केदारेश्वर महादेवमणि सेवाश्रमको अधिवेशन

समाधान संवाददाता २०८१ असार १० गते १५:१४
oplus_0

पोखरा ।
केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै महामण्डलेश्वर अनन्तश्री विभूषित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले मानवको पूर्णता शिक्षामा मात्र नभएर धर्म र सस्कार सहितको शिक्षामा रहेको बताए ।

Advertisement


निरक्षर आमाबुवाले धर्मसंस्कार र संस्कृति धान्दै आएको स्मरण गराउँदै उनले अहिलेका शिक्षित व्यक्तिहरु लोभलालचमा फस्दै गएर धर्मसंस्कार हराउँदै गएको सुनाए ।


गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले राप्रपाले हिन्दु राष्ट्रको मुद्दा बोकेर हिँडेको बताउँदै देशभरका मठमन्दिरका लागि बजेट विनियोजनको पहल भइरहेको सुनाइन् । पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले मन्दिरको विकासका लागि आफुले सक्दो पहल गरेको बताए ।

Advertisement


रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले विभिन्न धार्मिक संघसंस्थामा आफ्नो भावी पुस्तालाई पनि लिएर आउनुपर्नेमा जोड दिइन् । केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा भएको कार्यक्रममा तालबाराही आरती सेवा समितिका पूर्व अध्यक्ष गिरीराज अधिकारी, मूलथोक टोल विकास संस्थाका अध्यक्ष सरोज अधिकारी, मितेरी नारी समूहका अध्यक्ष सीता भट्टराई, आजीवन सदस्य बद्री थापा, हिरु पुन लगायतले बोलेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष दयानन्द पोखरेल (शंकर ) ले स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव खिमबहादुर पहारी र सहसचिव मातृकाराज घिमिरेले गरेका थिए ।

Advertisement


कार्यक्रममा सचिव खिमबहादुर पहारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले हरेक वर्ष गरिने बोलबम जल यात्रा यस क्षेत्रकै प्रमुख पर्वको रुपमा परिचित भइसकेको छ ।

महाशिवरात्री पर्वमा विशेष प्रहर पूजा सञ्चालनका साथै सामूहिक व्रतबन्ध, महर्षि फाउन्डेसनको सहयोगमा दैनिक रुपमा रुद्राभिषेक, साप्ताहिकरुपमा आरती, गीता जयन्ती विशेष कार्यक्रम, हरिबोधनी एकादशीका दिन फूल तार्ने, बाला चतुर्दशीका दिनमा मन्दिर परिसरमा शतबिज छर्ने, वसन्त पञ्चमीमा विशेष पूजा साथै जनैपूर्णिमाका दिन श्रवणी उपाकर्म (जनैमन्तर्ने) सामूहिक रक्षाबन्धन गर्ने गराउने कार्यक्रम हुँदै आएको छ । समितिद्वारा सञ्चालित गुरुकुलमा ८० जना बटुकहरु अध्ययनरत छन् ।


अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५ सदस्यीय समिति चयन समेत गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मिना भटराई, उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिव ओमनाथ अधिकारी, सहसचिव मातृकाराज घिमिरे, कोषाध्यक्ष रामप्रसाद बस्ताकोटी, सहकोषाध्यक्ष सुशिला अधिकारी र सदस्यहरुमा तारादेवी कुँवर, ईश्वरी पराजुली, बामदेव बस्ताकोटी, पद्मा आचार्य, सूर्य प्रसाद भण्डारी, सुशिला भट्टराई, सरोज अधिकारी र तारा आचार्य रहनुभएको छ ।

तपाईको प्रतिक्रिया