पर्यटन जनशक्ति माग र उत्पादनबिच खाडल

पोखरा ।
गण्डकी प्रदेशमा करिब एक हजार होटल छन् । त्यस्तै दुई सय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्टबाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग सञ्चालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन् ।
ठूलो जनशक्तिले हाल पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ । मागे जति र खोजे जति दक्ष जनशक्ति नपाएको व्यावसायीले बताउने गरेका छन् । जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्न सक्ने पनि उनीहरुको चिन्ता छ । पर्यटन व्यावसायीका अनुसार अहिले गण्डकीमा मात्र करिब ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पर्यटन क्षेत्र फस्टाउँदै जाँदा जनशक्ति अभावको खड्को पर्यटन क्षेत्रले देखेको छ । तर पोखरामै पर्यटनका विभिन्न विषय अध्यापन गराउने शिक्षण संस्थाले भने विद्यार्थीले पर्यटन क्षेत्रमा पर्याप्त रोजगारी पाउन नसकेको गुनासो पनि गर्ने गरेका छन् । होटल व्यवस्थापन, ट्राभल एन्ड टुरिजम लगायतका विषय अध्यापन गराएर बर्सेनी सयौं विद्यार्थी उत्पादन गर्दा पनि ती विद्यार्थीले पर्यटनको राजधानी पोखरामा सहजै रोजगार नपाएको गुनासो शिक्षण संस्थाको छ ।
पर्यटन क्षेत्रको माग र शिक्षण संस्थाको उत्पादनमा तादम्यता नमिल्दा अन्योल भएको दुवै क्षेत्रको ठहर छ । गैहपाटनस्थित पश्चिमाञ्चल माविले पर्यटन क्षेत्रका अगुवा व्यावसायीसँग बुधबार शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिलाई कसरी पर्यटन क्षेत्रको उपयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो । छलफलमा सहभागी व्यावसायीले जनशक्ति अभाव बढ्दै गएमा पर्यटन क्षेत्रको भविश्य पनि अन्योलमा पर्ने चिन्ता जनाए । शिक्षण संस्थाका पदाधिकारीले पनि युवा जनशक्तिलाई विदेश पलाउन हुन नदिन स्थानीय स्तरमा रोजगारमा अवसर र प्राथमिकता दिलाउन व्यावसायीलाई सुझाए ।
पोखरामै काम र दाम पाइने अवसर छ । त्यसको महत्व बुुझाउने हो भने स्वदेशमै युवा रोक्न सकिन्छ
पोमनारायण श्रेष्ठ
होटल संघ गण्डकी अध्यक्ष हरि शर्माले भने, ‘होटल व्यवस्थापन विषय पढाउँदैमा दक्ष जनशक्ति पूरा भयो भन्न मिल्दैन । पर्यटन क्षेत्रका लागि चाहिने सबै विषयका विद्यार्थी उत्पादनमा ध्यान दिन जरुरी छ । इतिहासदेखि संस्कृति र भूगोल जान्ने जनशक्ति पनि पर्यटनमा आवश्यक छ । जसले विदेशी पाहुनालाई आवश्यक गाइड गर्न सकुन । विदेशीको बसाई अवधि बढाउने हो भने प्रकृतिदेखि संस्कार संस्कृति बताउन सक्ने जनशक्ति पनि चाहिन्छ ।’ उनले जनशक्ति अभाव हुँदै गए भविश्यमा पर्यटन क्षेत्र जोखिममा पर्नसक्ने चिन्ता जनाए ।
पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले युवा पुस्ता पलायन हुँदै जाँदा पर्यटन क्षेत्रमा पाको जनशक्तिको भरमा मात्र टिक्नुपरेको बताए । पाको जनशक्तिको उमेर सकिँदै जाँदा कुनै पनि बेला पर्यटन क्षेत्रलाई थप कामदारको अभाव हुन सक्ने जोखिम रहेकाले युवा पुस्तालाई विदेशिनबाट रोक्नुपर्ने बताए । ‘पर्यटन क्षेत्र भनेको छिटो गरी स्वरोजगार बन्ने क्षेत्र पनि हो । खालि अरुकोमा काम गर्नुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘अध्यापन गराउँदा स्वरोजगार बन्ने गरि अवसरको ढोका पनि खोलिदिनुपर्छ ।’
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) अध्यक्ष नरेश भट्टराईले पर्यटन क्षेत्रमा प्राविधिक जनशक्ति अभाव रहेको बताए । ‘होटललाई चाहिने इलेक्ट्रिसियनको अभाव हामीलाई छ । त्यसैले अब प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘वेटर, कुक, सेफ पनि अभावै छ । तर, प्राविधिक क्षेत्रका जनशक्तिको खाँचो बढी छ ।’
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले विद्यार्थीलाई इन्टर्नसिप अनिवार्य गर्ने हो भने जनशक्तिको अभाव केही कम गर्न सकिने बताए । होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले खोजेको जनशक्ति स्वदेशमा नपाएपछि विदेशीलाई महंगो पारिश्रमिक दिएर राख्नुपर्ने अवस्था रहेको बताए ।
पोखरा पर्यटन परिषद् (पिटिसी) अध्यक्ष पोमनारायण श्रेष्ठले तल्लो तहमा मात्र नभई माथिल्लो तहमा पनि जनशक्ति खाँचो रहेको बताए । ‘अब शिक्षण संस्थाले पर्यटनका लागि चाहिने सबै खालको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पोखरामै काम र दाम पाइने अवसर छ । त्यसको महत्व बुुझाउने हो भने स्वदेशमै रोक्न सकिन्छ ।’
पश्चिमाञ्चल माविका संयोजक देव क्षेत्रीले पोखरामा करिब दर्जन संस्थाले होटल व्यवस्थापन विषय अध्यापन गराएर जनशक्ति उत्पादन गरेपनि पोखराकै लागि टिकाउ हुन नसकेको बताए । विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी पाठ्यक्रम पढाएर भएपनि अब्बल विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिने बताए ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले पर्यटन क्षेत्रका लागि आवश्यक कु्नै पनि खालको जनशक्ति उत्पादनमा विद्यालयले साथ दिने वचन दिए । पर्यटन क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए । पश्चिमाञ्चल माविमा अहिले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्यापन हुन्छ । अबको शैक्षिक सत्रदेखि सौन्दर्यकला विषयमा पनि विद्यालयले अध्यापन गराउने तयारी गरेको छ ।









विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया