स्वर्गीय कार्कीको स्मृतिमा अक्षयकोष
पोखरा ।
पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पदमबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । हिमालय क्लब बाटुलेचौरले क्लबका पूर्वअध्यक्ष स्वर्गीय कार्कीको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
क्लबले बुधवार आयोजना गरेको श्रद्धाञ्जली सभामा समाजमा धार्मिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति संस्थालाई सम्मान गर्ने उद्देश्यले कोष स्थापनाको घोषणा गरिएको क्लबका पूर्वअध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए ।
सभामा मानार्थ सदस्य एवं पूर्वमन्त्री कुमार खड्काले स्व कार्कीले यस क्षेत्रको सामाजिक, धार्मिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उनको योगदानलाई चिर स्थायी बनाउनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तीर्थ तामाङ, पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ, मोहनबहादुर थापा, केभसिटी सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठ, हिमालय सहकारीका उपाध्यक्ष प्रकाश थापा, क्लबका सचिव शवराज देवकोटा लगायतले स्वर्गीय कार्कीको योगदानको चर्चा गरेका थिए ।
विन्ध्यवासिनी माविले कार्कीको स्मृतिमा शोक सभा गरेको छ । विन्ध्यवासिनी उच्च मावि स्थापनार्थ आयोजित महायज्ञका प्रमुख अतिथि रहेका कार्कीको स्मृतिमा शोक सभा गरिएको हो । सभामा स्व कार्कीको योगदानको चर्चा गर्नुका साथै पुष्पगुच्छा अर्पण गरिएको थियो । क्षेत्री समाजका केन्द्रीय कोषाध्यक्षसमेत रहेका कार्कीको गत बिहीबार ६७ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया