माेहनी मनाङ

राष्ट्रिय समाचार समिति (रासस) २०८१ असार १२ गते ११:५१
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ । तस्बिरः रामबहादुर थापा/रासस

गण्डकी ।
प्रकृतिअघि मानव जातिले गरेका ठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर !

Advertisement


कठिन भू–बनोटबीच पनि मनाङ चित्रमय लाग्छ । हिमालले घेरिएको मनाङ प्रकृति र संस्कृतिको अनुमप थलो हो । जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा फुरुङ हुन्छन्, गाह्रोसाह्रो बिर्सिदिन्छन् । मस्र्याङ्दीको सुसाहट, झरनाको छङ्छङ् र सिरसिरे हावाको स्पर्शमा रमाउँछन् । बँेशीसहर–चामे सडक छेउछाउका बुङ्ग, अक्टोपसआदि झरना हेरेर उनीहरू रोमाञ्चित बन्छन् ।


मनाङ पुग्न भीमकाय पहाड, भीरपाखा, खोल्सा र खोँच छिचोल्नुपर्छ । पदयात्रा र मोटरबाट मनाङ पुग्न सकिन्छ । त्यहाँको हुम्डे विमानस्थल अहिले बन्द छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ पदयात्राका लागि लोकप्रिय गन्तव्य मानिन्छ । दशकअघि मोटर पुगे पनि सडक मार्गबाट घुम्न जाने पर्यटक उत्तिकै छन् ।

Advertisement


मनाङ पुग्ने अधिकांशको सपना संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोरङ भन्ज्याङ पार गर्ने हुन्छ । तर त्यो सबैका लागि सम्भव हुँदैन । आँटिला र स्वस्थ व्यक्तिले मात्र थोरङ भञ्ज्याङ पार गर्न सक्छन् । मनाङ ङिस्याङ गाउँपालिका ९ मा पर्ने तिलिचो ताल सामुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटरमा छ । ५ हजार ४ सय १४ मिटरमा रहेको थोरङ भञ्ज्याङ रोजाइमा पर्ने गन्तव्य हो । थोरङ भञ्ज्याङ काटेर पदयात्रीहरू मुस्ताङको मुक्तिनाथ पुग्छन् ।


मनाङ ङिस्याङ १ भ्राताङमा भेटिएका पर्यटक पथप्रदर्शक अनिल लामा अमेरिकामा बस्ने नेपाली परिवारका सदस्यलाई लिएर थोरङ भञ्ज्याङ जाँदै थिए । सदरमुकाम चामेबाट अग्ला पहाडको खोँच र मस्र्याङ्दी नदीको किनारमा रहेको चामेबजारमा एक रात बिताएर उनीहरू मनाङ गाउँतिर अघि बढ्दै थिए ।

Advertisement


‘तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हो, छ–सात दिन जति लाग्ला’, उनले योजना सुनाए, ‘पहिलो दिन पिसाङ, दोस्रो दिन मनाङ गाउँ र तेस्रो दिन तिलिचो आधार शिविरमा बास बसेर बल्ल तिलिचो ताल पुग्ने योजना छ ।’ तिलिचोबाट फर्केर श्रीखर्क हुँदै थोरङ भञ्ज्याङ जाने तालिका उनको छ । तिलिचोबाट दुई दिनमा थोरङ भञ्ज्याङ पुग्न सकिन्छ । थोरङ भञ्ज्याङ जान नसक्नेहरू श्रीखर्कबाट खाङ्सार हुँदै मनाङ गाउँ फर्कन्छन् ।


बेँशीसहरबाट मोटरयात्रामा सिधैँ खाङ्सार पुगेर त्यहाँदेखि दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिन्छ । चामेबाट पदयात्रामा जाँदा भने चार दिन लाग्ने उनको भनाइ छ । चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले पदयात्रीले लिने विश्रामको अवधिले तिलिचो र थोरङ भञ्ज्याङ जान लाग्ने समयको निर्धारण गर्ने बताउँछन् ।

जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा फुरुङ हुन्छन्, गाह्रोसाह्रो बिर्सिदिन्छन् ।


पहिलो पटक पुग्ने पर्यटकले तिलिचोलाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरेको उनले सुनाए । ‘तिलिचोलाई चारैतिरबाट हिमालले घेरेको छ । तिलिचोसँगै गंगापूर्ण, ग्रीन लेक, काजिन्सारा लगायतका तालतलैयाले मनाङको सौन्दर्य बढाएका छन्,’ उनी भन्छन् । कतिपय तालको अझै पहिचान नै हुन नसकेको उनले औंल्याए ।


