यातायात मजदुरको स्वास्थ्य जाँच

समाधान संवाददाता २०८१ असार ९ गते १७:०५

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले यातायात मजदुरलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको छ । संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भमा संगठन गण्डकी प्रदेश कमिटीले शनिबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

Advertisement


स्थानीय चरक मेमोरियल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा २ सय ४५ जना यातायात मजदुरको सुगर र प्रेसर परीक्षण गरिएको संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १ सय ३८ मजदुरको आँखा जाँचसमेत गरिएको छ ।


नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक जनकबहादुर शाहीले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको सवालमा यातायात मजदुरसँग सहकार्य गर्ने बताए ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले जिफन्टको संस्थापक घटक युनियन संगठनले स्थापना दिवसमा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आएको उल्लेख गरे । संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष केसीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको सवाललाई संगठनले प्रमुख एजेन्डा बनाएको जानकारी दिए ।


सामाजिक सुरक्षा ऐनको चौथो पटक संशोधन भएपछि बनेको कार्यविधिले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत समेटेको उल्लेख गर्दै उनले अनौपचारिक क्षेत्रमा यातायात मजदुर पर्ने बताए ।

Advertisement

कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिंह गुरुङ, संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुली, पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, पोखरेली ट्याक्सी प्रालिका सञ्चालक मदन सुनार, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकीका अध्यक्ष वलराम सापकोटा, यातायात स्वतन्त्र गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बाबुराम राना, सचिव नारायण रिमाल लगायतले यातायात क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया