बजेटको आधा त एउटै वडाबाट माग आउँछः मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८१ असार ९ गते ११:२७

गण्डकी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको निर्वाचन पद्धतिले कसैको बहुमत नआउने उल्लेख गर्दै त्यसमा परिवर्तन जरुरी भएको औँल्याएका छन् ।

Advertisement

संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन पद्धतिसहित सोचमा पनि परिवर्तन जरुरी भएको उल्लेख गरे । ‘यो निर्वाचन पद्धतिले कसैको बहुमत आउँदैन, कतै न कतै करेक्सन जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सिस्टममात्र सुधारेर नपुग्ने हो कि चिन्तन पनि जरुरी छ ।’


मुख्यमन्त्री पाण्डेले बजेटको माग र आकारमा ठूलो अन्तर रहेको बताए । ‘एउटै वडाबाट साढे ६ अर्बका आयोजना माग भएको देखियो, हाम्रो पूर्वाधारको कुल बजेट नै १२ अर्बको छ । सरकारको समीकरणअनुसार योजना, बजेट विनियोजन गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

Advertisement


मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पुर्‍याइएको जानकारी दिए । ‘समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु,’ उनले भने ।

पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिंगो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्ने बताए ।

Advertisement


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याए । राजनीतिक दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुनसकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उनको विश्वास थियो ।


नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्ने आवश्यकता औंल्याइन् । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिए ।

पत्रकार रामजी दाहाल, पूर्वप्रदेशसभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रवीण ढकाल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गरेका छन् । तालिममा पोखरामा संसदीय समाचार संकलन गर्दै आएका करिव ५० जना पत्रकारको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया