लोघेकरका ४५४ घरधुरीलाई विद्युतीय चुलो

राष्ट्रिय समाचार समिति (रासस) २०८१ असार १४ गते १२:४७

जोमसोम ।

जलवायु क्षति न्यूनिकरण तथा पर्यावरणको रक्षाका लागि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो प्रर्वद्धन कार्यक्रमलाई प्राथमिकता दिएको छ । विद्युतीय परम्परागत चुलोलाई विस्थापित गर्दै कार्वन उत्र्सजन न्यूनिकरका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले विद्युतीय उपकरण चुलो वितरणमा जोड दिएको हो ।


लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालु आर्थिक वर्ष गाउँपालिकाका ५ वटै वडाका ४५४ घरधुरीलाई निःशुल्क एक/एक थान वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो वितरण गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मुस्ताङकाे ९ लाख र गाउँपालिकाको ८ लाख गरी १७ लाख मुल्य बराबरको अनुदान सहयोग रहने गरी वैकल्पिक उर्जा स्रोत विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टले पालिकाको ५ वटै वडाहरुमा पुगेर सबै घरधुरीहरुलाई समान रुपमा चौधरी ग्रुपको सीजी कम्पनीको विद्युती चुलो वितरण गरेको बताए ।

Advertisement


एक्याप तथा गाउँपालिकाको लागत साझेदारी मार्फत घरदैलामै निःशुल्क विद्युतीय चुलो पाएपछि त्यसक्षेत्रका नागरिक खुसी भएका छन् । यसअघि परम्परागत रुपमा पशुचौपायाका गुईठा,जंगलका दाउरा र ग्याँसको प्रयोग गर्दैआईरहेका त्यसक्षेत्रका स्थानीयले अब भने विद्युतीय उपकरणको सहयोगमा खाना पकाउन सहज भएको ध्ये गाउँका स्थानीय पासाङ गुरुङले उल्लेख गरे । ‘हामीले गुईठा,दाउरा र ग्याँसको प्रयोग गर्दै आईरहेका थियौ, यि सामाग्री जुटाउनै मुश्किल पथ्र्यो, स्थानीय गुरुङले भने,‘ अब भान्सामा खानेकुरा पकाउन घरबाहिर निक्लनु परेन, सबै काम विद्युतीय चुलोबाटै हुने भयो ।’


त्यसो त उपल्लो मुस्ताङ ग्रिन लेस खुल्ला पठार क्षेत्र भएकाले बनजंगलको क्षेत्र ज्यादै कम छ । दाउरा खोज्न पनि पुरै दिन खर्चिएर लेंकमै पुगेर दाउँरा खोज्न जानु पथ्र्यो ।पशुचौपायाको गुईठा संकलन गर्न निकै गारो हुन्थ्यो । पशुचौपाय नहुनेलाई त झनै गुईठा जोरजाम गर्न समस्या पथ्र्यो ।

Advertisement

दाराउ र गुईठाको विकल्पमा ग्याँस खरिद गर्न पोखरा र जोमसोमदेखि महंगो मुल्य तिरेर ग्याँस ढुवानी गर्नु पथ्र्यो । अब वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो अनुदान मिलेकाले अब विगतको जस्तो समस्या व्यवहोर्न नपर्ने लोघेकर दामोदरकुण्ड—१ का वडाध्यक्ष टसीढिन्डुक ठकुरीले उल्लेख गरे ।


परम्परागत रुपमा स्थानीय नागरिकहरुले किचनमा खानेकुरा पकाउने गर्दा दाउरा, गुईठा र ग्याँसको प्रयोगबाट हरितगृह ग्याँस उत्र्सजन भई जलवायुको क्षति तथा पर्यावरणमा समेत हानी नोक्सानी पुर्‍याउने गरेको थियो । जलवायु परिवर्तन न्यूनिकरण तथा वातावरण तथा जैविक विविधिताको संरक्षण गर्दै विद्युतीय चुलो प्रर्वद्धनका लागि स्थानीय सरकारसंग एक्यापले लागत साझेदारी गरेको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

उनले जलवायु परिवर्तनका कारण मुस्ताङको कृषि,पर्यटन,धर्मसंस्कृति र जैविक विविधतामा असर पर्न थालेकाले यसको न्यूनिकरणका लागि विद्युतीय चुलोले कार्वन उत्र्सजनलाई मिनिमाईज गर्ने कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया