काँहुडाँडा खानेपानी आयोजना अनुगमन
पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले बुधबार खानेपानी आयोजना अनुगमन गरेको छ । समन्वय प्रमुख लीलाधर पौडेल नेतृत्व टोलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मातहत पोखरा ३१ मा निर्मित कुर्लुङ खोला लिफ्टिङ खानेपानी आयोजना र पोखरा ११ मा निर्मित काँहुडाँडा लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पौडेलले बहुवर्षीय आयोजनामा अति न्यून बजेट विनियोजित हुनु, सञ्चालित कतिपय आयोजनामा बजेट अभावका कारण आयोजनाको गुणस्तर प्रभावित भएको देखिएको उल्लेख गरे । समयमा निर्माण कम्पनीलाई भुक्तानी नहुँदा कतिपय आयोजना अलपत्र पर्ने गरेको भन्दै केही आयोजनामा स्रोत सुनिश्चितता नहुँदा निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गरे ।
स्थानीय उपभोक्ताहरूले आयोजना सञ्चालनमा देखिएका समस्या र चुनौतीहरूको बारेमा अनुगमन टोलीलाई अवगत गराएका थिए । स्थानीय वातावरण मैत्रीपूर्ण योजनाको पूर्णता र सञ्चालन टड्कारो आवश्यकता भएको उल्लेख गर्दै प्रमुख पौडेलले गुणस्तर र योजनाको दिगोपनामा ध्यान दिन निर्माण कम्पनीसहित सरोकारवाला कार्यालयका कर्मचारीहरूलाई आग्रह गरे ।
सरकारले संघीयताको आबश्यकतालाई मध्यनजर गर्ने गरी विकासका कार्यक्रमसहित समृद्धिको महाअभियानलाई अघि बढाउनुको विकल्प नभएको उनको भनाइ थियो । अनुगमनमा जिसस कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर हरिप्रसाद तिमिल्सिना, जिसस कास्कीका पदाधिकारी तथा सदस्य, प्राविधिक कर्मचारीसहित स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया