जोमसोम ।
मुस्ताङको निर्माणधिन (लेते—धम्पु) पुल निर्माण कन्ट्रक्सनको चरम गैरजिम्मेवारीका कारण मुस्ताङको बेनी—जोमसोम मुख्य राजमार्ग सडक धरापमा परेको छ । पुल निर्माण कम्पनीले पश्चिमतर्फको फाउन्डेसन बिमको संरचना निर्माण गर्ने क्रममा मुख्य राजमार्ग सडक कटिङ गरेर त्यसै अलपत्र छाडेपछि सो स्थानको बेनी—जोमसोम करिब ५० मिटर सडक धरापमा परेको हो ।
२०७६ साल फागुन २९ गते ठेक्का सम्झौता भएको मुस्ताङको थासाङ गाउँपालिका २, ३ र ५ वडा जोड्ने (लेते धम्पु) पुलको ५ करोड ५ लाख लागतमा देव एण्ड सायर कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । ३५ मिटर लामो पुल निर्माणको अख्तियारी पूर्वाधार विकास कार्यालयले लिएको छ ।
पुलको पछिल्लो म्याद थप २०७९ चैत २८ गते भएको थियो । त्यसपछि पुलको म्याद पटकपटक थपिँदा पछिल्लो भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । सार्वजनिक खरिद नियमावली ऐनको चौधौ संशोधन अनुसार आगामी आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण कम्पनीको चरम ढिलासुस्ती र लापरवाहीका कारण ५ वर्षदेखि पुल निर्माणको काममा बिलम्व भएको छ ।
निर्माण कम्पनीले पूर्वतर्फको साइडमा जेनतेन फाउन्डेसन जग खनेर एबुमेन्ट स्टक्चर निर्माण गरेको पनि निर्माण कम्पनी देव एन्ड सायर कन्ट्रक्सनले निर्माणाधीन पुलको पश्चिमतर्फको फाउन्डेसनको जग खन्ने कार्य ढिलो सुरु गरेका कारण करिडोर सडकको मुख्य राजमार्ग सडक धरापमा पर्न गएको हो ।
त्यहाँ हिउँदयामपछि फागुनको सुरुआती चरणबाटै फाउन्डेसन संरचनाको कामलाई तीब्रता दिनुपर्नेमा निर्माण कम्पनीले मनसुन सुरुहुन लाग्दा ढिलो गरी काम सुरु गरेका कारण यस्तो समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठको भनाइ छ ।
निर्माण कम्पनीको लापरवाहीका कारण ५ वर्षदेखि पुल निर्माणमा बिलम्व
मुख्य सडकसँगै जोडिएको निर्माणाधीन पुलको फाउन्डेसन स्ट्रक्चर निर्माण गर्ने क्रममा करिब २५ मिटर सडकको भाग कटिङ गरिएको थियो । मनसुन सुरु हुन लाग्दा पुलको फाउन्डेसन स्टक्चर निर्माणको काम गर्दा अहिले कालिगण्डकी नदीको बाढीले पुरै क्षति बनाइसकेको छ ।
नदीको बहाव उच्च भएका कारण फाउन्डेसन निर्माणको काम अहिले रोकिएको छ । तर, पुलको संरचना निर्माणको काम रोकिएपनि निर्माण कम्पनीले मुख्य राजमार्ग सडकलाई पूर्ववत अवस्थामा राखेर छोड्नुपर्नेमा यथास्थितीमा राखेर छोड्दा त्यहाँको मुख्य सडक धरापमा पर्न गएको हो । त्यहाँ सडक जोगाउन निर्माण कम्पनीले कुनै कार्य गरेको छैन । यसैका कारण बेनी—जोमसोम सडक अन्तर्गत त्यहाँ सडक सुरक्षा जोखिम बढेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख श्रेष्ठले पुलको काम रोकिए पनि मुख्य सडकलाई जोगाउन निर्माण कम्पनीले पहल गर्नुपर्ने बताए । कार्यालय प्रमुख श्रेष्ठले निर्माण कम्पनीसँग समन्वय गर्न खोज्दा ठेकेदारले फोन स्वीचअफ गरेको जानकारी दिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पुल निर्माण कम्पनीले मुख्य राजमार्ग सडकलाई यथास्थितिमा जोखममा पारेर छोड्न नमिल्ने बताए ।
‘दिनहुँ सयौं सवारी साधन आउजाउ गर्ने सडकमा थप सडक सुरक्षा जोखिम बढेको र सडक जोगाउन कार्यालय र निर्माण कम्पनीले तुरुन्तै पहल गर्नपर्ने बताए । सडक कटानसँगै भासिने र भत्किने जोखिम बढेको छ, सडक साँघुरो बनेको छ,’ प्रजअ पन्तले भने, ‘दुर्घटना भयो भने यसको क्षति कसले व्यहोर्छ, निर्माण कम्पनी र कार्यालय गैरजिम्मेवार बन्न मिल्दैन ।’
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले सडकको सुरक्षाका लागि तत्काल पहल नगरे निर्माण कम्पनीलाई स्थानीय स्रोतसाधन प्रयोग गर्न प्रतिबन्ध लगाईने बताए । उनले निर्माण कम्पनीले पुलको काम ५ वर्षसम्म सम्पन्न गर्न नसके पनि व्यस्त सडकलाई जोखिममा पारेर उम्किन नमिल्ने भन्दै आक्रोश व्यक्त गरे ।
आइतबार प्रजिअ पन्तसहित सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला कार्यालयको संयुक्त टोलीले त्यहाँको वस्तुगत अवस्थाको अनुगमन गरेको थियो । लेते—धम्पु निर्माणधिन पुल नजिकको मुख्य राजमार्ग सडकमा निमाण कम्पनीले त्यहाँ गैरजिम्मेवारी पना देखाउँदै यथास्थितिमा काम छोडेर गएको र सडक कटिङ गरिएको स्थानमा कुनै नदी कटान रोक्ने काम नगरेका कारण कुनै पनि बेला सडक क्षति हुने सम्भावना बढेको छ । जसका कारण त्यहाँका सडक सुरक्षा जोखिम बढेको स्थानीयको भनाइ छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया