सम्पादकीय–पालिकाहरुको बजेट

यसपालि पनि ५० भन्दा बढी स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन् । ३१ गाउँपालिका र १९ नगरपालिकाले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । संघीयताअघि सरकार परिवर्तन र अन्य कारणले बजेट साह्रै ढिलो आउने र पारित गर्न अझ ढिला हुँदा विकास, निर्माणसहित सरकारी संयन्त्र सञ्चालनमै कठिनाइ पर्ने गरेको थियो । त्यसलाई दृष्टिगत गरी संघीयतापछि तीन तहले सरकारहरुले बजेट ल्याउने समय संविधानले तोकिदिएको छ ।
पहिले संघ, त्यसपछि प्रदेश र अन्तिममा स्थानीय तहरुले आगामी वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ । यो वाध्यतालाई पनि केही पालिकाले पूरा गर्न सकेनन् । यसपालि गण्डकी प्रदेशका सबै ८५ पालिकाले समयसीमाभित्रै बजेट ल्याएका छन् । पालिकामा बजेट आउन नसक्नुको प्रमुख कारण जनप्रतिनिधिबीचको मतभेद हो । फरक–फरक दलबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले अडान लिँदा समयमा बजेट आउन नसकेको हो ।
कतिपय पालिकामा प्रमुख नै अल्पमतमा छन् भने कतिपय पालिकामा व्यक्तिगत र भौगोलिक क्षेत्रको द्वन्द्व पनि छ । कार्यपालिकामा प्रमुख र उपप्रमुख अल्पमतमा पर्दा समयमा बजेट आउन कठिन हुन्छ । जनप्रतिनिधिबीच मतभेद हुनु, कार्यकारी प्रमुख र जनप्रतिनिधिबीच समस्या देखिनु लगायत कारणले यसअघि पनि कयौं पालिकाले समयमा बजेट ल्याउन सकेका थिएनन् ।
समयमा बजेट नआउँदा कर्मचारीको तलबभत्ता, कार्यालय सञ्चालन जस्ता आधारभूत कामसमेत प्रभावित हुन पुग्छन् । बजेट ढिलो आउँदा विकास निर्माण कार्यमा ढिलासुस्ती हुन्छ । आर्थिक वर्ष सुरु भइसकेपछि बजेट परियोजना कार्यान्वयनमा स्वतः ढिलाइ हुन जान्छ । तलब भत्ता समयमा नपाएका कर्मचारीबाट पारदर्शी कार्य सम्पादनको आशा गर्न कठिन हुन्छ । बजेट समयमा नल्याउनुका अनेक असर हुन्छन् भन्ने तथ्य जनप्रतिनिधिले नबुझेका भने होइनन् ।
२०७२ को संविधान बमोजिम २०७४ देखि कार्यान्वयनमा आएका स्थानीय सरकारहरुको बजेट निर्माणमा बर्षेनि विलम्ब हुँदै आएको छ । कतिपय स्थानीय तहले आर्थिक वर्षको पहिलो चौमासिक सकिदा बल्ल बजेट ल्याउने गरेको विगतका उदाहरण छ । जबकी स्थानीय सरकारले समयमा बजेट ल्याउने, सुशासन कायम गर्ने र विकास निर्माणलाई गति दिएर संघीयताको औचित्य पुष्टि गर्नुपर्ने चुनौती छ । जनताको आँगनमै पुगेको सरकारप्रति वितृष्णा जगाउने ठूलै पंक्ति सक्रिय छ । वर्तमान व्यवस्था असफल भएको भन्ने मतहरु पनि सुनिएकै छन् ।
सुशासन र विकासको अनुभूति जनतालाई दिन पनि समयमै बजेट ल्याउने अनि कार्यान्वयनमा जोड दिइनुपर्छ । पालिकाहरुको बजेट पछिल्लो क्रममा वितरणमुखी छ । कतिपय पालिकाले जथाभावी रकम बाड्ने गरेका छन् । योजना बैंक नबनाउने, खल्तीबाट योजना हाल्ने, खर्च पारदर्शी नगर्ने प्रवृत्ति बढ्दो छ । यसलाई हालै सार्वजनिक भएको महालेखाको प्रतिवदेनले पनि पुष्टि गर्छ । सरकारी स्रोतहरु नखोज्ने र भएका स्रोतबाट पनि राजस्व संकलन गर्न नसक्दा स्थानीय सरकारहरु प्रदेश र संघले दिएको पैसा बाड्ने र तलव खाने ठाउँ जस्ता हुन पुग्छन् ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया