पोखरामा ‘पोडवे’ सञ्चालनको सोच
पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने
पोखरा ।
पोखरा महानगरपालिकाले ‘समुन्नत पर्यटकीय पोखरा’ दीर्घकालीन सोच ‘समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पूर्वाधार’ अंगिकार गर्दै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
विद्युतीय माध्यमको प्रयोग गरी घरबाटै राजस्व दाखिला, बिजनेस इन्क्युबेसन सेन्टर स्थापना, आगामी वर्ष पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याइएको छ । महानगरपालिकाबाट हालै सम्पन्न घरघुरी सर्वेक्षणको आधारमा पहिचान भएका गरिबीको रेखामुनि रहेका नागरिकहरुको स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निशुल्क गर्ने योजना महानगरको छ ।
मेयर धनराज आचार्यले पर्यटनलाई प्रथामिकता दिँदै आइतबार पोखरा सभागृहबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । पोखराका ३३ वटा वडाको आ—आफ्नो मौलिकता तथा विशिष्टताको पहिचान दिने वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरी एक वडा एक विशिष्ट कार्यक्रम तथा सबै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवद्र्धन गर्ने उल्लेख छ ।
पोखरालाई ग्रेटर पोखराको अवधारण अनुरुप विकास प्रारुप तयार गरी स्थानीय समन्वय गरी कार्यान्वय गर्ने मेयर आचार्यले सुनाए । ‘खेतीयोग्य गरा, पारौं हराभरा’ कृषि खेती प्रवद्र्धन गर्ने महानगरको नीति छ । उपयुक्त रुटमा पोडवे सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरी अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
घरदैलोमा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई टेवा कार्यक्रम सञ्चालन गरी दीर्घरोग अपांगता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने नीति ल्याएको हो । उपमेयरसँग सुत्केरी कार्यक्रम सञ्चालन गर्नेसमेत महानगरको योजना छ । मेडिकल कलेज तथा निजी अस्पतालहरुको सहयोग तथा समन्वयमा विपन्न तथा असहाय व्यक्तिहरुको निशुल्क उपचार तथा प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन योजना रहेको मेयर आचार्यले सुनाए ।
‘आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्रै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार, निजी क्षेत्र र समुदायको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पृथ्वी राजमार्गको पोखरा प्रवेश विन्दु वडा नम्बर ३२ कोत्रे मजुवामा सार्वजनिक निजी साझेदारी अवधारण अनुसार बहुसुविधायुक्त इन्ट्रान्स पार्क निर्माण गरिनेछ ।’
महानगरले सर्वाजनिक साझेदारी अवधारण अनुसार सेटलाइट बसपार्क निर्माण सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाइने तथा महानगरभित्र बहुतले पार्किङ निर्माण गर्ने घोषणा गरेको छ । महानगरभित्र सडकमा छाडा छाडिएका सामुदायिक कुकुर तथा पशु नियन्त्रण तथा व्यवस्थापन साथै सार्वजनिक ठाउँमा शौच गराइए कारबाही गर्ने पनि उल्लेख गरेको छ ।
पोखरा महानगरभित्र सञ्चालन हुने ट्याक्सीलाई आगामी आर्थिक वर्ष मेट्रो ट्याक्सी सञ्चालन गर्ने मेयर आचार्यले घोषणा गरे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडानका लागि समन्वय तथा अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र फेवातालसम्म नियमित बस सेवा सञ्चालन गर्न प्रदेश सरकारको सहकार्य गरिनेछ,’ मेयर आचार्यले सुनाए ।
महानगरले नगर प्रहरीका लागि छुट्टै ब्यारेकको व्यवस्था गर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा महानगरको कार्यालय भवन बनाउन सुरु गर्ने साथै केआइसिङ पुल र महेन्द्र पुल विकल्पको खोजी गर्ने पनि उल्लेख छ । पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र निर्माणको सम्भाव्यता अध्ययन तथा लगानीकर्ता खोजीगरी अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र निर्माण परियोजना अघि बढाइने पनि महानगरले उल्लेख गरेको छ ।
गरिबीको रेखामुनि रहेका नागरिकहरुको स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निशुल्क गर्ने
पोखराको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक तथा यातायात सुधार कार्ययोजना लागु गर्ने मेयर आचार्यले घोषणा गरे । नीति तथा कार्यक्रममार्फत पोखरालाई २०४३ सम्म विद्युतीय सवारी साधनको प्रयोग अनुपात ९० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।
‘पोखराको पुराना बस्तीको रुपमा परिचित रामकृष्ण टोल, गणेश टोल तेर्सापट्टी, भैरव टोल, मोहोरिया टोल विन्ध्यवासिनी बस्तीको परम्परागत पहिचान र विशिष्टता संरक्षण तथा संवद्र्धन गर्न सम्पदा बस्ती सम्बन्धी छुट्टै कानुन निर्माण गरी कार्यान्वय गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पोखरा भित्रने पर्यटक संख्या सहजिकरण गर्न पर्यटन सूचना केन्द्र स्थापना, साइकल मार्ग र पदमार्ग, रोयल ट्रेकलाई पुनरेखांकन गर्ने साथै लेक टु लेक, केभ टु केभ, कोट टु कोट पदमार्ग निर्माण अघि बढाइनेछ ।’
रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति संग्रहालयका रुपमा विकास गरिने जनाइएको छ । लेकसाइडस्थित कोमागाने पार्क, बसुन्धरा पार्क लगायतका सार्वजनिक पार्कहरुको सौन्दर्यीकरण गरी संरक्षण विकास तथा प्रवद्र्धन गर्ने पनि उल्लेख छ । पोखरा उपत्यका चक्रपथ निर्माण सम्भाव्यता अध्ययन गर्ने योजना छ ।
सभागृहको मर्मत सम्भार गरी स्तरोउन्नति गर्ने, पुस्तकालय, आर्ट ग्यालरी र सूचना केन्द्रसहितको पोखरा घरको निर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरा प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण गरेर हस्तकला तथा मौलिक उत्पादनको बजार प्रवद्र्धन गर्ने महानगरले योजना अघि बढाउने योजना उल्लेख गरेको हो ।
शहरी क्षेत्र स्थित व्यावसायिक तथा शैक्षिक प्रतिष्ठान र पाटी प्यालेसहरुले अनिवार्य रुपमा अन्डरग्राउन्ड निजी पार्किङ गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख गरेको हो । सडक छेउमा पैदल तथा साइकल यात्रीको सुरक्षित तथा सहज आवागमनका लागि फुटपाथ तथा साइकल लेन खाली गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममार्फत पोखरालाई उज्यालो पोखरा अभियान सञ्चालन गर्ने र अव्यवस्थित तारलाई हटाउँदै लाग्ने योजना महानगरको रहेको मेयर आचार्यले सुनाए ।
पोखराभित्रका फिर्के खोला, बुलौदी खोला, काहुँखोला फुस्रेखोला, विजयपुर खोला, खुदीखोला गडुवा खोला, देउराली खोला संरक्षण प्रवद्र्धन प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो । महानगरले फेवातालको सीमांकन संरक्षण तथा प्रवद्र्धन सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन अघि बढाइने पनि उल्लेख गरेको छ ।
महानगरले सार्वजनिक नीति साझेदारी अवधारण अनुरुप अघि बढाएको पातले छाँगो सिसापुल निर्माण तथा पूर्वाधार विकास आयोजना अघि बढाइने उल्लेख गरेको छ । फेवाताल श्रोत नदीमा चेकड्याम निर्माण गर्ने साथै महानगरको फोहोरमैला प्रशोधन केन्द्र आयोजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । महानगरले महिला माथि हुने हिंसा बालविवाह बहुविवाह मानव बेचबिखन लगायतका सामाजिक विकृति रोकथाम गर्ने तथा पीडित तथा प्रभावितहरुको उद्धार राहत तथा पुनस्र्थापना सञ्चालन गर्ने योजना बनाएको हो ।
महानगरले महामारी तथा संक्रमण रोग रोकथाम तथा नियन्त्रणका लागि औषधी उपकरणसहित दक्ष जनशक्ति सम्मिलित ¥यापिड रेस्पोन्स टिम गठन गरी परिचालन गर्ने समेत घोषणा गरेको छ । महानगरको आदिकवि भानुभक्त आचार्य तथा कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक निर्माण गर्ने पनि नीति तथा कार्यक्रममामार्फत सार्वजनिक गरेको छ ।
विद्यार्थीका लागि स्किल टु वर्क कार्यक्रम लागु गर्ने महानगरको योजना छ । पोखरा वडा नम्बर २० र २३ मा हाइ अल्टिच्युड खेल मैदान निर्माण गर्ने पनि उल्लेख छ । शिशुवा अस्पताल सञ्चालनका लागि छुट्टै कार्यविधि र डायलासिस सेवा उपलब्ध गराउन गैरसरकारी संस्थाहरुको समन्वय गर्ने पनि उल्लेख छ । पोखरा १४ मा गौशालाको प्रभावकारी निर्माण गर्ने पनि उल्लेख छ । पोखरालाई हरित सहरका लागि दुई लाख भन्दा बढी बिरुवा रोपण गर्ने पनि उल्लेख गरिएको हो ।
महानगरको सुशासनतर्फ सेवालाई थप मितव्ययी, सरल, छिटो, छरितो, पारदर्शी तथा प्रविधिमैत्री बनाउन कर्मचारीको पदस्थापन, सरुवा, कामकाजमा खटाउने कार्यलाई व्यवस्थित पारदर्शी र अनुमानयोग्य बनाउन मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ । बनेका कानुनलाई एकीकृत संगालो र आवश्यक संशोधन गर्ने पनि उल्लेख छ ।
के हो पोड वे ?
पोड वे नेपालका लागि मात्रै होइन, विश्वमै नयाँ प्रविधिको यातायातको साधन हो । यो तारमा कुद्ने यातायातको साधन हो । यसलाई माइक्रो रेल पनि भनिन्छ । यसमा चालकको आवश्यकता पर्दैन । पोड वे कम्प्युटरमार्फत् नियन्त्रित हुन्छ । यसलाई सडकको माथि वा तार टाँगेर उकालो, आरोलो ठाउँमा निर्माण गर्न सकिन्छ ।
सडकको करिब ३० मिटर उचाइमा यसलाई सञ्चालन गर्न सकिन्छ । लामोदुरीको पोड वे न्यूनतम १५० र अधिकतम ५०० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ । आकाशे पुलको संरचना जस्तो ठाउँ–ठाउँमा यसको स्टेसन हुन्छ । पोड वेको निर्माण लागत कम हुनुका साथै सञ्चालन खर्च पनि कम हुन्छ ।
पोड वेको युनिबसमा एकैपटक अधिकतम ४२ जनासम्मले यात्रा गर्न सक्छन् । बेलारुसको युनइटस्की स्ट्रिङ टेक्नोलोजी कम्पनीले ४० वर्ष लामो अनुसन्धानबाट पोड वे प्रविधि विकास गरेको हो । पोड वे युएई, इन्डोनेसिया, बेलायत, अमेरिका लगायत देशमा सञ्चालनमा आइसकेको छ । कम लागतमा निर्माण, उपयुक्त प्रविधि भएको कारण पनि यो विश्वव्यापी रुचाइएको छ ।
सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया