मदन भण्डारी जन्म जयन्ति

मदन भण्डारी महान विचारक थिए

प्राडा भरतराज पहारी २०८१ असार १३ गते १५:००

१. प्रस्थान विन्दुः
निरन्तर परिवर्तनशील वस्तु र प्रकृतिको कारणबाट मानव जीवन गतिशील बनेको छ । भूगोल र प्रकृतिको सन्तुलनबाट जीव र वनस्पतिहरु अस्थित्वमा रहेका छन् । पृथ्वी, सौर्यमण्डल र आकाशगंगाको संरचना र अवस्थितिले भौतिक जगतमा सृजना गरेको विविधताले गति पैदा गरेको छ, सबै वस्तु र जिवहरु निश्चित लयमा चलिरहेका छन् । गतिले निरन्तर परिवर्तनलाई दिशावोध गरिरहेको छ । गति र लयको अभावमा जीवन र जगतको अस्तित्व कायम हुन सक्दैन ।

Advertisement

परिवर्तनको यो जगमा मानव सभ्यता क्रमिकरुपमा विकसित हुँदै यहासम्म आइपुगेको छ । विभेदरहित तथा न्यायपूर्ण समाजको स्थापना र यसको दिगोपनको निम्ति विभिन्न सिद्धान्तहरु प्रतिपादन हुदै आएका छन् । वास्तवमा समाज कस्तो बनाउने ? सुखमय जीवन र समृद्धि कसरी प्राप्त गर्ने ? जीवन र जगतको अस्थित्व, संरचना र गतिशीलता के हो ? इत्यादि प्रश्नहरुको हल खोज्न निरन्तर बहसहरु भैरहेका छन् । यहि बहसको पछिल्लो कडिको रुपमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद(जबज)लाई मदन भण्डारीले समाज रुपान्तरणको सुत्रकोरुपमा व्याख्या गरेका छन् । महान विचारक मदन भण्डारीको जन्म जयन्तिको अवसरमा जबजका विभिन्न आयामहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।


२. समाज रुपान्तरणको मर्म
पश्चिमा अध्ययनलाई आधार मान्ने हो भने मानव सभ्यताको विकासको क्रममा करिव १५ हजार वर्ष अगाडि भएको कृषि क्रान्ति पश्चात स्रोतहरु माथिको स्वामित्व प्रारम्भ भयो । कृषि उत्पादन र पशुपालन सुरु हुँदै वस्तिहरु विकास हुन थाले । मानव समाज विभिन्न गणहरुमा विभाजित भयो । मानिसहरु एक आपसमा मिलेर काम गर्दथे । उनिहरु विच विभेद थिएन । विस्तारै मानिसको आवादी बढ्न थाल्यो । खानेमुख बढ्न थाले पछि खाद्यान्नको अभाव हुन थाल्यो । स्रोतहरु भएका र नभएका गणहरु विचमा द्वन्द हुदै युद्ध हुन थाल्यो । युद्धमा जित्नेहरु मालिक र हार्नेहरु दास या कमैया हुन थाले । सामन्त र किसान वर्गमा विभाजित भए ।

जनसंख्याको व्यापक वृद्धि हुँदै जाँदा अन्तरविरोधहरु पनि बढ्दै गए । १८औं शताब्दीको मध्ये सम्म आइपुग्दा यी वर्गहरुकोरुपमा केहि फेरबदल भए पनि सार उस्तै रह्यो । तत्कालिन समाजमा रहेका अन्तरविरोधहरुलाई सम्बोधन गर्न धागो उद्योग तथा पहिलो वाष्प इन्जिनको विकास भयो । पहिलो औद्योगिक क्रान्तिको यो चरणबाट हातले काम गरिदै आएकोमा मेसिनले काम गर्ने भयो । रसायनिक तथा धातुका उत्पादनहरु हुन थाले । काम गर्ने प्रभावकारी औजारहरु बने । रेल तथा नहरहरु बने । मानिसहरु कारखानाको नजिक वस्न थाले, ठुल्ठुला शहरहरु बने ।

मिल मालिकहरु र मजदुरहरुको नयाँ वर्गहरु देखियो । यी वर्गहरु विचमा अन्तरविरोधहरु भिन्नढंगले प्रकट हुन थाले । पूँजी निर्माण र परिचालनको जटिलता विकास हुदै गयो । शोषण र विभेदका रुपहरु बदलिए । १९औं शताब्दीको मध्येतिर आइपुग्दा औद्योगिक विकासले नयाँ उचाइ प्राप्त गर्यो । स्टिल उत्पादन संगै विजुली तथा टेलिफोनको विकास भयो । यसबाट ठुल्ठुला मेसिनहरु, हवाइजहाज र गाडीहरु, व्यापक पूर्वाधारहरु, इत्यादिको विकास भयो । यसले गर्दा ठुलो संख्यामा उत्पादन हुन थाल्यो । उत्पादित वस्तुहरु वितरण गर्न विश्व व्यापारको प्रारम्भ भयो । बहुराष्ट्रिय कम्पनीहरु स्थापना हुन थाले । शहरीकरणको द्रुतगतिले विकास हुन थाल्यो । उत्पादन सम्बन्धहरु बदलिए, समाजको स्वरुप बदलियो । वर्गहरुका नयाँ रुपहरु देखिए । २०औं शताब्दीको मध्येतिर मानिसको कल्पनशीलताले नयाँ उचाइ प्राप्त गर्यो ।

Advertisement

कम्प्युटर, इन्टरनेट, सूचना प्रविधिको विकास, बैकल्पिक उर्जाको विकास, उद्योग व्यवसायमा स्वचालित विधिको प्रयोग, जैविक प्रविधिको विकास र आनुवांसिक प्रविधिको विकासले समाजको स्वरुपमा गुणात्मक परिवर्तन गर्यो । क्लोनिङ देखि जिनोम सिक्वेन्सिङ गर्दै जीव तथा वनस्पतिको अनुवांशिक चरित्रको व्यापकरुपमा परिवर्तन हुन थाल्यो । उत्पादन सम्बन्ध बदलियो, वर्गहरुका रुपहरु वदलिए । पूँजिपतिहरुको रुप बदलियो, श्रमिकहरुको रुप बदलियो । उनिहरु विचको अन्तरविरोधहरु पनि फरकढंगले प्रकट हुन थाले । २१औ शताब्दीको प्रारम्भ देखि प्रविधिको विकासले नयाँ उचाइ प्राप्त गरेको छ । मानिसको खोज जीवहरुमा मात्र सिमित नभै मानव मन,मस्तिष्क र शरिरमा हुन थालेको छ । यतिखेर वैज्ञानिक अनुसन्धानहरु मानवको इन्जिनियरिङ, मानवमा असामान्य क्षमताको विकास र विशिष्ट मानव (super human ) निर्माण र उत्पादनमा केन्द्रित छ ।

आफ्नो दक्षता र प्रभावकारितालाई वृद्धि गर्न मानिसले आफ्नो शरिरमा अजैविक वस्तुहरु(Inorganic)को प्रयोग गरेर विशिष्ट मानिस (cyborg) गर्दैछ । सानो भन्दा सानो रोबोटले विहंगम कामहरु गर्ने अवस्था सृजना भएको छ । मानव युग आर्टिफिसियल इन्टेलिजेन्स, अगमेन्टेड रिआलिटी, भर्च्युअल रिआलिटीको चरणमा आइपुगेको छ । उत्पादकत्व वृद्धि गर्न मानव चरित्र र प्रवृत्तिहरुको सूक्ष्म अध्ययन, अनुकुलन तथा प्रक्षेपण गर्ने विधि विकास भएको छ ।

जैविक तथा आनुवांशिक प्रविधिको मद्दतबाट मानिसले आफुलाई नै बदल्न लागिरहेको छ । यी सबै परिवर्तनहरु पूँजिपतिले मुनाफा आर्जन गर्न तथा सम्पत्ति संकलन गर्नको लागि गरिएका प्रयत्नहरु हुन् । सभ्यता विकासको हरेक चरणमा विद्यमान उत्पादन सम्बन्ध र यसले सृजना गरेको अर्थराजनीतिक सम्बन्ध तथा सामाजिक सम्बन्धहरु फरकफरक छन् । तर, सबै चरणमा विभेद र असमानता कायम छन् । मानव सभ्यता विकासका सबै चरणहरुमा प्रकट भएका वर्गीय प्रवृत्तिहरु र तिनले सृजना गरेका अन्तरविरोधहरुलाई सम्बोधन गर्दै समाजको रुपान्तरणको गतिलाई दिशावोध गर्नु आवश्यक थियो ।


पृथ्वीको अवस्थिति र गतिको कारणले अनेक विविधताहरु विद्यमान रहेका छन् । एकातिर भौगोलिक विविधता छ भने अर्कातिर वातावरणीय, जैविक तथा मौसममा देखिएको विविधता त्यत्तिकै जटिल अवस्थामा रहेका छन् । प्राकृतिक प्रकोप तथा मानवीय गतिविधिहरुको कारणले सृजना भैरहेका विपदहरुको सम्बोधन गर्नु पर्ने पृष्ठभूमि छ । पृथ्वी आफ्नै लय र गतिमा हिडिरहेको छ । प्रकृतिका आफ्नै नियमहरु छन् ।

पृथ्वीमा सबै जीव तथा वनस्पतिहरु प्राकृतिक छनौटको कष्टसाध्य विधिबाट यहासम्म आइपुगेका छन् । प्रतिस्पर्धा प्राकृतिक नियम हो । सबै जीव र वनस्पतिमा पनि प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धी क्षमता भएकाहरु अगाडि जान्छन् । मानिसले आफ्नो इन्टेलिजेण्ट डिजायनबाट प्रकृतिको छनौट विधिमा हस्तक्षेप गर्न प्रयत्न गर्दैछ । यसबाट नयाँ अवस्थाको सृजना हुदैछ । प्रकृतिका नियमहरु तथा प्रविधिको विकासले सृजना गर्ने विभेद र असमानतालाई अन्त्य गर्न विचार र कार्यक्रम स्थापित गर्नु आवश्यक थियो ।


मानिस मानिसका विचमा हुने असमानता, भेदभाव र शोषणका सम्पूर्ण आधारहरुको समूल अन्त्य गरी वैज्ञानिक समाजवाद मार्फत साम्यवादमा पुग्ने महान लक्ष्य राखी सुरु भएको विश्व कम्युनिष्ट आन्दोलन दशकौं लामो गौरवपूर्ण इतिहासका अनेकौ उतार चढाव र आरोह अवरोहहरु पार गर्दै अहिलेको चरणसम्म आइपुगेको छ । विशेष गरेर सोभियत मोडेलको समाजवादको असफलता र सोभियत संघ लगायत पूर्वी युरोपका समाजवादी शासन व्यवस्थाको विघटनले विश्वको राजनीतिक शक्ति सन्तुलनमा ठूलाठूला प्रतिकूलताहरु सिर्जना भए ।

विश्व कम्युनिष्ट आन्दोलन जडता र दिशाहिनताबाट गुज्रदै रक्षात्मक अवस्था पुग्यो । ’इतिहासको अन्त्य र विचारको मृत्यु’ जस्ता भविष्यवाणी गरी मार्क्सवादको सान्दर्भिकता तथा समाजवादको भविष्य माथि पूँजीपति वर्गले ठूलो आक्रमण गर्यो । यस्तो परिस्थितिमा असफलताका कारणहरुको खोजी गरी क्रान्ति र समाजवादको नयाँ बाटो दिशावोध गर्दै मार्क्सवादको सार्वभौम सच्चाइ र समाजवादको अपरिहार्यता माथि दृढ विश्वास कायम गर्नु आवश्यक हुन गयो । विश्व कम्युनिष्ट आन्दोलनमा कार्यनीतिका सन्दर्भमा देखा परेका अन्यौलपूर्ण अवस्थाको बारेमा समयसापेक्ष समाधान निकाल्दै शान्तिपूर्णरुपले पनि समाजको आमूल परिवर्तन गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विचार स्थापित गर्नु नितान्त आवश्यक भयो ।


नेपालको कम्युनिष्ट आन्दोलन भित्र मार्क्सवादलाई जडसूत्रको रुपमा ग्रहण गर्ने, अन्य देशहरुमा भएका क्रान्तिका विशिष्ट अनुभवहरुलाई यान्त्रिक रुपमा ग्रहण गर्ने, ’बन्दुकको नालबाट मात्र सत्ता प्राप्ती हुन्छ’ भन्ने मान्यता राख्ने र एकदलीय अधिनायकवादी शासन व्यवस्थाको वकालत गर्ने मानसिकता विद्यमान रहेको र यस्तो विचारले आन्दोलन विभाजित भैरहेको अवस्थामा मार्क्सवादी सिद्धान्त जडसुत्र होइन, यो समाजको वस्तुगत अवस्थाको ठोस विश्लेषणबाट निकालिएको सार्वभौम सच्चाइ हो भन्ने कुरालाई स्थापित गर्दै नेपाली समाजमा भैरहेका संघर्षहरु, जनताका भोगाइहरु, जनताको वस्तुगत अवस्था, भूगोल र संस्कृतिको विविधता इत्यादिको सूक्ष्म अध्ययनबाट नेपाली समाजमा विद्यमान समस्याहरुको पहिचान र तिनिहरुको समाधानका विकल्पहरुको खोजी गरी कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो ।


नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका विशिष्ट अनुभवहरु मध्ये विशेषगरी संयुक्त वाममोर्चा निर्माण र नेपाली कांग्रेससंगको कार्यगत एकताबाट छयालिस सालको ऐतिहासिक जनआन्दोलनले सफलता हासिल गर्यो । वाममोर्चा र नेपाली कांग्रेसको सहकार्यमा नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण भयो । साझा लक्ष प्राप्त गर्न निर्माण गरिएको संयुक्त बाममोर्चा तथा नेपाली कंग्रेससंगको कार्यगत एकता वस्तुसंगत थियो र यसबाट महत्वपूर्ण राजनीतिक उपलव्धिहरु प्राप्त भएका छन् ।

त्यसैगरी संविधान निर्माण पछि पार्टीलाई अन्य राजनीतिक पार्टीहरूसित प्रतिस्पर्धी बनाउने गरी खुला र बैधानिक ढंगले जनतासित प्रत्यक्ष सम्वन्ध राख्दै निर्माण र संचालन गर्नु महत्वपूर्ण निर्णय थियो । यो कार्यनीतिको आधारमा पहिलो संसदीय निर्वाचनमा नेपाली जनताको लोकप्रिय समर्थनका साथ नेकपा(एमाले) प्रमुख प्रतिपक्ष बन्न सफल भएको थियो । नेपाली समाजको वहुजातीय, वहुभाषिक, वहुसांस्कृति विशेषता र भौगोलिक विविधताको कारणले निर्माण भएका अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरुको पृष्ठभूमिमा मार्क्सवादलाई सृजनात्मकढंगले प्रयोग गर्न उपयुक्त नीति र विधि परिभाषित गर्नु पर्ने थियो ।


यी सबै परिप्रेक्षमा न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्न मार्क्सवादले दिशावोध गरेको सार्वभौम सच्चाइलाई नयाँ उचाइमा परिभाषित गर्दै समृद्ध गर्नु जरुरी थियो । जनताको वहुदलीय जनवादको विकासको पृष्ठभूमि यहि हो ।


३. जनताको वहुदलीय जनवादका सैद्धान्तिक आयामहरु
मार्क्सवादका सार्वभौम सच्चाईहरुलाई नेपाली क्रान्तिको विशिष्ट व्यवहारमा लागु गर्ने क्रममा जनताको वहुदलीय जनवादको विकास भएको हो । जनताको वहुदलीय जनवाद (जवज) नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । यो नेपाली समाजको गुणात्मक रुपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमको निरुपण, त्यसका रणनीतिहरुको तर्जुमा, त्यस्तो रणनीतिहरुको कार्यान्वयन गर्न गतिशील पार्टीको निर्माण एवम् पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनन्दिनका आचरण र व्यवहारलाई दिशा निर्देश गर्ने सिद्धान्त हो । जनताको बहुदलीय जनवाद मार्क्सवाद–लेनिनवादको सृजनात्मक प्रयोग र विकास हो । जनताको वहुदलीय जनवादका महत्वपूर्ण सैद्धान्तिक आधारहरु निम्नानुसार सुत्रवद्ध गरिएको छ ।


क) द्वन्द्वको सार्वभौम नियमलाई राजनीतिमा प्रयोग
मार्क्सवादको दृष्टिकोण र दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । प्रत्येक वस्तु, घटना वा विचारमा द्वन्द्वात्मक अन्तरसम्बन्धहरू रहेका हुन्छन् । द्वन्द्व सार्वभौम नियम नै हो । राजनीतिमा हुने गरेको विवाद र द्वन्द पनि स्वभाविक हो । यदि कुनै पनि वस्तुमा रहेको द्वन्द्वात्मक यथार्थलाई दमन गरेर प्रकट हुन दिइँदैन भने त्यसले शत्रुता र विस्फोटको रूप लिनसक्छ ।

समाज या राजनीतिमा रहेको द्वन्दलाई विधि सम्मत प्रतिस्पर्धाले सम्बोधन गर्दछ । त्यसकारण कुनै पनि राज्यव्यवस्थामा त्यहा रहेको समाजमा विद्यमान राजनीतिक दृष्टिकोणहरुको विचमा संविधानसम्मत ढङ्गले प्रतिस्पर्धा हुन दिनुपर्छ । समाजमा रहेका विविधताहरूलाई व्यक्त हुन दिनुपर्छ । यो नै साँचो अर्थमा जनवादी लोकतान्त्रिक प्रणाली हुनसक्छ ।


ख) समाजको चरित्र बहुलवादी हुन्छ ।
प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रका निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता स्वाभाविक र प्रकृतिसङ्गत कुरा हो । समाज बाहिरी दुनियाँबाट अलग–थलग, बन्द र एकोहोरो हुन सक्तैन । समाजमा रहेका विविधताहरूलाई व्यक्त हुन दिनुपर्छ । समाजमा हुने बहुलता प्रकृतिसङ्गत कुरा हो । वास्तविकता के हो भने प्रकृतिमा बहुलता र विविधता रहेको छ । प्रकृतिमा अनेक रङ्गका फूलहरू फुल्छन्, अनेकौं प्रकारका प्राणीहरू छन्, अनेकौं प्रकारका स्वादहरू पनि छन् । अर्थात, प्रकृति एकरूपी होइन, बहुरूपी छ । यसको प्रतिबिम्बकोरुपमा समाज पनि बहुरूपी नै छ । त्यसैले समाजको बहुलवादी चरित्रलाई प्रकृतिसङ्गत कुरा हो ।


वस्तुहरुको उत्पादन, संकलन, वितरण र उपभोग गर्ने सन्दर्भमा स्वामित्वको विषयले विभेदहरु सृजना भए । मानिसका आवश्यकता अनुसार वस्तुहरुको विनिमय अनिवार्य हुन गयो । वस्तु विनिमयलाई सहज बनाउन मुद्रा(पैसा) को विकास भयो । मुद्राको प्रयोगमा हुने जटिलता र विविधताबाट समेत मानिसले आफ्नो मुनाफा खोज्न थाल्यो । मुनाफा आर्जन गर्न तथा सम्पत्ति संकलन गर्नको लागि श्रमशक्ति र प्रविधिको अत्याधिक प्रयोग हुन थाल्यो ।

यसले समाजमा वर्गहरुको विकास गर्यो । जबसम्म वर्गहरू रहन्छन्, तबसम्म प्रत्येक वर्गका अलग–अलग स्वार्थ, सिद्धान्त र दृष्टिकोणहरू हुनु स्वाभाविक हो । समाजमा वर्गहरू रहेसम्म विद्यमान वर्गहरूका भिन्नाभिन्नै राजनीति हुनु स्वाभाविक हो । त्यसकारण वर्गीय समाजमा वर्गीय दृष्टिकोण र राजनीति हुन्छन् र अझ एउटै वर्गमा पनि राजनीतिमा विविधता र मतभेद हुनसक्छ । समाज राजनीति र सामाजिक सम्बन्धमा रहेको यो विविधता नै वहुलता हो । यो वास्तविकतालाई आत्मसात गर्दै समाज बदल्ने अभियान अगाडि बढाउनु पर्दछ । समाजको वहुलवादी चरित्रलाई जवजले स्विकार गरेको छ ।


ग) राज्यको सार र रूप
हरेक वस्तुको सार पक्ष र रूप पक्ष हुन्छ । सार पक्ष भनेको वस्तुको गुण या चरित्र हो । तर रुप पक्ष भनेको वस्तुको देखिने आवरण हो । आवरणले वस्तुको गुण बदल्न सक्दैन,तर त्यसलाई प्रभावकारी/आकर्षकढंगले प्रस्तुत गर्न भने सक्दछ । वस्तुको यो बिम्ब राजनीतिक सत्तामा पनि हुन्छ । समाजलाई कस्तो बनाउने र कसरी बनाउने भन्नेकुरा राजनीतिक सत्ताको सार र रुप हुन् । सत्ताको सार पक्ष भनेको राज्ययन्त्रसँग सम्बन्धित कुरा हो भने त्यसको रूप पक्ष शासनतन्त्रसँग सम्बन्धित कुरा हो । यस तथ्यलाई जवजले स्विकार गरेको छ ।


कुनै पनि राजनीतिक सत्ताले कस्तो समाज निर्माण गर्ने? समाजमा न्याय र समानता स्थापित गर्न कुन कुन वर्गको हित पक्षपोषण गर्ने ? र कुन वर्गमाथि अधिनायकत्व लागू गर्ने? कुनवर्गको केकस्ता स्वार्थहरु छन् ? समाजमा विभिन्न वर्गहरुको के कस्तो हैसियत छ? राज्यले कुन वर्गप्रति कस्तो नीति अपनाउँनु पर्दछ? देशको स्वाधिनता र समृद्धि तथा जनताको वृहत्तर हितको निम्ति कस्तो नीतिगत दिशा अंगिकार गर्ने? भन्ने कुरा सत्ताको सारतत्वसँग सम्बन्धित विषय हो ।


राज्यसत्ताको संचालन कसरी गर्ने? शासन व्यवस्थाका विभिन्न संरचनाहरुको नेतृत्व छनौट कसरी गर्ने? सरकारको गठन विधि के हुने? दैनिक शासन–प्रशासनको संचालन कसरी गर्ने ? भन्ने विषय राज्यसत्ताको रुप पक्ष हो । बहुदलीय प्रणाली सार होइन, केवल रूप पक्ष मात्र हो ।


घ) संघर्षको रूप सापेक्ष हुन्छ ।
क्रान्ति सम्पन्न गर्नका निम्ति वर्गसंघर्षको बाटो नै मुल बाटो हो । तर, संघर्षको रुप कस्तो हुने भन्ने कुरा परिस्थितिमाथि भर पर्ने कुरा हो । मार्क्सवादले संगठन र संघर्षको कुनै एउटा मात्र रूपलाई क्रान्तिकारी संघर्षको एकमात्र र अन्तिम रूप मान्दैन । क्रान्तिकारीहरूले संघर्षका सबैखाले रूप र तरिकाहरूलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमता विकास गर्न ध्यान दिनुपर्छ । लक्ष्य अनिवार्य र निर्णायक तत्व हो । त्यसलाई सकेसम्म छिटो र सुगम ढंगले प्राप्त गर्ने साधन बाटो हो । लक्ष्य प्रमुख हो भने साधन गौण हो ।

जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ, त्यसलाई क्रान्तिकारी रूपले दृढतापूर्वक प्रयोग गर्नुपर्छ । संघर्ष भनेको दुई विपरीत पक्षहरूविचको टक्कर हो, प्रतिस्पर्धा हो । संघर्षको कुन रूप प्रमुख र निर्णायक हुन्छ, त्यो कुनै शास्त्रीय रचना वा विशिष्ट नेताको कल्पनाबाट तय हुने विषय होइन । त्यो त जनताको विचबाट, वर्गसंघर्षबाट र दुई विपरीत तत्व विचको संघर्षबाट तय हुने कुरा हो । संघर्ष हिंसात्मक हुन्छ कि शान्तिपूर्ण त्यसको निर्णय एक पक्षबाट मात्र हुँदैन । हिंसाबाट मात्र सत्ता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता मार्क्सवाद संगत छैन ।


अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको वादविवादको एउटा विषय शान्तिपूर्ण संसदीय सङ्क्रमण कि क्रान्तिकारी हिंसात्मक संघर्षबाट सङ्क्रमण भन्ने पनि थियो । हरेक हालतमा शान्तिपूर्ण संघर्ष भनेर केही त्यस पक्षमा लागे भने हरेक हालतमा सशस्त्र संघर्ष भनेर अरू केही त्यस पक्षमा पनि लागे । हरेक हालतमा शान्तिपूर्ण वा हरेक हालतमा सशस्त्र भन्ने विचार मार्क्सवादको नाउँमा आएका अमार्क्सवादी सोचाइ थिए ।

वास्तवमा वस्तुगत परिस्थिति, वर्गसंघर्षको अवस्था र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थितिको अनुकूलतालाई हेरेर मात्र संघर्षको कुनै पनि रूप र तरिकाहरू प्रयोग गर्नु पर्दछ । स्थिति, आवश्यकता, अनुकूलता तथा बाध्यता समेतको आधारमा संघर्षका कुनै पनि रूपहरू अपनाउनु पर्दछ र वर्ग संघर्षका कुनै पनि रूपहरूलाई प्रभावकारी ढंगले शक्ति परिचालन गर्न भौतिक तयारी गर्नु पर्दछ ।


संघर्ष माथिबाट थोपरेर हुँदैन, प्रतिरक्षा संघर्ष पनि माथिबाट थोपरेर हुँदैन । संघर्षले वर्गसंघर्षको मैदानबाट जन्म लिन्छ र पार्टीले त्यसलाई समायोजन, विकास र नेतृत्व गर्नुपर्छ । नेताहरूको हतारोले क्रान्ति चाँडै हुने पनि होइन र उनीहरूको पछौटेपनले क्रान्ति रोकिने पनि होइन । संघर्ष स्वयम् नै आक्रमण र प्रतिरक्षाको संयोजन हो । आक्रमण वा प्रतिरक्षाको कुनै एक पक्षमा मात्र ध्यान दिएर यसको सञ्चालन गर्न सकिन्न ।

चलिरहेको संघर्षमा क्रान्तिकारी शक्तिले प्राप्त गर्ने विजय र प्राथमिकताले नै संघर्षलाई निर्णायक दिशा र मोड दिनसक्छ । क्रान्तिको बाटो वस्तुगत परिस्थितिको उपज हो । मनोगत रूपमा कुनै पनि ढाँचा खडा गरेर आग्रह जाहेर गर्दैमा बाटोको समस्या हल हुँदैन । प्रत्येक उपलब्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थिति र वर्गसंघर्षको अवस्थाको आधारमा आमजनतालाई क्रान्तिकारी लक्ष्य प्राप्तिका निम्ति कसरी बढीभन्दा बढी सङ्गठित गर्न र संघर्षमा उतार्न सकिन्छ, त्यसरी नै अघि बढ्नुपर्छ ।


राष्ट्रिय–अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्रान्तिको बाटो र संघर्षका रूपहरूका सम्बन्धमा गम्भीर मतभेद र समस्याहरू देखिन्छन् । मुख्यकुरा भनेको लक्ष्य हो । क्रान्तिको बाटो परिस्थिति सापेक्ष हुन सक्दछ । संघर्षको कुनै पनि रूप निरपेक्ष र शाश्वत हुँदैन, क्रान्तिकारी शक्ति र संघर्षको चालू अवस्था एवम् तात्कालिक वस्तुगत परिस्थितिका साथै अर्को पक्षको भूमिकाको समेत सापेक्षतामा संघर्षको रूप तय हुन्छ र हुनुपर्दछ ।


ङ) विकास मात्रात्मक र गुणात्मक ढंगले अगाडि बढ्दछ र संरचनामार्फत आधारभूत तहमा परिवर्तन गर्न सकिन्छ ।
क्रान्ति एउटा अनिवार्य वस्तुगत प्रक्रिया हो । उत्पादक शक्ति र उत्पादन सम्बन्ध विचको अन्तरविरोधबाट क्रान्तिको जन्म हुन्छ र क्रान्तिले उत्पादकत्व वृद्धि गर्दै प्रगतिशील उत्पादन सम्बन्धको विकास गर्दछ । यदि क्रान्ति पश्चात् समाजमा प्रगतिशील उत्पादन सम्बन्धको विकास भएन भने त्यस्तो राजनीतिक क्रान्तिका उपलव्धिहरु संकटमा पर्दछन् ।

मनोगत आग्रहले मात्र क्रान्ति हुन सक्तैन । वस्तुगत विकासका नियमहरूको अनुकुल हुने गरी त्यसै दिशामा मनोगत शक्तिको प्रयास पनि केन्द्रित भयो भने क्रान्ति चाँडो सम्पन्न गर्न सकिन्छ, त्यसो नभए त्यसमा विलम्ब हुन सक्छ । विद्यमान समाजको गर्भभित्र नै नयाँ समाजका तत्वहरूको उदय र विकास नभई क्रान्ति हुन सक्दैन । वस्तुगत विकासको प्रक्रियामा नवोदित कुराले पुरानोलाई विस्थापित नगरी वलात् निषेध गर्नु द्वन्द्ववादको सार्वभौम नियम विपरीत हुन्छ ।


समाज परिवर्तनको निम्ति एकैचोटि आधारमा नै परिवर्तन ल्याइहाल्ने कुरा मात्र नसोचेर माथिल्लो संरचनामा पकड कायम गरी त्यसलाई उपयोग गरेर समाजको आधारभुत तहमा परिवर्तन ल्याउन ध्यान पुर्याउनु पर्दछ । अर्धसामन्ती तथा अर्धउपनिवेशीक आर्थिक आधारलाई समाप्त नगरी जनताको जनवादी राज्यव्यवस्थाको स्थापना हुन सक्दैन । शासन सत्ताको माथिल्लो ढाँचामा गरिने पार्टीको हस्तक्षेपले ठोस रूपमा वर्गसंघर्ष र क्रान्तिकारी आन्दोलनलाई सघाउनुपर्छ । जुन मात्रामा सत्ताको माथिल्लो ढाँचामा हस्तक्षेप हुन्छ, त्यहि मात्रामा त्यसले वर्गसंघर्षकारुपहरुलाई सहयोग पुर्याउन सक्छ ।

अर्थात, शान्तिपूर्ण संघर्ष र वैधानिक प्रतिस्पर्धाबाट सरकार बनाउने र त्यसबाट जनता, राष्ट्र र लोकतन्त्रको हितमा प्रगतिशील ढंगले अधिकतम सुधार गर्नु पर्दछ । यसको साथै, क्रान्तिकारी राजनीतिक कार्यदिशाको नेतृत्वमा साना वा ठूला, परोक्ष वा प्रत्यक्ष, संसदीय वा असंसदीय सबै खालका सुधार वा परिवर्तनहरु सञ्चालन गर्नुपर्छ । यसरी, समाजको माथिल्लो संरचनामा, अर्थात् राजनीतिक संरचनामा, नियन्त्रण कायम गरेर त्यसलाई उपयोग गर्दै तलको आधारशिला, अर्थात् आर्थिक प्रणालीमा, आमूल परिवर्तन ल्याउन पहल गर्नु पर्दछ ।


च) राज्य सधैं अधिनायकवादी हुँदैन ।
राज्यसत्ताको चरित्र सधै एउटै हुदैन । प्रतिक्रियावादी राज्य दमनकारी हुन्छ भने जनवादी राज्यको चरित्र जनमैत्रिपूर्ण हुन्छ । राज्यसत्ताको निर्णायक काम कस्तो हुने भन्ने कुरा बताउन अधिनायकत्व भन्ने शब्दको प्रयोग हुने गरेको हो । अधिनायकत्व भन्ने शब्दले नियन्त्रण भन्ने बुझाउदछ र यो राज्यको साधन हो । यो प्रणालीमा एउटा वर्गले सत्तामा रहेर अर्को वर्ग माथि नियन्त्रण गर्छ र असहमतिहरुलाई निषेध गर्दछ । परम्परागत मार्क्सवादी व्याख्यामा श्रमजीवी वर्गले बलपुर्वक सत्ता प्राप्त गर्ने र श्रम शोषण गर्ने वर्गलाई नियन्त्रण गर्ने अर्थमा श्रमिक वर्गको अधिनायकत्व भन्ने गरिएको थियो ।


प्रविधि र श्रमशक्तिको उच्चतम प्रयोगबाट उत्पादन सम्बन्धहरुमा व्यापक परिवर्तन भएको र यसको आधारमा अर्थराजनीति तथा सामाजिक–सास्कृतिक सम्बन्धहरुमा बदलाव आएको अवस्थामा राज्यसत्ता संचालनका परम्परागत व्याख्याहरुमा पुर्विचार हुन थालेका छन् । उदारवादी राज्यसत्तामा समेत नागरिकको स्वतन्त्रता र मौलिक अधिकारको विषय उठिरहेको तथा प्रतिस्पर्धात्मक चुनावबाट सरकार निर्माण हुने गरेको पृष्ठभूमिमा राज्यको प्रकृति अधिनायकवादीरुपमा व्याख्या गरिनु वस्तु संगत नहुने र जनवादी राज्यसत्तामा सबै राष्ट्रवादी,देशभक्त र न्यायप्रेमी जनताको सहभागितामा प्रतिस्पर्धी चुनाबबाट जनताको सरकार निर्माण हुने हुदा अधिनायकत्व शब्दको सट्टा जनवादी राज्यसत्ता भन्ने शब्दको प्रयोग उपयुक्त र वस्तुसंगत हुन्छ । यस्तो सत्ताले आम जनताको नेतृत्व गर्दै जनसहभागितामुलक विकास अवधारणा र लोककल्याणकारी राज्य व्यवस्था स्थापना गर्दछ र व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ । तर, जनवाद विरोधी प्रतिगामी तत्वलाई भने दमन र नियन्त्रण गर्छ ।


विश्व कम्युनिष्ट आन्दोलनमा एउटा देशमा एउटा मात्रै क्रान्तिकारी कम्युनिष्ट पार्टी हुन्छ भन्ने मान्यता अन्तरगत अन्य सबै समुहहरुलाई अस्विकार गर्ने अभ्यास भएको थियो । अन्य पार्टीहरुको अस्तित्व स्विकार गरेको दावी गर्ने देशहरुमा पनि प्रतिस्पर्धाको बाटोलाई रोकिएको थियो । विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा स्थापित भएका अहिलेसम्मका जनवादी र समाजवादी राज्य सत्ताहरु एकदलीय रहने गरेका र त्यसको आधारमा सर्वहारा वर्गको अधिनायकत्वलाई प्रस्तुत गर्ने गरेको सन्दर्भलाई जवजले अनुचित ठानेको छ ।

‘जवज’ले अधिनायकत्वको विषयलाई राज्यसत्तामा वर्गको नेतृत्व स्थापित गर्ने र प्रभूत्व हासिल गर्ने विषयकोरुपमा लिनुपर्ने मान्यता अघि सारेको छ । त्यसका लागि एकदलीयता वा अधिनायकत्वको मान्यता गलत रहेको निश्कर्ष निकालेको छ । राज्यसत्तामा कुनै पनि वर्गलाई निषेध गर्ने हुनुहुँदैन । पूँजिवादीहरु हुन् या समाजवादी या कम्युनिष्ट जो सुकैलाई पनि जनताको विश्वास जितेर अघि बढ्ने बाटो दिनु पर्दछ । ‘जवज’ले त कम्युनिष्ट पार्टीको विकल्प कम्युनिष्ट पार्टी समेत हुनसक्ने सैद्धान्तिक मान्यतालाई अंगिकार गरेको छ ।


प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने विधिबाट नै राज्यसत्तामा सर्वहारा श्रमजीवी वर्गले आफ्नो नेतृत्व र प्रभुत्व कायम गर्न सक्दछन् र सक्नु पर्दछ ।


छ) जनता नै निर्णायक शक्ति हुन् ।
जनवादमा वास्तविक रूपमा जनता राजनीतिको निर्णायक तत्व बन्छन् र बन्नुपर्छ । जनता नै वास्तवमा देशको मालिक बन्छन् र बन्नुपर्छ । राजनीतिक रूपमा जनवादको आधारभूत तत्व यही नै हो । जनताले राजनीतिमा कसरी भाग लिन्छन्, राजनीति र राजकीय व्यवस्थामा कसरी नियन्त्रणकारी निर्णायक भूमिका खेल्छन् भन्ने तरिकाको सवालमा विविधता हुनसक्छ । जवज वास्तविक जनवादको पक्षमा रहेको छ । जनतालाई राजनीति र राजकीय व्यवस्थाको निर्णायक शक्ति र देशको एकमात्र वास्तविक मालिक बनाउने पक्षमा जवज रहेको छ ।


ज) पुरानोका गुणहरु नयाँमा सर्छन् ।
सभ्यता विकासको क्रममा मानवजातिले आफ्नो अस्तित्व रक्षाको निम्ति अन्तरनिहित अन्तरविरोधहरु समाधान गर्न प्रयत्न गर्दै आएका छन् । कतिपय अवस्थामा लिखित, अलिखित तथा मौखिक आचारसंहिताहरु बनाएका छन् । मौलिक अधिकारहरु परिभाषित गरेका छन् । कतिपय द्वन्दका स्रोतहरु पहिचान गरी त्यसको समाधानको विकल्प निर्माण गरेका छन् । गतिशीलतालाई प्रतिबिम्बित गर्ने कतिपय विधिहरु तयार गरेका छन् । न्याय निरुपण गर्ने विधिहरु बनाएका छन् ।

यी विधिहरु जुनसुकै समाजमा सुशासन कायम गर्न तथा न्यायपूर्ण राज्यव्यवस्था स्थापना गर्न सहयोगी हुनेछन् । यस्ता विधिहरु मध्ये बहुदलीय प्रणाली, कानुनी राज्य वा विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको प्रत्याभूति, मौलिक अधिकार, आवधिक निर्वाचन, बहुमतको सरकार अल्पमतको विपक्ष, इत्यादि सबै जनवादीसमाजमा पनि अँगाल्न र उपयोग गर्न सकिन्छ । यी विधि र अभ्यासहरु अनुदारवादी राज्य व्यवस्था, सामन्तवादी राज्यव्यवस्था, उदारवादी लोकतान्त्रिक पूँजीवादी व्यवस्था बाट जनवादी व्यवस्थामा सर्न सक्दछन् ।


झ) पार्टी, समाज र राज्यसत्ताको लोकतान्त्रिकरण
कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण भनेको जनवादी केन्द्रियताको सिद्धान्तको आधारमा सिद्धान्त, संगठन र संघर्षबीचको द्वन्द्वात्मक सम्बन्धलाई स्थापित गर्ने, कायम राख्ने र विकास गर्दै जाने भनेको हो । जनताको बहुदलीय जनवादले पार्टीको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण र समाजको लोकतान्त्रिकरण सम्वन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ ।

संगठनात्मक जीवनको लोकतान्त्रिकरण ‘जवज’को महत्वपूर्ण विशेषता हो । यसका मान्यताहरुले नेकपा एमालेको आन्तरिक जीवनलाई मात्रै लोकतान्त्रिकरण गरेको छैन, नेपालको समग्र राजनीतिक आन्दोलन र संगठनात्मक क्षेत्रलाई समेत गहिरो गरी प्रेरित र प्रभावित गरेको छ । जवजले नेतृत्वको प्रतिस्पर्धी क्षमतालाई विकास गर्दै संगठनको नेतृत्व स्थापित गर्दछ ।

पार्टीको हरेक तहमा समयबद्धरुपमा क्षमता वृद्धि गर्दै नेतृत्व विकास गर्न वहुपदीय व्यवस्था स्थापित गरेको छ । यो विधिबाट क्रमिकरुपमा नेतृत्वको क्षमता वृद्धि गर्दै जनतामा स्थापित हुन सहज हुनेछ । लोकतान्त्रिकरणलाई व्यक्तिको स्वतन्त्रता सम्प्रभूताकारुपमा स्थापित गरिएको छ । नेकपा एमालेले पार्टी निर्माणमा जनता र कार्यकर्ताको भूमिकालाई उच्च महत्व दिएको छ । कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरु आवधिक रुपमा जनताका विचमा अनुमोदित हुने मान्यतालाई ‘जवज’ले अघि सारेको छ ।

सोही मान्यता आधारमा पार्टी अधिवेशन र महाधिवेशनबाट पदाधिकारी र सदस्यहरुको निर्वाचन गर्ने प्रणाली स्थापित गरिएको छ । पार्टी निर्माणमा पार्टी कार्यकर्ताको सम्प्रभुता स्थापित हुने गरी नियन्त्रण र सन्तुलनको प्रणाली स्थापित गरिएको छ । पार्टी सदस्यहरु समान हुने मान्यतालाई गहिरो गरी आत्मसात गरिएको छ । यसले स्वभाविक रुपमा पार्टी सदस्यको भूमिकालाई पार्टी निर्माण र सञ्चालनमा गहिरो गरी स्थापित गरिदिएको छ ।

‘जबज’को अत्यन्त महत्वपूर्ण विशेषताका रुपमा यसलाई लिन सकिन्छ । लोकतान्त्रिकरणले व्यक्तिलाई अनुशासित बनाउनुको साथै सामाजिक व्यवस्थामा समेत परिपक्कताको विकास हुने गरेको छ । यसै गरी शासन सत्ताका हरेक अंगहरुमा संस्थागत संरचना तथा नेतृत्व चयन गर्न परिभाषित विधि तथा मापदण्डमा आधारित भएर गर्नु पर्दछ भन्ने जवजको मान्यता रहेको छ ।

तपाईको प्रतिक्रिया