सम्पादकीय—सडकमा भल

समाधान संवाददाता २०८१ असार १० गते ११:५७

देशभरमै सबैभन्दा धेरै पानी पर्ने सहर हो पोखरा । आकाशबाट परेको पानी पोखराका सडक भएर बग्छ । कतिसम्म भने सडकहरू खोला हुन् कि सडक भनेर छुट्याउन मुस्किल हुने गरी पानीपानी हुन्छ । त्यस्तो भलबाढीमा परेर कतिपय समयमा मोटरसाइकल र स्कुटरहरू बगेका छन् । मानिस नै पनि ढलमा परेर बगेका छन्, मृत्युवरण गरेका छन् । पोखरामा जुनमात्रामा पानी पर्छ, त्यसअनुसार निकास हुने गरी नाला निर्माण गरिएको छैन । २ दसकअघि पोखरा वातावरण सुधार आयोजना भनेर मुख्य सडकहरूमा नाला तथा ढल निर्माण गरिएको थियो । तर तिनले पोखरामा पर्ने पानीको मात्रा थेग्दैनन् । अनि नालाको बेलाबेला जुन ढंगले मर्मत सम्भार हुनुपर्ने हो त्यो पनि भएको छैन ।

Advertisement


पोखराको ढल व्यवस्थापनका लागि दातृमुलुकले चासो राखेका छन् । पोखरा महानगरपालिकाले पनि त्यस अनुसारको गुरुयोजना तयार गरेको छ । त्यो गुरुयोजना अनुसारको काम गर्न त १ खर्ब १८ अर्ब रुपैयाँ लाग्ने भनिएको छ । जब कि महानगरपालिकाको वर्षको बजेट भनेको ७ अर्ब रुपैयाँ छ । त्यसहिसाबबाट हेर्दा ढल व्यवस्थापनको गुरुयोजना कार्यान्वयन महानगरपालिका आफैले त गर्न असम्भव नै देखिन्छ । दातृ मुलुकहरुको सहयोग नै आवश्यक हुन्छ ।


पोखरा महानगरपालिकामा गरिएको आधार सर्वेक्षण अनुसार अहिलेसम्म आधुनिक सरसफाइ सुविधा प्रयोग गर्ने एकल परिवार शून्य छ । ढल निकासमा जोडिएका शौचालय भएको सहरी घरपरिवार पनि शून्य छ । अहिलेसम्म घरघरै सेफ्टिक टंकी बनाएर मलमुत्र व्यवस्थापन हुँदै आएको छ । विकसित देशहरुमा सबै घरको मलमुत्र ढलमा जडान गरी त्यसको प्रशोधनसमेत गरिन्छ र उपयुक्त ठाउँमा व्यवस्थापन गरिन्छ ।

Advertisement

बिजुली निकाल्ने, फोहोर पानी प्रशोधन गरी बगैंचा वा अन्यबालीनालीमा हाल्ने पानी निकाल्ने लगायत काम गरिन्छ । पोखरालाई विकसित र समृद्ध सहर बनाउने हो भने ढल निकास व्यवस्थापन पनि आधुनिक तरिकाकै हुनुपर्छ । गुरुयोजनाअनुसारको काम कहिले सुरु हुने हो ? थाहा छैन । तर तत्कालका लागि भने भइरहेका नालीहरु पनि सफा गर्ने, थुनिएका ढलहरु खोल्ने र पानीको निकास निकाल्ने काम गर्नुपर्छ । सडकभरि भल बग्ने अस्तव्यस्तताको अन्त्य जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया