गण्डकीका सांसद र मन्त्रीलाई सिकाइयो- खाने, लाउने र बाेल्ने शिष्टाचारका कुरा

पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिज्ञासा राखे—खाना खाइसकेपछि काँटा, चम्चा कसरी राख्ने ? अक्सर नेपाली हातैले खाना खान्छन् । तर मुख्यमन्त्रीको जिज्ञासाचाहिँ कुनै औपचारिक भोजहरुको प्रसंगमा थियो ।
त्यसमाथि विशिष्ट पाहुनाहरूसँग वा आफू पाहुना भएर जाँदा कसो गर्ने भन्नेतर्फ लक्षित थियो । मुख्यमन्त्री त्यसबारे आफू जानकार त थिए तर अरुलाई पनि जानकारी होस् भनेर जिज्ञासामार्फत सहजीकरण गरिदिए ।
औपचारिक सभा वा बैठक र भोजहरुमा कस्तो पहिरन लगाउने, कसरी खाने लगायत टेबुल म्यानर (शिष्टाचार/मर्यादा) का विषय जानकारी दिँदै थिए परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल भइसकेका दिलीपकुमार पौडेल । कूटनीतिक शिष्टाचार कस्तो हुन्छ र कसरी शिष्टाचार राख्नुपर्छ भन्नेबारे पौडेल गण्डकी प्रदेशका मन्त्री र सांसदसमेतलाई प्रशिक्षित गर्दै थिए ।
गण्डकी प्रदेश प्रक्षिक्षक प्रतिष्ठानले बुधबार कूटनीतिक शिष्टाचारसम्बन्धी संवाद कार्यक्रम जो आयोजना गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषि पाण्डेले विविध विषयमा जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिने क्रममा यसपालि कूटनीति समेटिएको जनाए ।
कसैले खाना खाइसकेपछि चक्कुलाई काँटामा घुसाइदिएको भए खाना नमिठो छ, सेवा पनि नराम्रो छ भनेर सम्झनुपर्ने सन्देश पौडेलले बुझाए । प्लेटमा काँटा र नाइफ वा चम्चा सीधा तेर्साे गरी राख्दा भने खाना पनि मिठो र सेवा उत्कृष्ट भन्ने अर्थ लाग्ने उनले सुनाए । खाना खाँदाखाँदै बसिरहेको ठाउँबाट उठेर कतै जानुपरे छड्के पारेर काँटा चम्मा राख्नुपर्ने लगायत जानकारी उनले दिए ।
प्रदेशमा आएका विदेशी पाहुनाले भेट्न चाहिहाले भने के गर्ने भन्ने मुख्यमन्त्रीको अर्काे जिज्ञासा थियो । कतिपय विदेशी कूटनीतिज्ञ पोखरा अर्कै काममा आएको भए पनि भेटघाटको अनुरोध आउने उनको अनुभव छ । ‘अनौपचारिक रुपमा भेट्न त हुन्छ तर त्यसमा सन्चो, बिसन्चो, मौसम र घरपरिवारको मात्रै कुरा गर्न सकिन्छ,’ राष्ट्रपति कार्यालयको परराष्ट्र सम्बन्ध महाशाखा प्रमुख रहेका पौडेलले भने, ‘त्यस्तो छलफलमा औपचारिक कुरा गर्नु हुँदैन, कुराकानीको नोट पनि राखिन्न ।’
कूटनीतिक भेटघाटमा कस्तो कपडा लगाउने, भोजमा कसरी खाने, कसरी भेटने, कसरी बोल्ने ? गण्डकी प्रदेशका सांसदलाई बुधबार सिकाइएको छ
कतिपय विदेशी आफ्नो व्यक्तित्व बढाउन फलानालाई पनि भेटेँ भन्ने देखाउन भेटघाटका लागि इच्छुक हुने गरेका छन् । राष्ट्रका जिम्मेवार पदाधिकारीले परराष्ट्र मन्त्रालयको समन्वय र प्रतिनिधि राखेरमात्रै विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्नुपर्ने आचारसंहिता छ । समकक्षीसँगमात्रै भेट्नुपर्ने पनि उनले सुनाए । ‘विदेशी भनेर भेट्न दौडिहाल्ने गर्नु पर्दैन, उनीहरु पनि हामीजस्तै मानव हुन्,’ उनले भने ।
