राइड सेयरिङ रोक्ने किन ?

समाधान संवाददाता २०८१ असार १२ गते १०:५९

पोखरा ।
ट्याक्सी मिटरमा चल्नपर्ने व्यवस्था भए पनि यस्तो हुन सकेको छैन । ट्याक्सी चालकले मान्छे र गन्तव्य हेरी मनलाग्दी भाडा उठाउँछन् । उनीहरुलाई नियमन गर्ने गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय सवारी र जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सी चालकको चर्को भाडादर नियन्त्रण गर्नुको सट्टा उल्टै उनीहरुले भनेबमोजिम गरिरहेका छन् ।

Advertisement


नियमन गर्ने निकाय नै निष्क्रिय हुँदा पोखराका ट्याक्सीले अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड पुगेको १५ सयसम्म असुल्छन् । ट्याक्सीको मनपरी भाडादरबाट आजित भएपछि पोखरामा राइड सेयरिङ बढ्दो छ । इन्ड्राइभ र पठाओ जस्ता अनलाइन राइड सेयरिङ प्रयोगकर्ता बढ्न थालेपछि पोखराका ट्याक्सी व्यवसायीले विरोध र अवरोध गर्दै आएका थिए ।


कतिपय ट्याक्सी चालकले बाहिर विरोध गर्ने र भित्र राइड सेयरिङमा आवद्ध पनि छन् । यद्यपि उनीहरुले पहिला जस्तो महँगो भाडा लिएर यात्रु ओसार्ने सपना भने देखिरहेका छन् । ट्याक्सी चालकको यस्तो धन्दामा गण्डकी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालय र जिल्ला प्रहरी कार्यालय कास्कीले साथ दिएका छन् । गण्डकी सरकारले अघिल्लो आर्थिक वर्ष नै राइड सेयरिङलाई कानुन बनाएर वैधानिक बनाउने घोषणा गरेको थियो । तर काम भने भएन ।

Advertisement


सस्तो र लोकप्रिय बन्दै गएको साइड सेयरिङ चालकलाई उनीहरुले कारबाही थालेका छन् । राइड सेयरिङलाई छिट्टोभन्दा छिट्टो कानुन बनाएर नियमन गर्नुको सट्टा चालकहरुलाई प्रहरीले पक्राउ गर्ने र धरपकड गर्न थालिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।


राइड सेयरिङमार्फत् यात्रु ओसारपसार गरिरहेका २६ सवारीलाई आइतबार कास्की प्रहरीले नियन्त्रण लियो । प्रहरीले इमर्जिङ पेशाका रुपमा उदाएको राइड सेयरिङका चालकलाई कारबाही गरेपछि सांसद डिल्लीराम सुवेदीले प्रदेशसभामा सरकारसँग यसको जवाफ माग गरेका छन् ।

Advertisement

गण्डकी सरकारकाे नीति विपरीत पाेखरामा राइड सेयरिङ चालकलाई कारवाही


उनले सरकारले नै नीति तथा कार्यक्रममा गिग अर्थतन्त्रलाई कानुनी व्यवस्थापन गर्ने जनाए पनि राइड सेयरिङमा संलग्नलाई धरपकड गर्नुको कारण माग गरेका हुन् । ‘अनौपचारिक क्षेत्रमा संलग्न कामदारलाई पेशा, व्यवसायमा आवद्ध गर्ने यसले संसारभरी १२ प्रतिशत हिस्सका ओगटेको छ । नेपालमा पनि इमर्जिङ ढंगबाट आइरहेको राइड सेयरिङमा संलग्न भएकालाई प्रहरीले पक्रेको छ । कुरा नमिल्दो देखिएकाले यसको सत्यतथ्य सदनलाई जानकारी दिइयोस्,’ सुवेदीले भने ।


आइतबार मोटरसाइकल र स्कुटर गरी २२ वटा र ४ ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती २६ सवारी साधनलाई नियन्त्रणमा लिई उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने शर्तमा सम्झाइबुझाई सवारी धनीलाई सोमबार सवारी साधन दिइएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले दर्ता तथा अनुमति नलिई नगर क्षेत्रभित्र निजी तथा सार्वजनिक सवारी साधनले मोवाइल एपहरु पठाओ, टुटल, इनड्राइभ प्रयोग गरी भाडामा यात्रु ओसारपसार गर्ने गरेकाले कारवाही गरिएको जनाए ।


भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेका राजीव गुरुङउर्फ दीपक मनाङेको ठाडो निर्देशनमा यातायात कार्यालय सवारीका प्रमुख डिल्लीराम रिज्यालको निर्देशनमा राइड सेयरिङ चालकलाई कारबाही भएको स्रोत बताउँछ ।


बजेट पुस्तिकामा आगो लाउँछुः पाठक
प्रदेश सभामा एमाले सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने चेतावनी दिएका छन् । २०८१/८२ को बजेटमाथिको छलफलमा उनले बजेटको वार्षिक विकास कार्यक्रम नसच्च्याए यस्तो गर्ने धम्की दिएका हुन् ।


पाठकले कार्यक्रम नसच्च्याए च्यात्नेमात्रै होइन, धुजा धुजा पारी आगो लगाउने जनाए । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजाधुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकको भने । उनले बजेटमा कर्मचारीको अनुहार छ्वाङै देखिएको उल्लेख गरे ।


‘आर्थिक अनुशासन पालना गर्नु नपर्ने ? सत्ता जोगाउन अनेक खेल खेल्नुपर्ने, प्रतिपक्षलाई पेल्नपर्ने ?,’ उनको प्रश्न छ । मुख्यमन्त्रीकै सचिवालयका सदस्यले १० औं करोड बाँडेको पाठकले आरोप थियो ।

तपाईको प्रतिक्रिया