तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना

समाधान संवाददाता २०८१ असार ९ गते १६:५५

पोखरा ।
युनाइटेड क्लबको आयोजनामा तनाव व्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना प्रशिक्षण तथा सचेतना कार्यक्रम भएको छ ।

Advertisement

क्लबका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लबलाई सहयोग गर्ने विभिन्न आमा समूह, महिला समूहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव व्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।


योगी विकासानन्दले नकारात्मक विचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो विचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक विचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोचलाई हटाएर सकारात्मकतातर्फ सबैले जोड दिनुपर्ने उनको भनाइ थियो ।


अर्का प्रशिक्षक डाक्टर क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डाक्टर दीपेन्द्रमान श्रेष्ठले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर बढ्दो मात्रामा रहेकाले त्यस तर्फ महिला दिदीबहिनीहरु सचेत हुन आवश्यक रहेको बताए ।

महिलाहरुले आफ्ना समस्यालाई चिकित्सक समक्ष प्रष्ट राख्न हिच्किच्याउने भएका कारण महिलाहरुमा पाठेघरको क्यान्सर देखा पर्दा समेत रोग लुकाएर राख्ने प्रचलन पछिल्लो समय देखिएको उनको भनाइ थियो ।

Advertisement


श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कोषाध्यक्ष जयन्तकुमार राजभण्डारी, माछापुच्छ्रे महिला समूहकी अध्यक्ष जूनामाया बोहोराले तालिमको आयोजनाका लागि युनाइटेड क्लबलाई धन्यवाद दिए ।


युनाइटेड क्लबले डाक्टर योगी विकासानन्दले पोखरामा स्थापना गर्न लागेको आश्रमका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेको थियो । एनिमल लभर गु्रप पोखराले युनाइटेड क्लबलाई पोखरा १० भित्र सडकमा आश्रित जनावरहरुलाई लक्ष्य गरी खाना र पानी वितरण गर्न ४ वटा भाँडासमेत प्रदान गरेको थियो ।

एनिमल लभर गु्रपकी सदस्य बिना बज्राचार्यले आफूहरुले लामो समयदेखि पोखरामा सडकमा आश्रित जनावरहरुलाई लक्ष्य गरी खाना र पानीहरु वितरण गर्दै आइरहेको बताइन् ।


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक कामसँगै हरेक वर्ष विभिन्न प्रशिक्षाणात्मक कार्यक्रम गर्दै आइरहेको सुनाए । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा ४ सयको सहभागिता थियो ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रम संयोजन क्लबका सहकोषाध्यक्ष सीमा गुरुङले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया