पठाओ र इनड्राइभ गर्नेलाई कारबाही
पोखरा ।
पोखरामा राइड सेयरिङ गरी यात्रु ओसारपसार गरिरहेका २६ सवारीलाई कारवाही गरिएको छ । विभिन्न मोबाइल एप प्रयोग गरी यात्रु ओसारपसार गरिरहेका मोटरसाइकल र स्कुटर गरी २२ वटा र ४ ट्याक्सीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।
ती २६ सवारी साधनलाई नियन्त्रणमा लिई अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने शर्तमा सम्झाइबुझाई सम्बन्धित सवारी धनीलाई सोमबार सवारी साधन जिम्मा लगाइएको हो ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले दर्ता तथा अनुमति नलिई पोखरा महानगर अन्तर्गत नगर क्षेत्रभित्र निजी तथा सार्वजनिक सवारी साधनले मोवाइल एपहरु पठाओ, टुटल, इनड्राइभ प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने गरेकाले कारवाही गरिएको जनाए ।
उनले जनगुनासो र यातायात व्यवस्था कार्यालय कास्कीमा दर्ता नगरी चलाइएका विभिन्न एप प्रयोग गरी यात्रु ओसारपसार गर्न नदिने भन्ने निर्देशना अनुसार प्रहरीले ती सवारीलाई नियन्त्रणमा लिएको उल्लेख गरे ।
प्रहरीले आइतबार राति पार्किङमा राखिएको मोटरसाइकल चोरी आरोपमा एक युवकलाई पक्राउ गरेको छ । आइतबार राति पोखरा–१०, इन्द्रचोकमा पार्किङ गरी राखेको ग२२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल हराएको थियो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. २ देप्चेटोलका २० वर्षीय विशाल मगरातीलाई उक्त मोटरसाइकल डोहोर्याउँदै गर्दा नियन्त्रणमा लिएको हो । सोमबार मगरातीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराई चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया