पोखरा ३ मा प्रजनन् स्वास्थ्य शिविर
पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ३ कार्यालयको सहयोगमा पोखरामा बुुधबार प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।
पोखरा –३ स्थित महिला मिलन समूह र बाल मन्दिर आमा समूहको समन्वयमा कन्या माविमा आयोजित निशुल्क शिविरमा ७३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरी औषधी वितरण गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले नागरिक ३४ प्रकारका मौलिक अधिकार मध्य स्वास्थ्य अधिकारलाई सरकारले सुनिश्चित गर्नुपर्ने उल्लेख गरिन् । उनले समयमा नै उपचार पाउँदा धेरै रोग निको हुन सक्ने भन्दै रोग लुकाउन नहुने बताइन् ।
संविधान सभा सदस्य कृष्णकुमारी परियारले कुनै पनि समस्या समाधानका लागि सरकार, समुदाय र संघ संस्था मिलेर अघि बढ्नुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्यहरु शान्तिदेवी पराजुली, सवि परियार, पोखरा ३ का सचिव मोहन ढुङ्गाना, नेपाल परिवार नियोजन संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी लगायतले बोलेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बालमन्दिर आमा समूहकी सचिव मीनकुमारी श्रेष्ठले स्वागत, महिला मिलन समूहकी अध्यक्ष देवी पराजुलीले धन्यवाद ज्ञापन र महिला मिलन समूहकी सचिव विष्णुदेवी पराजुलीले सञ्चालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया