१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र दिइएको छ ।
प्रतियोगिताको प्रमुख निर्णायकमा प्रतिष्ठानका पूर्व अध्यक्ष तारापति सुवेदी र निर्णायकमा केन्द्रीय सदस्य पार्वती जिसी, पूर्व अध्यक्ष टेक क्षत्री थिए ।
समावसेवी तथा राजनीतिज्ञ रोशनी बर्देवाले उद्घाटन गरेको समारोहमा प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले केही कलाकारले सस्तो लोकप्रियताको लागि घीनलाग्दो प्रस्तुति राखेको आरोप लगाए ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानले भजन प्रतियोगिता गर्दै हिडेकोले विकृति त्यहाँबाट सुरु भएको बताए । उनले पदमा हुनेले भोटको लोभले गलतलाई गलत भन्न डराएको कारण विकृति आएको टिप्पणी गरे । प्रतिष्ठान नेपालका सल्लाहकार शान्ति गुरुङले गाउने बजाउने र नाच्नेको त्रिवेणी मिलेर संगीत बन्ने जानकारी दिइन् ।
कार्यक्रममा प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहाल, सचिवहरु शंकरविरही गुरुङ, र घनश्याम रिजाल, शान्ति निकेतन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्तेल, सहप्राचार्य यदुविलास भुर्तेल, प्रतिष्ठान नेपाल कास्कीका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, प्रमुख सल्लाहकार सोमनाथ बास्तोला, कार्यवाहक सचिव सुनील गायक, कार्यक्रम संयोजक सुरेश थापा, सहसंयोजक कृष्ण भट्टराई लगायतले विश्व संगीत दिवसका बारेमा बोलेका थिए ।
विश्व संगीत दिवसको सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले खुला मादल बादन प्रतियोगिता गरेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्य र पोखरा संगीत समूहको सह आयोजना भएको प्रतियोगितामा १६ मादल वाद्यकको सहभागिता थियो ।
प्रतियोगितामा विमल गायक प्रथम, समीर पुन द्वितीय र प्रविण कान्छा तृतीय भए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको प्रतिष्ठान नेपाल गण्डकीका सचिव रामजी पौडेलले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा दीलिप गायक र गुप्त गुरुङ थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमममा प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, संरक्षक यम गुरुङ, प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष दिलु लामा, सचिव रामजी पौडेलले प्रतियोगिताका बारेका बोलेका थिए ।
तपाईको प्रतिक्रिया