रुपाले ल्यायो ४६ करोडको बजेट
पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ७६ लाख ८२ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार रुपैयाँ अनुमानित खर्च हुने बजेट उपाध्यक्ष लालसुब्बा गुरुङले प्रस्तुत गरेकी हुन् ।
गत वर्ष रुपाले ४८ करोड ५७ लाख ९५ हजार ७ सय ९२ रुपैयाँको बजेट ल्याएको थियो । कुल बजेटको ३१ करोड ९ लाख ५७ हजार ९ सय २७ रुपैयाँ गाउँपालिकाको सञ्चित कोषमा प्राप्त राजस्व प्राप्त गरेको छ । जुन कुल लक्ष्यको जम्मा ६४ दशमलव ०१ प्रतिशत हो ।
चालु वर्ष रुपाले चालु खर्चतर्फ ३४ करोड २२ लाख १ हजार ३ सय ९४ रुपैयाँ र पुँजीगततर्फ २० करोड ८८ लाख ३० हजार ३ सय ६८ रुपैयाँको ल्याएको थियो । जुन आगामी आर्थिक वर्षकोभन्दा धेरै हो ।
आगामी वर्षका लागि छुट्याएको बजेटमा रुपाले वित्तीय समानीकरण अनुदानतर्फ ७ करोड ८९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७ करोड १५ लाख, नेपाल सरकार ससर्त अनुदानबाट २० करोड ८८ लाख ७ हजार, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड ४५ लाख प्राप्त हुने उल्लेख छ ।
गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४९ लाख ४ हजार, समपुरक अनुदानबाट ६० लाख, समानीकरण अनुदानबाट ९४ लाख ८ हजार र विशेष अनुदानबाट ४० लाखबाट प्राप्त हुने प्रक्षेपण छ ।
पालिकाको आन्तरिक राजस्व साथै चालु आर्थिक वर्षको अल्या रकम ५ करोड ३० लाख १३ हजार र आन्तरिक राजस्वको स्रोत अनुमान १ करोड ५६ लाख ५० हजारसहित ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको उपमेयर गुरुङले सुनाइन् ।
प्रशासकीय भवन बनाउन १ करोड, एक घर, एक घार कार्यक्रमका लागि ५२ लाख
पालिकाले आर्थिक विकासतर्फ ४ करोड ९ बजेट विनियोजन गरेको छ । युवालाई स्वरोजगार बनाउन स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराउन ३७ लाख विनियोजन भएको छ ।
गाउँपालिकाभित्र रहेका कृषियोग्य भूमिमा सिँचाइ सुविधा विकास र विस्तार गर्न २० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि ७७ लाख बजेट छ । रुपाले लघु उद्यम विकास कार्यक्रम गर्न १७ लाख, साना तथा मझौला उद्योग स्थापना तथा बजारीकरण गर्न १५ लाख छुट्याएको छ ।
‘कृषि विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि एकमुष्ट २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरेको छु,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘किसानको हात गाउँपालिकाको साथ भन्ने मुल नाराका साथ पालिकाभित्र एक घर, एक घार मौरीपालन किसान कार्यक्रमको निरन्तरताका लागि ५२ लाख बजेट विनियोजन गरेको छु ।’
गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड २० लाख, शिक्षा क्षेत्रका लागि १६ करोड ९ लाख ३९ हजार, स्वास्थ्य क्षेत्रमा ४ करोड ४२ लाख ३१ हजार र ज्येष्ठ नागरिक, महिला, बालबालिका, जनजाति साथै सामाजिक समावेशीकरणका लागि ६५ लाख बजेट अनुमान पेश भएको छ ।
पालिकामा उपाध्यक्षसँग महिला कार्यक्रमका लागि ३५ लाख रकम छ । एक वडा एक घरेलु उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाई क्षेत्रका निम्ति २० लाख, फोहरमैला तथा ढल व्यवस्थापन तथा विपद् व्यवस्थापन गन ४८ लाख बजेट विनियोजन भएको छ ।
पालिकाका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होमस्टे प्रवद्र्धन गर्न २० लाख प्रस्ताव गरिएको छ । विद्यालयसहित पूर्वाधार क्षेत्रतर्फ रुकम १० करोड ८९ लाख विनियोजन गरिएको छ । पालिकाभित्र प्रशासकीय भवन निर्माणका लागि १ करोड विनियोजन भएको उपाध्यक्ष गुरुङले सुनाइन् । रूपाकोट अस्पताल भवनका लागि ५० लाख रकम छ ।
वडा नम्बर २ को प्रशासकीय भवन निर्माण गर्न ७२ लाख, वडा नम्बर १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो पक्की बनाउन २ करोड ९० लाख, वडा नम्बर १ को वडा कार्यालय जोड्ने सडकका लागि १ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ ।
गाउँपालिकाभित्र निर्माण हुने झोलुंगे पुलहरू चोरगौँडा बाँस्कोट दोभान खोला झोलुंगे पुल, विर्दी दोभान खोला झोलुंगे पुल, मोहोरिया रामकोट झोलुंगे पुल निर्माणका पनि पालिकाले बजेट विनियोजन गरेको छ । गाउँसभामा उपाध्यक्ष गुरुङले पूर्वाधार विकास अन्तर्गत एकमुष्ठ ७ करोड ६० लाख ५० हजार विनियोजन गरेको सुनाइन् ।
सूचना प्रविधिको विकास गरी रूपा गाउँपालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, बनाउन १० लाख, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि १२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च गर्न ८ करोड ९५ लाख ७५ हजार छ ।
समुदायमा प्रहरी कार्यक्रम सञ्चालन तथा गाउँपालिकाभित्र सुरक्षा व्यवस्थापनका गर्न ३ लाख, सरकारी तथा गैरसरकारी संस्थाको साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्न १० लाख विनियोजन गरेको गुरुङले सुनाइन् । सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्रमा १ करोड बजेट प्रस्ताव गरिएको छ ।
तपाईको प्रतिक्रिया