कूटनीतिक अर्थात रातो पासपोर्ट भइहाल्दैमा कुनै पनि देशले भिसा दिने सुनिश्चितता नहुने जानकारी उनले दिए । रातो पासपोर्टधारीलाई पनि परराष्ट्र मन्त्रालयको ‘नोट’ बिना अरु देशले सीधा भिसा नदिने पौडेलले सुनाए । ‘कूटनीतिक पासपोर्टको मामलामा अरु देश धेरै कडा छन्,’ उनले भने । विदेश भ्रमण गर्न जाँदा पनि आयोजक संस्थाको गरिमा र त्यस देशमा उसको हैसियत हेरेरमात्रै निम्तो स्वीकार्नुपर्ने र औचित्यपूर्ण देखिँदामात्रै परराष्ट्र मन्त्रालयले नोट लेखिदिने उनको भनाइ छ ।
कूटनीतिज्ञ वा विदेशी पाहुनासँगका छलफल र बैठकमा टेबुललाई अनुशासनको थलो सम्झनुपर्ने पौडेलले सुनाए । बैठकको टेबुल वा डिनर तथा लन्चको टेबुल भनेको अनुशासनको थलो भएकाले त्यहाँ लगाउने पोसाक, प्रयोग गर्ने भाषा र हाउभाउ अनुशासित र शिष्ट हुनुपर्ने उनको भनाइ छ । औपचारिक भ्रमणका बेला वा विदेशी कूटनीतिज्ञसँगका बैठक तथा छलफलमा गाढा नीलो कोट लगाउनुपर्ने उनले जनाए ।
पौडेलले विदेशीसँगको संवादमा अंग्रेजीमै कुरा गर्नुपर्ने भन्ने आचारसंहितामा नभएको सुनाए । ‘अनुवाद पनि गर्न सकिने गरी प्रष्ट, शुद्ध र शिष्ट भाषामा बोल्नुपर्छ,’ उनले भने, ‘कुनै पनि छलफलमा नो (होइन, हुँदैन) भन्नेबाट कुरा सुरु गर्नु हुन्न । कसैले कुनै प्रस्ताव राखेमा हुन्छ, हामी हेर्छाैं, छलफल गर्छाैं र पछि खबर गर्छाैं भन्नुपर्छ, बिचमा तीता कुरा भए पनि सकारात्मक भाषामा सुरुआत र अन्त्य गर्नुपर्छ ।’
रात्रिभोजहरुमा मदिरा राख्ने चलन भए पनि हार्डड्रिक्स र बियरहरु नराखिने मात्रै वाइन दिने चलन छ । ‘तर कतारका राजा आउँदा वाइन पनि हामीले राखेका थिएनौं,’ उनले भने, ‘कतारको संस्कृति हेरेर त्यसो गरिएको थियो ।’ भोजहरुमा प्लेटभरि खाना राख्न नहुने पनि उनले सुझाए । ‘बरु पछि थप्न सकिन्छ, तर जति नै भोक लागे पनि प्लेटभरि खाना राख्नु हुँदैन,’ उनले भने, ‘खाना खाँदा चम्चा, प्लेट बजाउनु हुन्न, हातमा काँटा र चम्चा लिएर हल्लाउँदै गफ गर्नु पनि हुँदैन ।’
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले शिष्टाचारबाट देशको सभ्यता र संस्कार झल्कने विचार राखे । उनले आफू मन्त्री भएका बेला विदेशी पाहुना स्वागत गर्दाका अनुभव पनि बाँडे । प्रदेश प्रमुख सचिव लक्ष्मी बस्नेतले प्रदेशस्तरमा पनि कूटनीतिक भेटघाट, बैठक र भोजहरु आयोजना हुने हुँदा यस्ता प्रशिक्षण खाँचो रहेको बताइन् ।
कार्यक्रमकै सिलसिलामा शिष्टाचार महापाल पौडेलले औपचारिक बैठक, भोज, छलफल र कार्यक्रममा जिन्स लुगा लगाउन नहुने जानकारी गराए । अनौपचारिक पोसाक लगाउन सकिने भनेर निम्तो आए पनि जिन्सचाहिँ लगाउनै नहुने उनको भनाइ थियो ।
आफूभन्दा विशिष्ट व्यक्तिका अघि पर्दा कोटको माथिल्लो टाँक लगाउनुपर्ने जानकारी पनि उनले दिए । ‘३ वटा टाँक छन् भने बिचको लगाउने हो,’ उनले भने, ‘शोकको बेलाको भेटघाट छ भने पुछारको टाँक लगाउनुपर्छ । बस्दाचाहिँ सजिलो र सुविधा हुने गरी टाँक फुकाल्न सकिन्छ ।’
कोटको टाँककै प्रसंग पौडेलले सुनाइरहँदा मुख्यमन्त्री पाण्डेले निवर्तमान मुख्यमन्त्री अधिकारीतर्फ हेर्दै ‘मेरो अफिस आउँदा कोटको माथिल्लो टाँक लगाएर आउने’ भनेर ठट्टालु पारामा बोले । अनि अधिकारीसहित सहभागीको हाँसोको फोहोरा छुट्यो ।
तपाईको प्रतिक्रिया