तिलिचो र थोरङ भञ्ज्याङबाट अन्नपूर्ण–२, अन्नपूर्ण–४, लमजुङ, मनास्लु, गङ्गापूर्ण लगायत कैयौँ हिमशृङ्खला एकैसाथ अवलोकन गर्न सकिन्छ । चामे होटल व्यवस्थापन उपसमितिका अध्यक्ष फुर्वाले गोरखाको मनास्लु संरक्षण क्षेत्रबाट लार्के भन्ज्याङ काटेर पदयात्री पर्यटकहरू मनाङ छिर्ने गरेको सुनाए । काङ्ला भञ्ज्याङ काटेर मनाङकै पर्यटकीय गाउँ नार पुग्न सकिन्छ ।


अध्यक्ष फुर्वाले सडक आएपछि अन्नपूर्ण चक्रीय पदमार्गको साख भने गुम्दै गएको गुनासो गरे । ‘पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा मनाङ पर्ने गर्छ, तर पछिल्लो समय सडक निर्माणका क्रममा पदमार्ग नासिएका छन्, कतै छोटिएका छन्,’ उनी भन्छन् ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पदमार्ग संकटमा पर्दा लमजुङ र मनाङका पर्यटन व्यावसायी नै विस्थापित हुने अवस्था आएको उल्लेख गरे । उनी भन्छन्, ‘पुराना पदमार्ग नासिँदा सडकको धुलो र हिलो सहँदै पदयात्रा गर्न पर्यटक बाध्य छन्, यस विषयमा सम्बद्ध सबै पक्ष संवेदनशील र जिम्मेवार हुनुपर्छ ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मंसिर र फागुनदेखि वैशाखसम्म मनाङमा उल्लेख्य


पर्यटक भित्रने गरेको बताए । ‘दुई वटा मुख्य याममा मनाङका गन्तव्यस्थल पर्यटकले भरिभराउ हुन्छन्, वर्षात् र जाडोयाममा पनि फाटफुट रूपमा स्वदेशी तथा विदेशी पर्यटक मनाङ घुम्न आइरहन्छन्’, भुजेलले थपे ।


सन् २०२३ मा २२ हजारभन्दा बढी विदेशीले मनाङ भ्रमण गरेका थिए । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको प्रमुख भुजेलले सुनाए । आन्तरिक पर्यटकको भने यकिन तथ्यांक ‘एक्याप’सँग पनि छैन ।
भारतीय र नेपाली पर्यटक मोटरबाइक लिएरै मनाङ पुग्ने गरेका छन् । ‘अफसिजन’मा पर्यटकीय गतिविधि कम हुने भएकाले कतिपय होटल तथा रेष्टुराँ सञ्चालक व्यवसाय नै बन्द गरेर काठमाडौँ, पोखरालगायत ठाउँमा जाने गरेका छन् । प्रमुख भुजेलले मनाङमा ३ सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए ।


रोमाञ्चक र साहसिक पदयात्रा रुचाउनेलाई मनाङ उत्कृष्ट गन्तव्य बनेको छ । मनोरम प्रकृति, संस्कृति, बौद्ध परम्परा, हिमाली जनजीवन आदि मनाङका पहिचान र आकर्षण हुन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किमी मोटरयात्रामा लमजुङ सदरमुकाम बेँशीसहर पुग्न सकिन्छ । बेँशीसहरबाट ६ घण्टाको मोटरयात्रामा मनाङको चामे र चामेदेखि मनाङ गाउँसम्म साढे २ घण्टामा पुग्न सकिन्छ ।


मनाङ गाउँबाट भने खाङ्सारसम्म आधा घण्टामै पुग्न सकिन्छ । खाङ्सारबाट अघि सडक पुगेको छैन । चामेबाट भ्राताङ, पिसाङ, हुम्डे हुँदै मनाङ गाउँ जोडिन्छ काजिन्सारा ताल पुग्न भने चामेबाट दुई दिनको पदयात्रा गर्नुपर्छ ।


मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवद्र्धनका लागि सक्दो पहल लिने गाउँपालिका अध्यक्ष घलेले बताए । अध्यक्ष घलेले भने, ‘पहिले विदेशी पर्यटक बढी आउथे, पछिल्लो समय आन्तरिक पर्यटकको पनि आवागमन बढेको छ ।’

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया