‘स्व’ को पोखरामा गृहविमोचन

समाधान संवाददाता २०८१ असार ९ गते १७:०३

पोखरा ।
साहित्यकार सरस्वती प्रतिक्षाको उपन्यास ‘स्व’ को गृहविमोचन गरिएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठले ‘स्व’ को गृह विमोचन गरेका हुन् ।

Advertisement


पुस्तकको विमोचन गर्दै श्रेष्ठले पोखराबाट पाठकमाझ अब्बल पुस्तक आएको बताए । बौद्धिकताको फराकिलो बाटोबाट उपन्यास लेखिएको उनको भनाइ छ । ‘नेपाली आख्यानमा स्वको उपस्थिति दरिलो छ’, श्रेष्ठले भने ।


लेखन गनेस पौडेल र साहित्यकार रिता अधिकारीले पुस्तकको परिचर्चा गरेका थिए । कलाकार अनुप बराल र दिया मास्केले उपन्यासको अंश वाचन गरे ।


पोखरेली युवा साँस्कृतिक परिवारले ‘स्व’ को गृह विमोचनको चाँजोपाजो मिलाएको हो । गत हप्ताको शनिबार पुस्तकको काठमाडौंमा विमोचन भएको थियो ।


सात वर्षअघि प्रतिक्षाले ‘नथिया’ उपन्यास लेखेकी थिइन् । पाठक र समीक्षकको प्रतिक्रियाले हौसिएकी उनको यो दोस्रो उपन्यास हो ।

Advertisement


समाज, दर्शन र चिन्तनलाई पुस्तकमा समेटेको सरस्वती प्रतिक्षाको भनाइ छ । बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेखेको उनले बताइन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘स्व’ २९६ पृष्ठ लामो छ ।

तपाईको प्रतिक्रिया